२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पुरानै शैलीको क्रम

काठमाडौँ — जेम्स प्रधान सबैले प्रयोगवादी वा फरक खालको (युनिक) गायक भनेर पनि चिनिन्छन् । उनका गीतहरू फरक शैलीका हुन्छन् पनि । स्वर आफैंमा विशिष्ट छ । तर, यसपाली उनले फरक होइन, पहिलेकै जस्तो सुनिआएको शैलीमा गाएका छन् । नयाँ निर्माण गर्नुभन्दा पुरानै शैली दोहोर्‍याउन खोजेको उनी स्वयं बताइरहेका छन् ।

पुरानै शैलीको क्रम

अघिल्लो साता सार्वजनिक गरिएको ‘क्रम’ एल्बममा उनले आठ वटा गीत समावेश गरेका छन् । प्रयोगका नाममा संस्कृति र नेपाल भाषाका एउटा गीत राखेका छन् । तर, यिनमा भाषाबाहेक अरू प्रयोग भेटिँदैन । ‘बोया वने नु...’ बोलको गीत ‘भागेर जाऊँ...’ को ‘नेवारी’ अनुवाद मात्र भएकाले एल्बममा नौ गीत भए पनि संख्यालाई आठ नै मान्नुपर्छ ।


एल्बमका चार गीत ‘स्लो प्यार्टन’ मा छन् । ‘एकैछिन पर्ख...,’ र ‘हामी धुलैबाट...’ बोलका गीत कम्पोजिसनको हिसाबले कत्ति पनि फरक लाग्दैन । दुवै उस्तै सुनिन्छन् । ‘लहरै बजायो...’ भने गीत फेरिएको पनि चाल नपाइन सक्छ । कम्पोजिसनमा जेम्सले विविधता दिनुपथ्र्यो । यी गीतको गायन शैली पनि दुरुस्त छ । शब्द तन्काउने तरिका उनले अन्य गीतमा पनि दोहोर्‍याएका छन् ।


‘हामी धुलैबाट...’ प्रेरणादायी किसिमको गीत हो । यसका शब्द खुब मीठा छन् । तर, संगीतले शब्दलाई न्याय नगरेको महसुस हुन्छ । यसमा अलि ऊर्जा जगाउने खालको म्युजिक पो सुहाउँथ्यो कि ! भिडियोसमेत सार्वजनिक गरिसकेको ‘ए सुन्दरी...’ गीतलाई गायकले एल्बमको पहिलो नम्बरमा राखेका छन् । रक एन्ड रोल शैलीको यो गीत एल्बमको उत्कृष्ट नम्बर हो । यसले जेम्सको प्रयोगवादी सिर्जना झल्काउँछ । उनले गाउने गरेका ‘आइदेऊ आइदेऊ...’, ‘भैगो उनी जाऊन्...’, ‘भोले बम...’ जस्ता गीतको लहरमा यो अटाउँछ ।


‘घुम्न जाऊँ...’ पनि मन जित्ने गीत छ तर ‘ए सुन्दरी...’ जत्तिको जोसिलो छैन । एल्बमको अन्तिम ट्रयाक ‘कहीँ–कोही आएर...’ ले अमेरिकी ब्यान्ड गन्स एन्ड रोजेजको ‘प्यासेन्स...’ गीतको याद दिलाउँछ । यो नोस्टाल्जिक भावको छ, पुराना नेपाली पपको स्वाद यसमा पाइन्छ ।
जेम्स सात वर्षपछि एल्बम लिएर आएका हुन् । उनको विशेषता भनौं, सरल शब्दका गीतलाई चञ्चले बनाइदिन सक्छन् । नयाँ एल्बममा पनि उनले गहन शब्द राखेर गीतलाई बोझिलो बनाएका छैनन् । कम्पोजिसनमा भने आलस्य देखाएका छन् ।


जेम्स बीचमा जिंगल्सतिर अल्झिएका थिए । अब पुन: संगीतमा सक्रिय हुन खोज्दैछन् । यसअघि सेल्फि भिडियो बनाएर चर्चामा आएका थिए । उनले प्रयोगको दायरा बढाए नेपाली संगीतले प्रशस्त ‘युनिक रचना’ पाउनेछ ।
– सजना

प्रकाशित : चैत्र २३, २०७४ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?