ग्रिजमन पुस्ता

विश्वविजेता भएको फ्रान्सेली टिमका खेलाडीको औसत उमेर २६ वर्ष रहेको छ । त्यसैले ग्रिजमन पुस्तालाई युरो २०२० र विश्वकप २०२२ पनि जित्ने अवसर छ ।
राजु घिसिङ

काठमाडौँ — विश्वकप च्याम्पियन भएको टिमलाई फ्रान्सेली फुटबलको अर्को एउटा स्वर्णिम टिम मानिएको छ । मिसेल प्लाटिनी र जिनेदिन जिदानको टिमपछि यसलाई एन्टोइन ग्रिजमन पुस्ता मानिएको छ । युवा टिम भएकाले ग्रिजमन पुस्तालाई थप सफलता हात पार्ने अवसर पनि छ । मस्कोबाट राजु घिसिङ लेख्छन् :

ग्रिजमन पुस्ता

एन्टोइन ग्रिजमनलाई फ्रयांक रिबेरीको स्थान लिँदै चार वर्षअघिको विश्वकपमा मैदानमा ओर्लंदा खासै वास्ता गरिएको थिएन । ब्राजिलमा उनी गोलको खाता खोल्न पनि असफल भए । त्यसको दुई वर्षपछि युरो २०१६ मा भने उनी फ्रान्सेली टिमका मुख्य खेलाडी नै बने । सर्वाधिक ६ गोल गरेर गोल्डेन बुट जिते । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार गोल्डेन बल पनि कब्जा गरे । तर, उनले घरेलु मैदानमा फ्रान्सलाई उपाधि भने दिलाउन सकेनन् । क्रिस्टियानो रोनाल्डो फाइनलमा घाइते भए पनि पेरिसमा पोर्चुगल च्याम्पियन भएको थियो ।


यिनै ग्रिजमन यसपालि रुसमा भएको विश्वकपमा हावी भए । फ्रान्स मस्कोमा क्रोएसियामाथि ४—२ को जित हासिल गर्दै २० वर्षपछि फेरि विश्वविजेता बन्यो । लुजनिकी रंगशालामा फ्रान्सले गरेको चार गोलमध्ये तीनमा ग्रिजमनको प्रत्यक्ष संलग्नता थियो । उनको फ्रि—किकमा मारियो मान्जुकिचले गरेको आत्मघाती गोलमा गरेका थिए । इभान पेरिसिचले बराबरी गरे पनि पेनाल्टीमा गोल गर्दै ग्रिजमनले पहिलो हाफमै फ्रान्सलाई २—१ को अग्रता दिलाएका थिए । उनले सिर्जना गरेको अवसरमै पउल पोग्बाले फ्रान्सको तेस्रो गोल
गरेका थिए ।


म्यान अफ द फाइनल पनि चुनिए, ग्रिजमन । तर, उनी गोल्डेन बलको प्रतिस्पर्धामा क्रोएसियाली प्लेमेकर ल्युका मोडरिच र बेल्जियमका इडन हाजर्डभन्दा पछाडि परे । चार गोल र दुई एसिस्टसँगै सिल्भर बुट पनि पाए । फ्रान्सले सफलतामा अग्रपंक्तिमा ग्रिजमनका सहकर्मी किलियन एम्बाप्पेले चर्चित बने । १९ वर्षीय एम्बाप्पेको गति र अर्जेन्टिनाविरुद्ध गोलको खुबै चर्चा भयो । उनी विश्वकपको नकआउट चरणको एकै खेलमा दुई गोल गर्ने र फाइनलमा गोल गर्ने पेले (सन् १९५८) यताका सबभन्दा कान्छो खेलाडी हुन् । त्यसैले उनलाई नयाँ पेलेका रूपमा पनि लिइएको छ ।


एम्बाप्पेले हेडलाइन ताने पनि प्रशिक्षक डिडियर डेसच्याम्पले फ्रान्सेली टिमको अग्रपंक्ति ग्रिजमनमै आधारित रहेर बनाएका छन् । त्यसैले फ्रान्सेली फुटबल इतिहासमा अर्को स्वर्णिम पुस्ताका रूपमा यस टिमलाई लिन सकिन्छ । पहिला मिसेल प्लाटिनी र जिनेदिन जिदानको टिम थियो भने अहिले ग्रिजमन पुस्ता । विश्वकप १९९८ जित्दाका कप्तान डेसच्याम्प यो टिमलाई हाकाहाकी रूपमा ग्रिजमन पुस्ता मान्न भने तयार छैनन् ।


‘फुटबलमा ठूलै क्रान्ति भयो । सामूहिक खेलका लागि धन्यवाद । एम्बाप्पे, उम्टिटी पनि उत्कृष्ट छन् । कहिलेकाहीं टिमका रूपमा असफल पनि भइयो । हामीले समूह र व्यक्तिलाई सुन्नुपर्छ । त्यसलाई मैदानमा देखाउनुपर्छ । हामीले त्यसै गर्‍यौं,’ खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका डेसच्याम्पले भने । तर, रुसमा उनले अग्रपंक्तिका मुख्य हतियार ग्रिजमनलाई नै बनाए ।


डेसच्याम्पको ४—३—३ को संरचनामा पहिलो रोजाइमा नियमित अवसर पाएर पनि ओलिभर जिरोउ असफल भए । उनले सातौं खेलमा पनि गोल गर्न सकेनन् । त्यसैले फ्रान्सको अग्रपंक्ति ग्रिजमन र एम्बाप्पेले सम्हाले । एम्बाप्पेमा अलि परिपक्वता देखिएन । २७ वर्षीय ग्रिजमनले भने आफ्नो अनुभव मैदानमा उपयोग गरे ।


पाँच फिट नौ इन्च अग्ला ग्रिजमन सन् २०१० मा यू–१९ युरोपियन च्याम्पियनसिप जितेको फ्रान्सको टिमका सदस्य पनि हुन् । पाँच वर्षअघि यू– २० विश्वकप जितेको टिमका पोग्बा, उम्टिटी, अल्फेन्से अरियोला, फेलोरियन थाउभिनको पनि यसपालि साथ थियो । ग्रिजमनसँगै पोग्बा, ह्युगो लोरिस, जिरोउ, मतोउडी, राफेल भारानले चार वर्षअघिको विश्वकप पनि खेलेका थिए । आठ वर्षयता कप्तानी गरिरहेका गोलकिपर लोरिससहित अदिल रामी, एन्गोलो कान्टे, मतोउडी, स्टिभ मान्डा र उम्टिटी युरो २०१६ उपविजेता टिममा थिए ।


यसपालि ग्रिजमन, एम्बाप्पे, मिडफिल्डर पोग्बा, डिफेन्समा उम्टिटी, बेन्जामिन हाभार्ड, भारान, ल्युकास हर्नान्डेजले उत्कृष्ट प्रदर्शन गरे । एन्गोलो कान्टेले फाइनलमा मोडरिचलाई रोक्न सकेनन् तर उनी सेमिफाइलसम्म उत्कृष्ट लयमा थिए । लोरिस पनि फाइनलको एक क्षण मात्रै चुके । समूह चरणमा पेरु र अस्ट्रेलियालाई मुस्किलले हराएको फ्रान्सले नकआउट चरण पुगेपछि लय समातेको थियो । त्यसैले उसले लियोनल मेसी नेतृत्वको अर्जेन्टिनालाई अन्तिम १६ मा ४—३ ले हरायो । त्यो खेल यो विश्वकपकै सर्वाधिक रोमाञ्चक हो । फ्रान्सलाई क्वाटरफाइनलमा उरुग्वे र सेमिफाइनलमा स्टार खेलाडीले भरिएको बेल्जियमलाई पन्छाउन धेरै गाह्रो परेन ।


ग्रिजमनले आफूसँग बल हुँदा र नहुँदा पनि विपक्षी डिफेन्सलाई दु:ख दिइरहे । बललाई पेनाल्टी क्षेत्रमा लाने, आफैं आक्रमण गर्ने वा बिनास्वार्थ सटीक पास दिनेमा उनी निपुण देखिए । एट्लेटिको म्याड्रिडबाट क्लब फुटबल खेल्दै आएका उनी केही वर्षयता स्पेनी ला लिगामा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका फरवार्ड पनि हुन् । उनलाई बार्सिलोना, म्यानचेस्टर युनाइटेडलगायत ठूला क्लबहरूले अनुबन्ध गर्ने खुबै प्रयास गरेका थिए । तर उनी चार वर्षयता एट्लेटिकोमै रमाइरहेका छन् । उनले फ्रान्सको सिनियर टिममा पनि २०१४ मै डेब्यु गरेका थिए । त्यसयता उनले ६१ खेलमा २४ गोल गरेका छन् ।


विश्वविजेता भएको फ्रान्सेली टिमका खेलाडीको औसत उमेर २६ वर्ष रहेको छ । त्यसैले ग्रिजमन पुस्तालाई युरो २०२० र विश्वकप २०२२ पनि जित्ने अवसर छ । ‘युरो २०१६ को टिममा धेरै परिवर्तन भइसक्यो । पाभार्ड, ल्युकास, एम्बाप्पे आए । समूहमा राम्रो भइरहेको छ । सब्स्टिच्युट राम्रो छ । सही प्रशिक्षक छन् । सबैले मिहिनेत गरिरहेका छन्,’ ग्रिजमन पुस्ताको सफलताबारे उनले भने, ‘फरक किसिमले आए पनि हामीले एउटै टिम, एउटै राज्य र एउटै जर्सीमा खेलिरहेका छौं । एउटा एकता भएको टिमका रूपमा जित्न पाएका छौं । हामी सबैले जितेको हो । त्यसैले हाम्रा बच्चाले पनि गर्व गर्नेछन् ।’


सन् २००८ देखि निरन्तर वर्षका उत्कृष्ट खेलाडीको अवार्ड बेलन डि’अरमा मेसी र रोनाल्डोले मात्र जितेका छन् । अब त्यो क्रम ग्रिजमनले तोड्लान् त ? ‘गोल्डेन बल मान्छेले हेर्ने हो । स्पेनी सुपरकप बाँकी नै छ । बेलन डि’अर मेरो हातमा छैन । अब बिदा मनाउने हो,’ उनले जवाफ दिए ।

प्रकाशित : श्रावण ४, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?