२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विकेन्ड कसरी बिताउने ?

काठमाडौँ — एक अध्ययनका अनुसार सातामा ५० घण्टा बढी काम गर्ने मानिसको काम गर्ने क्षमतामा विस्तारै ह्रास आउँदै जान्छ ।

विकेन्ड कसरी बिताउने ?

जब कामले ५५ घण्टाको रेखा पार गर्छ, त्यसपछि काम गर्नुको कुनै औचित्य नै हुँदैन । त्यसको अर्थ हो, सातामा ७० घण्टा खटिएर गर्नेबाट हुने काम र ५५ घण्टा गर्नेबाट हुने काम एकै स्तरको हुन्छ ।

त्यसैले त धनाढ्यहरूले विकसित गरेको बिदा बनाउने चलन ‘विकेन्ड कल्चर’ लोकप्रिय भइरहेको छ । उनीहरू त्यो समयमा काममै हुन्छन् र हुँदैनन् पनि । भनाइको मतलब उनीहरूको त्यो समय आनन्दसँग बसेर विगतको साताको समीक्षा गर्छन् र भविष्यको योजना बुन्छन् । यहाँ केही आर्थिक रूपमा सफल व्यक्तिहरूसँग गरिएको कुराकानीमा आधारित भएर सप्ताहन्तमा समय कसरी व्यतीत गर्ने भन्नेबारे केही टिप्स :

१। सधैं एकै समयमा उठ्ने
जो कसैलाई पनि सप्ताहन्तमा अलि धेरैबेर सुत्न मन लाग्छ । तर त्यो केही समयको आनन्दले दैनिक जीवनको क्रियाकलापलाई नराम्रो असर गर्छ । शरीरले हाम्रो दैनिकीअनुसार एक प्रकारको सुत्ने, उठ्ने र काम गर्ने चक्रीय प्रणाली आफैं तयार गरेको हुन्छ । त्यसअनुसार हामी चल्यौं भने हामीलाई काम गर्ने बेला निद्रा लाग्दैन र ताजा महसुस गरिरहन्छौं । एक दिन अबेरसम्म सुत्दा शरीरमा एक प्रकारको थकान रहिरहन्छ, जसले गर्दा बिदाको दिन त बिग्रिन्छ नै आइतबारको दिन पनि अल्छी लागिरहन्छ । किनभने शरीरलाई लाग्छ, उठ्ने समय भएकै छैन । त्यसैले जुनसुकै दिन होस् एकै समयमा सुत्नुस्, एकै समयमा उठ्नुस् ।

२। बिहानको समय आफ्नै लागि
परिवारसँगै छ भने आफूले भनेको समयमा सबै काम गर्न पाइन्छ भन्ने हुँदैन । त्यसैले बिहान सबेरै उठेर केही समय व्यायाम गर्दा शरीरमा फूर्ति आउँछ । सबै नित्यकर्म र व्यायाम सकेर बस्दा लगभग ३­­­­–४ घण्टा भइसकेको हुन्छ । बाँकी समय काम गर्ने उत्कृष्ट समय हो । त्यसैले यो बेला केही दिमागी काममा आफूलाई व्यस्त बनाउनुपर्छ ।

३। स–साना साहसिक योजना
केहीले कन्सर्ट हेर्न जानु अथवा नयाँ खुलेको होटल वा रेस्टुराँमा जानु, सधैं ट्रेडमिल वा घर वरपर दौडनुहुन्छ भने त्यो नगरेर हाइकिङ जानुपर्छ । लामो समयदेखि नगरेका वा पूर्ण रूपमा नयाँ केही गर्नुपर्छ । केही राम्रो हुँदै छ वा आउँदै छ भन्ने सोचले पनि शरीरमा सकारात्मक ऊर्जाको विकास हुन्छ । त्यसैले आउँदो शनिबार केही रमाइलो गरिन्छ भन्ने योजना भयो भने साता नै राम्रोसँग कट्छ । त्यस साताभरि ‘मुड फ्रेस’ रहन्छ ।

४। आफ्नो लगावलाई स्थान
साताभरिको थकान मेट्ने अर्को राम्रो काम भनेको आफूलाई मन पर्ने काम गरेर दिन बिताउनु पनि हुन सक्छ । हरेक दिनको भागदौडबाट विश्राम लिएर आफूलाई मनपर्ने किताब पढ्ने, गीत–संगीत सुन्ने, गाउने, बजाउने, पकाउने वा बच्चाहरूसँग खेल्ने गरे पनि थकानबाट मुक्ति मिल्छ ।

५। काम घरमा नलग्ने
सप्ताहन्तमा कामलाई पूर्ण रूपमा कार्यालयमै छोडेर मात्र घर जानुपर्छ । सप्ताहन्तमा घरमा भए पनि कार्यालयकै फोन उठाउने वा इमेलहरूको जवाफ लेख्ने गरिएको छ भने त्यो पूर्ण रूपमा गलत हो । त्यसो गरे बिदा बस्नुको कुनै अर्थ नै हुँदैन । हो, बिदामा पनि कुनै एक समय आफ्नो कार्यालयको इमेल चेक गरेर अत्यन्त जरुरीको मात्रै जवाफ लेख्दा भने खासै फरक पर्दैन । तर कार्यालयकै लागि २४ दिन, सातै बार उपलब्ध हुनु गलत हो ।

६। हरेक साता एकै काम नगर्ने
यदि हरेक साताको सप्ताहन्तमा बगैंचामा काम गर्छ भने त्यो पनि एक प्रकारको काम नै हुन जान्छ । त्यसैले सकेसम्म हरेक साता भिन्न काम गर्नुपर्छ ताकि दिमाग र शरीरलाई यो सधैंको काम हो भन्ने भान नहोस् । शरीर र दिमागले पनि केही सुस्ताउने समय पाऊन् ।

७। व्यायाम गर्न नछुटाउने
पूरा साता व्यायाम गर्ने समय पाइँदैन भने पनि सप्ताहन्तमा केही व्यायाम गर्नैपर्छ । व्यायाम शरीरका लागि मात्र नभएर दिमाग स्वस्थ राख्न पनि आवश्यक हुन्छ । व्यायाम गर्दा शरीरमा नयाँ सोच पनि आउँछ । त्यसैले शनिबारको दिन अल्छी भएर बस्ने काम त गर्नै हुन्न ।

८। साताभरका कुरा सोच्नुपर्छ
साताभरि गरेका कुराहरू सोचेर के ठीक भयो, के बेठीक भनी पहिल्याउनु भविष्यका लागि राम्रो हो । केही गलत भएको रहेछ भने पनि सच्याउन र पुन: नदोहोरिन दिन के गर्न सकिन्छ भनेर सोच्ने समय मिल्छ । त्यस्तै भविष्यमा के गर्दा उचित हुन्छ भन्ने सोच बनाएर साताको सुरुवात गरेमा साताभरि धेरै काम गर्न सकिन्छ ।

९। परिवारसँग समय
माथि उल्लिखित सबै काम गरेर पनि परिवारसँग राम्रो समय बिताउनु निकै उचित हुन्छ किनभने साताभरि परिवारका सबै सदस्य केही न केही काममा व्यस्त हुँदा त्यो दिन कसले के गरिरहेको छ र के गर्नुपर्छ भन्ने पनि थाहा हुन्छ । परिवारसँग समय व्यतीत गर्दा एक प्रकारको छुट्टै आनन्द पनि त महसुस हुन्छ । समय भएका बेला परिवारसँग बिताइएन भने पछि त्यो समय चाहेर पनि फर्केर आउँदैन ।

१०। आउने साताको तयारी
केही नभए पनि शनिबारको दिन सकिनै लाग्दा भोलि आइतबारदेखि अर्को शुक्रबारसम्म आफूले के–के गर्ने भनेर सोच्यो भने पनि काम गर्न सहज हुन्छ । त्यो हिसाबमा धेरै कामहरूको समय मिलाउन वा पूर्वतयारी गर्न पनि दिमागी रूपले तयार भइरहनु हुन्छ ।

–फोब्र्स म्यागजिन

प्रकाशित : चैत्र १६, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?