२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

‘कला काठमाडौं’

मोडिफाइड सामान अनलाइनमा मन पराउने टिनएजर्स हुन्छन् भने प्रदर्शनीमा कामकाजी महिला यस्ता उत्पादनलाई लिएर चासो राख्छन् ।

काठमाडौँ — कुनै सामान नभए पनि हुन्छ तर भए धेरै राम्रो हुन्छ । यस्तै सामान उत्पादन गर्छ– कला काठमाडौं । घर र कार्यालयको टेबल होस् वा भित्ता । अफिस, घर वा रेस्टुरेन्टमा देखिने मोडिफाइड सामानले धेरैको ध्यान तानिन्छ । यस्ता सामान फरक हुन्छन् र आकर्षक पनि । यसले टेबल, भित्ता वा कोठाको रौनक बदल्न सक्छ वा फरक अनुभूति दिलाउन सक्छ । यस्तै सामान उत्पादन गर्ने कम्पनी कला काठमाडौं सीमित सहरीयामाझ चर्चित बन्दैछ ।

‘कला काठमाडौं’

सन् २०१५ देखि नै पूजा रिमालले कम्प्युटर न्युमेरिकल कन्ट्रोल (सीएनसी) राउटरको प्रयोगले विभिन्न सामानको डिजाइन थालेकी थिइन् । सीएनसीले कम्प्युटरको निर्देशनअनुसारको डिजाइनमा काठसहित विभिन्न वस्तुहरू काट्न सक्छ । सीएनसी क्राफ्टको नाम दिएर सामान डिजाइनको काम थालिँरहँदा उनीसँग जुट्न आइपुगिन् आस्था राजभण्डारी । फर्निचर व्यवसाय गर्ने परिवारकी छोरी राजभण्डारी र सीएनसी राउटरजस्ता डिजाइनिङ मेसिनमा रुचि राख्ने रिमालको सहकार्यमा जन्मिएको हो– कला काठमाडौं ।


कला काठमाडौं कम्प्रेस्ड उड (काठको धूलो थिचेर बनाइएको काठ) को प्रयोग गरी विभिन्न डिजाइन बनाउनमा चर्चित छ । यसबाहेक उनीहरू कर्पोरेट हाउस, रेस्टुरेन्ट, कार्यालयका लागि इन्टेरियर डिजाइन पनि गरिरहेकै हुन्छन् । विभिन्न स्वरूप र आकारमा ढालिएका घडी, बत्ती, भान्साका सामान, टेबल र कोठा सजाउने विभिन्न डिजाइनका रंगीन सामग्री उत्पादनले कला काठमाडौंलाई परिचित बनाइरहेको छ ।


भारतबाट इन्डस्ट्रियल डिजाइनमा ब्याचलर सकाएर नेपाल फर्किएका राजभण्डारी यो क्षेत्रमा अरू कोही नदेखेर यसैलाई व्यवसाय बनाएको बताउँछिन् । कला काठमाडौंले बनाउने डिजाइनको नेतृत्व गरिरहेकी छन् उनी । रिमाल भने उत्पादन सम्हाल्छिन् ।


कला काठमाडौंले विभिन्न अनलाइन बजारबाट आफ्ना सामानहरू बिक्री गर्दै आएको छ । यसबाहेक सोसल मिडिया ब्रान्डिङबाट पनि मार्केटिङ भइरहेको छ । इन्स्टाग्राम पेजबाट धेरै युवायुवती आफ्नो सामानबारे जानकार भएको राजभण्डारी बताउँछिन् । अनलाइनमा उनीहरूको सामान मन पराउने टिनएजर्स हुन्छन् भने प्रदर्शनीमा कामकाजी महिला उनीहरूको उत्पादनलाई लिएर चासो राख्छन् ।


काठमाडौंमा हस्तकला प्रदर्शनीमा उनीहरूको सामान विशेष बन्छ । अरूले आयोजना गर्ने प्रदर्शनीबाहेक काठमाडौंका विभिन्न स्थानमा स–साना प्रदर्शनी उनीहरू आफैंले गर्दै आएका छन् ।


डिजाइन भन्नेबित्तिकै फेसन डिजाइनिङ बुझ्ने यहाँको बानीले हैरान छिन् राजभण्डारी । भन्छिन्, ‘मानिसलाई यस्ता उत्पादनबारे बुझाउन बाँकी छ ।’ धेरैलाई बुझाउन बाँकी भए पनि थोरैले भने आफैं बुझिसके । त्यसैले कला काठमाडौंमा दैनिक ३० देखि ४० सामानका अर्डर आइरहेकै हुन्छन् । यसको स्रोत अनलाइन मार्केट प्लेस र सोसल मिडिया हुन् । यसबाहेक कला काठमाडौंले भर्खरै मात्र सानेपामा आफ्नो सामान सजाउने र बिक्री गर्ने सोरुम खोल्ने तयारी गरेको छ । यसले फोटो हेरेर सामान अर्डर गर्नुपर्ने ग्राहकको बाध्यता केही कम गर्नेछ ।
खासमा सीएनसी राउटर र लेजर कटरको सहायताले परम्परागत रूपमा धेरै मिहिनेत गर्नुपर्ने डिजाइनलाई पनि चाँडै फत्ते गर्न सकिन्छ । एकपटक गरेको डिजाइनमा जति सामान उत्पादन गरे पनि समान रहन्छ । कला काठमाडौंका धेरै डिजाइन काठमाडौंमा देखिने परम्परागत डिजाइनका नजिक लाग्छन् ।


‘हामीले परम्परागत डिजाइनलाई आधुनिकीकरण गरिरहेका छौं,’ राजभण्डारी भन्छिन्, ‘पहिला त्यही डिजाइनका लागि हप्तौं लाग्थ्यो भने हामी एकैछिनमा गर्छौं, त्यो पनि धेरै सामानमा ।’


सीएनसी राउटर चलाउने, लेजर मेसिन चलाउने र डिजाइनका लागि कला काठमाडौंसँग आफ्नै टिम छ । तर, काठका सामान बनाउन र रंगरोगन गर्न भने आउटसोर्सिङ गर्दै आएको राजभण्डारी बताउँछिन् । अब स्थानीय आर्टिस्टको डिजाइन लिएर सामान बनाउने पनि योजना रहेको उनले सुनाइन् ।


स्कुल र कर्पोरेट हाउसले गिफ्टका लागि एकै पटक धेरै सामान अर्डर गर्ने चलन पनि बढ्दो छ । कसैले व्यक्तिगत रूपमा आफूलाई चाहिएको अर्डर पनि दिन सक्छन् तर फरक डिजाइनमा एउटै मात्र सामान उत्पादन गर्दा लागत भने महँगो पर्न सक्छ ।


कला काठमाडौंले मोडिफाइड सामान मात्रै उत्पादन गरिरहेको छैन बरु यहाँका उपभोक्तामा जाग्दै गरेको फरक स्वादको पनि उजागर गरेको छ । कला काठमाडौंको व्यस्त कारखानाले यसैलाई पुष्टि गर्छ ।

प्रकाशित : जेष्ठ ११, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?