१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कैंचीको कमाइ

विदेश जानुभन्दा यही काम ठीक छ । राम्रोसँग काम गर्न सकियो भने राम्रो कमाइ यसैबाट हुन्छ ।
विमल खतिवडा

काठमाडौँ — यसैपालि कक्षा १२ को परीक्षा दिएकी सिन्धुपाल्चोककी प्रतीक्षा तामाङ कपाल काट्ने काममा व्यस्त हुन थालेकी छन् । ‘बिहान कलेज जान्थें, दिउँसो पार्लर सिक्थें,’ अचेल दाह्री र कपाल काट्ने तालिम लिइरहेकी १८ वर्षीया उनले भनिन्, ‘अहिले तालिम लिँदै गोल्फुटारमा बिहान–बेलुका काम पनि गरिरहेकी छु ।’

कैंचीको कमाइ

उनले थपिन्, ‘महिलाको कपाल काट्नदेखि राम्रो बनाउने सबै आउँछ । पुरुषको कटिङबारे सिक्दैछु ।’ राम्रो करिअर देखेरै यस पेसामा लागेको उनले बताइन् । ‘यो एक किसिमको सीप हो,’ उनी भन्छिन्, ‘केही गर्न नसके आफैं ब्युटिपार्लर खोलेर भए पनि बाँच्न सकिन्छ ।’ सैलुनमा कमाएको पैसाले स्नातक अध्ययन गर्ने उनको धोको छ ।


सर्लाहीका अनिलकुमार ठाकुरले ६ कक्षामा अध्ययनरत छँदै कपाल काट्न थालेका थिए । कपाल काट्ने उनको पुख्र्यौली पेसा पनि हो । कपाल काट्न थालेको नौ वर्ष भए पनि उनले एसईई सकाएर काठमाडौं आएपछि व्यावसायिक रूपमा कैंची चलाउन सुरु गरेका थिए ।


शंकरदेव क्याम्पसमा उनको पढाइ पनि एमबीएस पहिलो सेमेस्टरमा पुगेको छ । २२ वर्षीय उनी पुख्र्यौली पेसामा जति मिहिनेत गर्छन्, पढाइमा पनि उत्तिकै ध्यान दिन्छन् । उनी बिहान ४ देखि ७ बजेसम्म ट्युसन पढाउँछन् । बिहान ७ देखि साँझ ७ बजेसम्म कलंकीमा ल्यान्डमार्क ट्रेनिङ एन्ड डेभलपमेन्ट सेन्टरद्वारा सञ्चालित ‘हाम्रो नेपाली सैलुनमा’ कैंची चलाउँछन् । फेरि साँझ ७ देखि १० बजेसम्म मामाको सीतापाइलास्थित सैलुनमा काम गर्न पुग्छन् । ‘घरमा आफंै पढेर परीक्षा दिने योजनामा छु,’ उनले भने ।


डेढ वर्षयता कपाल काटिरहेकी काभ्रेकी दीपा राई भन्छिन्, ‘१२ कक्षा सकियो । अब काम गर्दै स्नातक पढ्ने योजना छ । त्यसपछि यही पेसालाई निरन्तरता दिनेछु ।’ २४ वर्षीया उनले ब्युटिसियनको तालिम पनि लिइसकेकी छन् । ‘कपाल काट्ने, फेसियल, मेहेन्दी, जुरो, सिम्पल मेकअप प्राय: सबै आउँछ,’ उनले भनिन्, ‘पुरुषको कपाल र दाह्री काट्न पनि आउँछ ।’
‘आफू पनि राम्रो हुने र अरूलाई पनि राम्रो बनाउन सकिने भएकाले यस काममा लागें,’ दीपाले भनिन्, ‘विदेश जानुभन्दा यही काम ठीक छ । राम्रोसँग काम गर्न सकियो भने राम्रो कमाइ यसैबाट हुन्छ ।’ उनी थप्छिन्, ‘पुरुषको कपाल महिलाले काट्दा समाजमा नराम्रो दृष्टिले हेर्ने चलन छ । कपाल काट्न आउनेले हामीलाई आफ्नै घरको दिदी बहिनी सोच्नुपर्छ, गलत नजरले हेर्नु हुँदैन । अनि सबै सकारात्मक हुन्छ ।’


ब्युटिसियन तालिम लिएपछि कपाल काट्ने पेसामा लागेकी वीरगन्जकी चञ्चला बस्नेत भन्छिन्, ‘थ्रेडिङ, कपाल स्ट्ेरट, कर्ली बनाउने, मेहन्दी लगाउने पनि गर्छु । सुरुबाटै यस्तै काममा रुचि थियो ।’ वैदेशिक रोजगारमा जाने सोचले तालिम लिएकी २३ वर्षीया उनले भनिन्, ‘यतै काम सुरु गरेपछि विदेश जाने सोच त्यागिसकें ।’ उनीसहित अनिल, दीपा र प्रतीक्षालाई हाम्रो नेपाली सैलुनमार्फत यस पेसामा सक्रिय छन् । यो सैलुन विभिन्न पेसामा सक्रिय २५ जनाको समूहले सञ्चालन गरिरहेका छन् ।


‘स्वदेशमै प्रशस्तै काम गर्न सकिन्छ,’ हाम्रो नेपाली सैलुनका सञ्चालकमध्ये एक दीपक अर्यालले भने, ‘कामको सम्मान गर्न सकियो भने विदेश जानु पर्दैन ।’ सैलुनमा कपाल काट्न जाँदा काम गर्नेको अभाव देखेपछि उनको समूहले सैलुन सुरु गरेको हो । ‘बेरोजगार बनेर बसेका युवालाई रोजगार दिन यस्तो कामको सुरु गरिएको हो,’ ल्यान्डमार्क ट्रेनिङ एन्ड डेभलपमेन्ट सेन्टरका अध्यक्ष टेकनाथ भट्टराईले भने । तीन महिनाको तालिम लिएका १२ जनाले सेन्टरको वनस्थली, गल्कोपाखा, कलंकी, गोल्फुटार र नयाँ बजारको सैलुन सञ्चालन गरिरहेका छन् ।

[email protected]

प्रकाशित : श्रावण ११, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?