२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

स्वतन्त्र प्रयास

कतिपय निर्देशक सानो बजेट र आफ्नै बलबुतामा स्वतन्त्र कथा भन्छन्, जहाँ बजारको भार हुन्न । निर्देशकको भिजन नै सर्वोपरि हुन्छ । खास व्यापारिक स्वार्थ हुन्न । यसैलाई ‘इन्डी फिल्म’ भनिन्छ । ‘चक्कर’ हाम्रो सन्दर्भमा त्यस्तै फिल्म हो ।
गोकर्ण गौतम

काठमाडौँ — बन्न त तीन करोडसम्मका फिल्म बन्न थालेका छन् तर अहिले नेपाली फिल्मको औसत बजेटचाहिँ एक करोड हो । निर्माताहरूका अनुसार प्रि–प्रोडक्सनदेखि रिलिजसम्म आइपुग्दा सालाखाला यति खर्च हुन्छ नै । शुक्रबारबाट ‘चक्कर’ नामक फिल्म प्रदर्शन भएको छ, यसको लगानीचाहिँ जम्माजम्मी १८ लाख रुपैयाँ हो ।

स्वतन्त्र प्रयास

जबकि फिल्ममा अर्पण थापा, ऋचा शर्मा, भोलाराज सापकोटा, सिर्जना सुब्बा जस्ता गिनेचुकेका कलाकार छन् । फिल्मको लम्बाइ करिब दुई घण्टा छ । हल्काफुल्का प्रचारप्रसार पनि गरिएकै हो । । तैपनि यति सस्तोमै फिल्म तयार भयो । कारण यसरी खुलाउँछन्, निर्माता रवीन आचार्य भन्छन्, ‘पैसाले मात्र फिल्म राम्रो हुन्छ भन्ने होइन । अत्यावश्यकबाहेक फजुल खर्च गरिएन । हामीलाई ‘भिजुअल रिच’ देखाउनु थिएन । कथा भन्नु थियो । त्यही गर्‍यौं ।’


तर यसको पहिलो जस जान्छ, अनुष्क रौनियारलाई । किनभने ‘चक्कर’ का ‘वान म्यान आर्मी’ हुन् उनी, निर्देशक, लेखक, सिनेमाटोग्राफर, सम्पादकदेखि पोस्टर डिजाइनरसम्म । अभिनयबाहेक फिल्मका हरेक पक्षमा रुचि र एक खालको क्षमता छ, त्यही देखाएका छन् यस फिल्ममा । भारतको पुनाबाट फिल्म डिजाइनको चार वर्षे कोर्स गरेका यी तन्नेरी भन्छन्, ‘म बजेटअनुसारको कथा लेख्छु र सोहीअनुसार बनाउने प्रयास गर्छु । बजेट र निर्देशकको भिजन मेल खाएन भने समस्या सिर्जना हुन्छ ।’ पत्याउन मुस्किल पर्छ, यसभन्दा अगाडि उनले ‘काठमाडौं कक्टेल’ भन्ने फिल्म बनाएका थिए, जसको पोस्ट प्रोडक्सनबाहेक कुल खर्च मात्र डेढ लाख । अर्थात् चार मिनेटको म्युजिक भिडियोको भन्दा थोरै लगानीमा उनले फिचर फिल्म नै बनाइदिए । भन्छन्, ‘यो सबै प्यासनको करामत हो । हामीले उपलब्ध स्रोत साधनमै फिल्म बनायौं ।’


बजेट बढेपछि फिल्म बजारबाट निर्देशित हुनुपर्छ । बजारको चाह पूरा गर्ने चक्करमा निर्देशकले चाहेको कथा भन्न अनेक व्यवधान आइलाग्छ । जबकि निर्देशकका लागि फिल्म कथा भन्ने माध्यम हो । त्यसैले कतिपय निर्देशक सानो बजेट र आफ्नै बलबुतामा स्वतन्त्र कथा भन्ने प्रयास गर्छन्, जसमा ठूला निर्माता वा स्टुडियोको लगानी हुन्न । खास व्यापारिक स्वार्थ हुन्न । यसैलाई ‘इन्डिपेन्डेन्ट’ अर्थात् ‘इन्डी फिल्म’ भनिन्छ । ‘चक्कर’ हाम्रो सन्दर्भमा त्यस्तै फिल्म हो । २८ वर्ष टेक्दै गरेका अनुष्क भन्छन्, ‘चक्कर बनाउँदा तमाम अभाव झेल्नुपर्‍यो । तैपनि आनन्दित छु किनभने निर्माताको हस्तक्षेप बेहोर्नुपरेन । मेरो सोचाइलाई निर्धक्क पस्कन पाएँ ।’ नेपालमा यसअघि ‘सिक सिटी’, ‘आँपको अचार’, ‘लाटोकोसेरो’ लगायतका थोरै इन्डी फिल्म बनेका थिए ।


अनुष्कलाई लाग्छ, फिल्मको मूल धर्म मनोरञ्जन प्रदान गर्नु हो । ‘चक्कर’ यसभन्दा भिन्न छैन । तर न बलिउडको ह्याङ छ, न परम्परागत सूत्रमै झेलिएको छ । व्यापार हुन्छ भन्ने निहित लोभमा न गीत, फाइन्ट, रोनाधोना राखिएको छैन । जे हुन्छ, कथाकै मागअनुरूप हुन्छ । स्टार सिस्टम पछ्याउँदा कथा हराउँछ । हिटको पछाडि दौडँदा एकै प्रकारका फिल्मको बाढी लाग्छ । जस्तो : ‘लुट’ सुपरहिट भएपछिको एक वर्ष ‘लुट’ जस्तै–जस्तै फिल्मको ओइरो लाग्यो । अहिले छक्कापञ्जा–मेनिया छ । दुई सर्ट फिल्म र वेब सिरिज ‘वान्स अपन अ टाइम इन कालोपुल’ निर्देशन गरिसकेका इन्डी फिल्म मेकरका रूपमा अनुष्कले यो भीडभन्दा अलग हुने प्रयास गरेका छन् ।


‘चक्कर’ पूर्णत: रियल लोकेसनमा खिचिएको छ । डीएसएलआर क्यामेराले खिचेकाले खास ‘डिस्टर्भ’ पनि भएन । १८ दिनमा त सुटिङ नै सकियो । फिल्म हेर्दा झर्रोपन महसुस हुने दाबी छ निर्देशकको । मुख्य भूमिकामा अभिनय गरेका छन्, एवनराज उप्रेतीले । खोल, थ्यांक यु मिस्टर ग्ल्याड, सिंहदरबार टेन्डर, बहुलाकाजीको सपनाजस्ता नाटक खेलिसकेका एवनराज चक्करमा बेकुफ र बेरोजगार गुन्डा बनेका छन् । चरित्र निर्माण कसरी गरे त ? भन्छन्, ‘यस्ता टोले गुन्डाहरू धेरै देखेको छु । उनीहरूमध्ये चार–पाँच जनालाई मिसाएर एउटा नयाँ पात्र बनाएको छु ।’ अभिनेताका रूपमा फरक पात्र जन्माउन र त्यसलाई जीवन्त उतार्न दिलचस्पी राख्छन् उनी ।


‘लुट’, ‘लुट–२’ मा छुच्ची पत्नी अनि ‘डाइङ क्यान्डल’ मा मायालु दिदी बनेर प्रशंसा कमाएकी सिर्जना सुब्बालाई ‘चक्कर’ मा बायोसेक्सुअलका रूपमा देख्न पाइन्छ । जो प्रेमी हुँदा पनि केटी साथीसँग रोमान्स गर्छे । यस्ता पात्र समाजमा बग्रेल्ती हुन्छन् तर पर्दामा खासै अटाउँदैनन् । त्यसैले पनि सिर्जनाका लागि चुनौती थियो तर नाटक भजाइना मनोलगमा अभिनय गर्ने क्रममा यस्ता पात्रका बारेमा अध्ययन गरेकाले ‘चक्कर’ मा सजिलो भएको अनुभव सुनाइन् । फिल्ममा उनी र स्मृति पोखरेलको अन्तरंग दृश्य कैद गरिएको छ । सिर्जना भन्छिन्, ‘स्मृतिलाई एकैपटक सुटिङमा भेटेकाले चुम्बन गर्दा अलि अप्ठ्यारो महसुस भयो । त्यसबाहेक पात्रलाई मज्जैले आत्मसात् गरें ।’

[email protected]

प्रकाशित : श्रावण ४, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?