कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कान्छीमायाको कमाल

हिमेश वज्राचार्य

काठमाडौँ — सन् २००६ को कोलम्बो दक्षिण एसियाली खेलकुद । सुगतदासा स्टेडियम । यो नै श्रीलंकाली राजधानीको मुख्य रंगशाला हो । एथलेटिक्सका लगभग सबै प्रतिस्पर्धा यहीं भएका थिए । श्रीलंका एथलेटिक्समा बलियो थियो नै, त्यसमाथि भारतको दरिलो उपस्थिति । यस्तोमा महिला १० हजार मिटर दौडमा नेपाली खेलाडीले कुनै पदक जित्ने छ भनेर सोचिएकै थिएन ।

कान्छीमायाको कमाल

हुन पनि दक्षिण एसियाली स्तरमा नेपालले पुरुषतर्फ राम्रै चुनौती पेस गरे पनि महिलातर्फ कमजोर नै छ । तर सोचलाई गलत सावित गरिन्, कान्छीमाया कोजुले । मलाई त्यो दिन, त्यो स्पर्धा अनि त्यो क्षण अझै ताजासँग याद छ । हामी केही पत्रकारले त्यो क्षणलाई आत्मसात् गर्न पाएका थियौं । दौड सुरु भएयता भारतकी प्रेज श्रदिधरणले सुरुदेखि नै अग्रता कायम गरिन् । दौडमा लगभग पूरा समय उनको पछाडि थिइन्, हाम्रै कान्छी । प्रेजले नयाँ रेकर्डसँगै स्वर्ण जितिन् । कान्छी उनी भन्दा २४ सेकेन्डले मात्र पछाडि परिन् ।


त्यसमा गुनासो गर्ने ठाउँ थिएन, आखिरमा कान्छीले रजत जितेकी थिइन् । नेपालका लागि कान्छीले गरेको यो ऐतिहासिक प्रदर्शन थियो । यसअघि कोही पनि नेपाली खेलाडीले दक्षिण एसियाली खेलकुदमा रजतसम्म पनि जितेको थिएन । जितेका जति पनि कांस्य थिए, ती सबै एक प्रकारले उपहार जस्तै थिए । कान्छीले भने त्यो पदक हकले जितेकी थिइन् । नेपाली एथलेटिक्स इतिहासमा यो नै महिलातर्फको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो ।


कान्छीले के रजत जितिन्, नेपाली ‘क्याम्प’ मा खुसीको रहर छाएको थियो । विशेषत: एथलेटिक्ससँग सम्बन्धित जति पनि प्रशिक्षक र पदाधिकारी सगतदासा रंगशालामा थिए, ती सबैको अनुहारमा चम्किलो प्रसन्नता थियो । हामी पनि ट्रयाक नजिकै थियौं, ‘फिनिस लाइन’ नाघेयता कान्छीले सुरुमा ‘हुँकार’ भरिन् । असिनपसिन शरीरलाई केही आराम दिएपछि उनले हामीलाई सोधेकी थिइन्, ‘साँच्चै म दोस्रो भएँ है ?’ वास्तवमै यही स्वप्निल सफलता थियो, त्यो ।


अहिले कान्छीको यो प्रदर्शनले पनि १२ वर्ष काटिसकेको छ । त्यति बेला कान्छी भर्खरकी युवा थिइन्, २४ वर्षकी । कम उचाइ, त्यसलाई सुहाउने दुब्लो भन्न मिल्ने शरीर । त्यही कान्छीले त्यसयताको एक दशक नेपाली एथलेटिक्सको महिला मध्यम र लामो दूरीको दौडमा एकछत्र राज गरिन् । अहिले पनि हाफ अथवा पूरा म्याराथनमा कान्छीलाई चुनौती दिने कोही पनि छैन । उनले जसरी आफूलाई यसबीचको समयमा स्थापित गरिन्, यो नै उनको सफलताको खास कथा हो ।


नेपाली खेलुकदका लागि कान्छी किन विशेष छिन् त ? त्यसको उत्तर पनि यही हो । नेपाली एथलेटिक्सले उनी जत्तिको महिला खेलाडी पाएकै छैन । कान्छीको खेल जीवनमा धेरै उतारचढाव पाइन्छ । त्यसमा धेरै राम्रा पक्ष छन् अनि केही काला पक्ष पनि । यसबीच पनि उनले कहिल्यै दौडिन भने छोडिनन् । खेलाडीको काम खेल्ने हो भने उनले इमानदारीपूर्वक त्यो भूमिका निर्वाह पनि गरिन् । कान्छीको कमाल यही हो ।


यसपल्टको कान्तिपुर रनर हाफ म्याराथन पनि उनले आरामले जितिन् । उनको प्रिय प्रतिस्पर्धा हो, यो । कान्छीले यसपटक पनि दोडिँदै छिन् भन्ने के खबर आयो, सबैले एकै स्वरले भने, यसपल्ट पनि जित्ने त उनै होलान् । खासमा यसपल्ट पहिलो हुन उनले खासै मिहिनेत गर्नुपरेन । जितेयता उनी केही थकित भने देखिन् । सायद उनीमाथि उमेर पो हाबी हुन थालेको हो कि ? अहिले उनी ३६ वर्षकी भइन् । उनलाई जित्न गाह्रो त भएन, तर शरीरलाई भने केही गाह्रो भयो, यो उनकै भाषा थियो ।


ठीक एक वर्ष अगाडि फर्कने हो भने त्यति बेला पनि कान्तिपुर हाफ म्याराथन उनैले जितेकी थिइन् । त्यसो त उनले यो स्पर्धा जितेको कीर्तिमान पनि पाँचौंपल्ट पुगेको छ । यसमध्ये विशेष पोहोर नै रह्यो होला । त्यति बेला उनी एकपछि अर्को चोटबाट गुज्रिरहेकी थिइन् । चोटले उनलाई हुनसम्म दु:ख दिइरहेको थियो । यस्तोमा उनले सहभागिताको जोखिम उठाइन् । त्यति बेला उनले पनि दौडिँदै छिन् भन्दा केहीको प्रतिक्रिया थियो, यसपल्ट कान्छीले गर्न सक्ने केही होइन ।


डर थियो, उनले कतै दौड बीचमै छोड्ने त होइन ? अदम्य साहसकी कान्छीले सबैखाले अनुमानलाई फेरि गलत सावित गरिन् । जति बेला उनले फिनिस–लाइन छुन सफल रहिन्, फेरि एकपल्ट हुँकार भरिन् । यस्तै काम उनले धेरै अगाडि कोलम्बोमा पनि गरेकी थिइन् । यसपल्ट जित्दा उनको अनुहारमा सन्तोषको भाव देखिन्थ्यो, एक वर्ष अगाडि यही स्थितिमा उनको अनुहारमा आफूलाई प्रमाणित गरेको गर्व देखिन्थ्यो । त्यति बेला उनकै भाषामा उनलाई जसरी पनि दौड जित्नु थियो ।


अब प्रश्न उठ्छ, कति वर्षसम्म कान्छीले कान्तिपुर हाफ म्याराथनमा दौडिने हो ? अथवा त्योभन्दा पनि महत्त्वपूर्ण प्रश्न कान्छीले संन्यास लिने कहिले हो ? आखिरमा उमेर त संन्यासको संघारमा पुगिसकेको छ । उनी चाहन्छिन्, सके त पूरा जीवन दौडिरहुँ जस्तो लाग्छ । तर खेलाडीले चाह्यो भन्दै यस्तो हुने त होइन नै । सायद अर्को वर्ष उनी अन्तिम पटक कान्तिपुर म्याराथनमा दौडिने छिन् । सायद जित्ने पनि छिन् । कान्तिपुर म्याराथन उनलाई निकै प्रिय छ, यस्तोमा कान्छीले मन फेर्न पनि बेर छैन, यो सम्भावना पनि उत्तिकै छ ।


कान्छी साँच्चै नेपाली एथलेटिक्सका लागि विशेष रहनु पछाडि उनी जहाँबाट आइन् र जसरी आफूलाई एथलेटिक्सतर्फ मोडिन्, त्यो पनि महत्त्वपूर्ण छ । भक्तपुरकी धाविका हुन्, उनी । यसअघि सायद भक्तपुरले उनी जत्तिको महिला खेलाडी दिएको थिएन । ब्यासीको मध्यमवर्गीय परिवारमा हुर्केकी कान्छी आफूले जानेदेखि दौडिन सुरु गरिन् । ख्यालख्यालमै यसरी दौडिन् कि यो नै उनको जीवन भयो ।


अहिले उनको ‘सीभी’ पल्टाउनुपर्छ, त्यसमा दक्षिण एसियाली खेलकुद मात्र छैन । छन् त एसियाली खेलकुद अनि ओलम्पिक पनि । नेपालको प्रतिनिधित्व गरेर कान्छीले ओलम्पिक खेल्नु आफैंमा ठूलो उपलब्धि हो । कान्छीलाई यसमा गर्व छ नै । यहाँनिर उनको जीवनका दुई घटनालाई दोहोर्‍याएर उल्लेख गर्न आवश्यक छ । उनी प्राय: यी घटनाको चर्चा गरेको मन पराउँदिनन् किनभने उनलाई यसमा पश्चाताप पनि छ । एकपल्ट उनी जापान पुगिन्, त्यहीं भासिने प्रयास गरिन् । तर सकिनन्, केही समयमै नेपाल फर्किन् ।


अर्कोपल्ट उनी केही समयका लागि क्यानडामा पनि हराइन् । पछि उनी त्यहाँबाट पनि फर्किन् । यी दुई घटनाले उनलाई पीडा दिएको हुनुपर्छ, त्यसो नगरेर हुन्छ भन्ने सोच बनेको पनि हुनुपर्छ । तर यी घटनाले उनलाई मानसिक रूपमा बलियो खेलाडी पनि बनायो । सम्भवत: उनी पछिल्लो समय जति पटक दौडिन्, त्यति पटक आफूलाई अब्बल सावित गरेर ती घटनालाई गौण बनाउने प्रयास गरिन् । यस्तो पुनरागमन कहाँ सजिलो हुन्छ र ?


यहाँनिर एउटा प्रश्न के पनि महत्त्वपूर्ण हुन्छ भने कान्छीपछि नयाँ पुस्ताका खेलाडी किन जन्मन सकेनन् ? यसको उत्तर सजिलो छैन, कान्छीलाई पनि यो सत्यताले दु:ख दिन्छ । अहिलेको उनको यो उमेरमा उनलाई गतिलो चुनौती दिने खेलाडी भए, कति राम्रो हुने थियो होला ? कान्छीको योजना छ, अबका केही वर्षमा उनी यस्तै योजनामा व्यस्त हुनेछिन् । योजना राम्रा खेलाडी उत्पादन गर्ने । अहिले नै उनी धेरैका लागि ‘मोडेल’ खेलाडी हुन् नै, जसले दौडेर नाम, ख्याति, प्रतिष्ठा सबै कमाइन्, त्यो पनि आफ्नो देशका लागि । कान्छी कमालकी छन् ।

[email protected]

प्रकाशित : जेष्ठ ११, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?