अब्बल एड

सजना बराल

काठमाडौँ — बेलायत, स्वीडेन, फ्रान्स, नेदरल्यान्ड्स लगायत विभिन्न मुलुकका विभिन्न सहरमा एड सिरनको कन्सर्ट हुँदै छ । त्यहाँ भएकाहरूले एडलाई प्रत्यक्ष सुन्न चाहे पनि अब त्यो सम्भव छैन । किनभने यी कन्सर्टका टिकट ‘सोल्ड आउट’ भइसकेको छ ।

अब्बल एड

अबको ६ महिनासम्म एड पूरा व्यस्त छन् । तीन महिनापछिको कन्सर्टका लागि पनि टिकट पाउन मुस्किल छ । उनको कार्यक्रम भन्नासाथ टिकट तुरुन्तै बिक्री भइहाल्छ । यसबाट एडको लोकप्रियता छर्लंग हुन्छ । लोकप्रियताको मापनमा प्रदान गरिने ‘बिलबोर्ड म्युजिक अवार्ड’ मा एडले आइतबार सर्वाधिक विधामा ट्रफी जित्नु अनौठो भएन ।


अमेरिकाको लास भेगसमा आयोजित अवार्ड वितरण समारोहमा एडले ६ वटा विधामा सफलता हात पारे । तर, उनी कार्यक्रममा उपस्थित थिएनन् । उनको रेकर्डेड प्रस्तुतिले भने बिलबोर्डको माहोल तरंगित बनाइदियो । सन् २०१७ को ‘गलवे गर्ल...’ गीतमा आइरिस फोक ब्यान्ड ‘बिओगा’ ले यसरी साथ दियो कि एडको प्रस्तुति सर्वाधिक उत्कृष्टमध्ये एक बन्न पुग्यो ।


बेलायती गायकले सन् २०१७ को ‘डिभाइड’ () एल्बम र यसमा समाविष्ट ‘सेप अफ यु...’ गीतका लागि टप आर्टिस्ट, टप मेल आर्टिस्ट, टप रेडियो सङ, टप हन्ड्रेड आर्टिस्ट, टप सङ सेल्स आर्टिस्टजस्ता ठूला विधामा अवार्ड जिते । र्‍यापर केन्ड्रिक लमार र गायक ब्रुनो मार्ससहित उनी सर्वाधिक १५ विधामा मनोनयनमा परेका थिए । र्‍याप र आर एन्ड बीतिर क्रमश: केन्ड्रिक र ब्रुनोको एकाधिर रह्यो भने महिलामा टेलर स्विफ्ट टप आर्टिस्ट घोषित भइन् ।


सन् २०१५ को बिलबोर्ड अवार्डमा एड पाँच वटा विधामा मनोनयनमा परेका थिए । त्यो बेला उनको दोस्रो एल्बम ‘मल्टिप्लाई’ () का ‘सिङ...’, ‘थिंकिङ आउट लाउड...’, ‘फोटोग्राफ...’ जस्ता गीत चर्चित थिए । यद्यपि, अवार्डमा उनले एउटा पनि ट्रफी पाएनन् । यसको तीन वर्षपछि अर्थात् यसपटक उनी यति जोसिलो पाराले आए कि बिलबोर्डका सबै मुख्य अवार्ड कब्जा गरिदिए । यसलाई एडको ठूलो फड्को मानिएको छ ।


गीत–संगीतको विवरण (चार्ट) तयार पार्ने बिलबोर्डमा एडले हालै एउटा कीर्तिमान कायम गरेका थिए । टप टेन हिट्समा उनका ‘पर्फेक्ट...’ र ‘सेप अफ यु...’ सबैभन्दा लामो समय टिकिरहन सफल गीत बने । यी गीत क्रमश: २६ र ३३ हप्तासम्म काउन्ट डाउनबाट हटेनन्, जुन पहिलोपटक भएको बिलबोर्डको भनाइ छ । आधा वर्षभन्दा बढी समयसम्म ‘सेप अफ यु...’ हिट गीतका रूपमा तालिकामा रहिरह्यो ।


पछिल्लो समय युट्युबतिर पनि एड छाइरहेका छन् । गत वर्ष सार्वजनिक गरेको ‘सेप अफ यु...’ को म्युजिक भिडियोले छोटो समयमा अर्बौं भ्युज हासिल गरेको थियो । अहिले त एडले युट्युबबाटै ९४ हजारदेखि १५ लाख अमेरिकी डलर मासिक आम्दानी गर्छन् । यही साता प्रकाशित बेलायतका सर्वाधिक धनी संगीतकर्मीको सूचीमा उनको नाम दोस्रो स्थानमा आयो । सन्डे टाइम्सको बेलायतको ३० वर्षमुनिका सर्वाधिक धनीको सूचीमा कम उमेर समूहमा गायिका एडलपछि थिए, एड ।


एडले यसपालि बिलबोर्डमा सम्पूर्ण विधामध्येको ठूलो ‘टप आर्टिस्ट’ मा पकड जमाए पनि यसअघि उनलाई प्राय: पप विधामा अब्बल मानिँदै आएको थियो । पपबाटै उनले चार वटा ग्रामी अवार्ड जितिसकेका छन् । अब भने आफू विधा फेर्ने सोचमा रहेको उनले बिलबोर्ड म्यागजिनसँगको हालैको अन्तर्वार्तामा बताएका थिए । ‘सधैं पप संसारमै बस्नु खतरनाक कुरा हुन्छ,’ उनले भनेका छन्, ‘श्रोताहरूको बढ्दो विश्वास पूरा गर्न नसकिएला । अबको एल्बममा म फरक सुनिनेछु ।’
–एजेन्सीको सहयोगमा

[email protected]

प्रकाशित : जेष्ठ ११, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?