कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

यी हुन् उत्कृष्ट

मकर श्रेष्ठ

काठमाडौँ — अघिल्लो साता त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त समारोह सम्पन्न भयो । त्रिविका ६० आंगिक र १ हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसका ६० हजार बढी दीक्षित हुन योग्य थिए । यसपालि प्रसन्नकुमार तामाङले त्रिविकै सर्वोत्कृष्ट विद्यार्थी भएर चान्सलर पदक, प्राध्यापक संघ स्वर्ण पदक, रामकृष्ण मानन्धर स्वर्ण पदक हात पारे ।

यी हुन् उत्कृष्ट

रोशन कर्माचार्यले पनि तीन पदक प्राप्त गरे । पाँच विद्यार्थीका अनुभव र योजना :




‘आफैं जागरुक हुनुपर्छ’

प्रसन्नकुमार तामाङ


म आफैंलाई आफू विश्वविद्यालयकै उत्कृष्ट हुन्छु भन्ने लागेको थिएन । जुन दिन आफू उत्कृष्ट भएको थाहा पाएँ, साह्रै खुसी लाग्यो । मास्टर्स त सकियो तर जागिर छैन । निजी स्कुलतिर पढाउन त बोलाएको छ, मेरो लक्ष्य भने पीएचडी सकाउने हो । त्यसैले पढाइतिरै लाग्नेछु ।

‘एप्लाइड म्याथ’ मा स्वदेशमा पीएचडी छैन, त्यसैका लागि विदेश जाने तयारी गरिरहेको छु । विश्वविद्यालय वा आफ्नो विषयमा उत्ृकष्ट हुनेलाई सरकारले काम दिनुपर्ने हो तर हाम्रो सरकारले त्यतातिर ध्यानै दिएको छैन । टीयू टपर भएपछि बजारमा अरूले हेर्ने दृष्टिकोणमा मात्रै फरक छ ।

जुनसुकै विषय पढे पनि विद्यार्थीमा त्यसप्रति रुचि हुनु जरुरी छ । अनि मात्रै सफलता हात पार्न सकिन्छ । मलाई गणितमा सानैदेखि रुचि थियो र त्यसैअनुसार मिहिनेत पनि गरें । परिवारले पनि पूर्ण साथ दिएकाले पढिरहेका बेला खर्च जुटाउने समस्या थिएन । पढ्नेबाहेक अरू केही गर्नुपरेन । सेमेस्टर प्रणालीले पनि पढाइमै केन्द्रित गर्न सहयोग गरेको छ ।

मेरो पढ्ने तरिका खासै फरक छैन । पढ्ने समय बिहान ३ बजेदेखि सुरु हुन्छ । एकपटक पढ्न बस्दा कम्तीमा चार घण्टा पढ्ने गर्थें । विश्वविद्यालयमा व्यवस्थापन अलि कमजोर छ । शिक्षकको उपस्थिति नियमित हुँदैन । पूर्वाधार र ल्याब पर्याप्त छैन । परीक्षाको सिस्टम छैन । त्यसैले विश्वविद्यालयको भर ४०% मात्रै हो, ६०% विद्यार्थी आफैं जागरुक हुनुपर्छ ।



‘बेरोजगार छैन’

गौरी थापा


मैले पढेको नयाँ विषय (जैविक प्रविधि) हो । यो विषय अध्ययन गर्न विगतमा विदेश जानुपर्ने बाध्यता थियो । पढाइ सकाएपछि स्वदेशमै सहजै जागिर पाउन सकिन्छ, आफंै पनि व्यवसाय गर्न सकिन्छ ।

कुनै विषयको गहिराइमा पुगेर खोजी गर्न मलाई सानैदेखि मन लाग्थ्यो । अहिले यही क्षेत्रको पढाइ सकाएँ । त्यसमा पनि उत्कृष्ट भएँ । बायो टेक पढ्दा जति चासो दिन्थें, प्रयोगात्मकमा पनि त्यति नै गहिरिएर खोज गर्थें । यो विषयमा प्रयोगात्मकबाट धेरै सिक्नुपर्छ । मिहिनेतले नै मलाई स्वर्णपदक दिलायो ।

पढाइ सकाउनेबित्तिकै बेरोजगार बस्न परेको छैन । अहिले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा रिसर्च एसिस्टेन्टका रूपमा काम गरिरहेकी छु । त्यसबाहेक बायो टेक ग्रुपसँग विभिन्न अध्ययन पनि गरिरहेकी छु । गाई, भैंसी ‘ब्याउने’ भयो/भएन भन्ने पत्ता लगाउन अहिले तीन महिना लाग्छ । एक महिनाभित्रै थाहा पाउने ‘किड’ बनाउने काम अब गर्दैछौं । स्वदेशमै कृषि, चिकित्सा, खाद्यलगायत क्षेत्रमा प्रविधिको माध्यमबाट दैनिक जीवनमा आइपरेका समस्याको समाधान निकाल्ने प्रयासमा लाग्नेछु ।



चाहना अर्थशास्त्री

रोशन कर्माचार्य


बिहान पढाउँछु । बेलुका एमफिल कक्षामा जान्छु । यसरी नै दैनिकी चलिरहेको छ । पाटन संयुक्त क्याम्पसमा अर्थशास्त्रमा एमए अध्ययन गर्दा पनि दिउँसो तीन स्कुलमा गणित पढाउँथें । बिहान क्याम्पसमा पढ्थें । राति घरमा आफंै पढ्थें ।

दिनभरि व्यस्त भए पनि निकै मिहिनेत गरेर पढेको थिएँ । पढ्दा पनि बुझेर मात्रै अघि बढ्थें । पास गर्नका लागि मात्रै पढ्ने होइन । बुझेर पढ्नुपर्छ, त्यसका लागि रुचि पनि हुनुपर्छ । पढाइप्रति मोह हुनुपर्छ । कक्षा जानु र नजानुले सिकाइमा धेरै असर गर्छ । शिक्षकसँगको सम्बन्ध नजिक भयो भने धेरै कुरा सिक्न सकिन्छ । शिक्षकसँगै अनुसन्धान गर्ने मौका पनि पाइयो । मैले स्वर्ण पदक पाउनुमा शिक्षकको पनि ठूलै योगदान छ ।

‘टपर’ हुँदैमा जागिर त कसैले दिँदैन । योग्यता छ भने जागिरको समस्या पनि हुँदैन । मलाई सरकारी जागिर जाने खासै रुचि छैन । आफैं अनुसन्धान गर्नेतर्फ चासो लागेको छ । पढाइ अर्थशास्त्रको भएकाले अर्थशास्त्री बन्ने चाहना छ ।



दम्पती नै अगाडि

यसपालि एमएड गणितमा प्रेमप्रसाद दाहालले ७३.४०% अंकसहित स्वर्ण पदक जिते भने उनकी पत्नी लक्ष्मी सुवेदी एमए नेपालीमा ६८.२०% अंक ल्याएर ‘टपर’ भइन् । पदक जित्नु त्यति सहज छैन, उनीहरूलाई थाहा छ ।

प्रेम एमएड अध्ययनरत छँदा तीन स्कुल पढाउँथे र साँझमा ताहचलस्थित महेन्द्ररत्न क्याम्पसमा पढ्न पुग्थे । बेलुका घर फर्केर कक्षामा पढेको विषयको अभ्यास गर्थे । गत फागुनमा लक्ष्मीसँग विवाह गरेका उनले चैतयता सानोठिमी क्याम्पसमा पढाइरहेका छन् । लक्ष्मी चाबहिलमै निजी स्कुलमा पढाउँछिन् ।

यी दम्पतीको चाहना त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक बन्नेछ । अहिले दुवै पार्ट–टाइमर शिक्षक हुन् । ‘त्रिवि सेवा आयोग खुल्नेबित्तिकै प्रतिस्पर्धा गर्नेछु,’ प्रेमले भने, ‘टपर भएपछि एउटा प्लेटफर्म मात्रै बनेको छ । उत्कृष्टलाई विश्वविद्यालय नै रोजगारी दिन भने सकेको छैन । त्यस्तो सिस्टम बसाल्नुपर्छ ।’ आ–आफ्ना विषयमा पदक जितेकामा दुवै दंग छन् । ‘संघर्षबाटै सफलता मिलेको हो,’ उनीहरूले भने, ‘प्राध्यापक बन्न हामी अझै संघर्ष गर्न तयार छौं ।’

[email protected]

प्रकाशित : पुस २८, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?