प्रोफेसनलको भिजन

विष्णु पोखरेल

वसन्त भन्नेबित्तिकै धेरैको मनमा आउँछ–हरियाली । वसन्त हरियाली मात्र होइन । अझ नेपालीका लागि त हुने कुरै भएन । वसन्त यस्तो ऋतु हो, जुन बेला वर्षाहान्तमा सक्नैपर्ने काम टुंग्याउने र वर्षारम्भको योजना बनाउने चटारो हुन्छ ।

वसन्तले अरूलाई जस्तै युवा व्यवसायी र प्रोफेसनललाई पनि छुन्छ । पहिलो वर्षका काम सक्ने र नयाँ वर्षका योजना बुन्नमा उनीहरू तल्लीन हुन्छन् । हुन त धेरैले पात्रो पछ्याएर लक्ष्य निर्धारण गरेका हुँदैनन्, न त योजना नै बनाउँछन् । तर, जब वर्ष सकिन लाग्छ, उनीहरूलाई केही काम यसै वर्षभित्र सक्ने हतारो हुन्छ, सँगसँगै अर्को वर्षका लागि योजना बनाउने पनि ।
‘आउने वर्ष मेरा तीनवटा निदृष्ट लक्ष्य छन्,’ सूचना तथा प्रविधि व्यवसायी अमित अग्रवाल भन्छन्, ‘स्प्यारो एसएमएस र एसएमएस अटोमेसनलाई अन्तर्राष्ट्रिय बजारमा लानु, ‘खल्ती’ ब्रान्डलाई चल्तीको बनाउनु र ‘पिकोभिको’ लाई थप तीन मुलुकमा विस्तार गर्नु ।’ यी अग्रवालले नयाँ वर्ष आउला र घोषणा गरांैला भनेर बनाएका योजना होइनन् । तर, नयाँ वर्ष नजिकिँदै जाँदा उनलाई योजना सफल पार्न गर्नुपर्ने आवश्यक गृहकार्यको हतारो छ, मनैदेखि नयाँ वर्षमा जोसका साथ काम गरौं भन्ने इच्छा पलाएको छ ।
अग्रवालले व्यावसायिक मात्र होइन, व्यक्तिगत योजना पनि बनाएका छन् । ‘स्वस्थ भइरहनु, नेपालका पहाड र हिमालतिर घुम्न जानु र आफ्नो व्यक्तिगत कमाइको १० प्रतिशत अवसर नपाएका लागि अवसर दिन खर्चेर खुसी बाँड्नु मेरा व्यक्तिगत योजना हुन्,’ अग्रवाल भन्छन् ।
अग्रवालको जस्तै योजना बुन्नेहरू धेरै छन् । चाहे ती व्यवसायी हुन् वा प्रोफेसनल, सरकारी क्षेत्रमा काम गरुन् वा गैरसरकारी क्षेत्रमा । ‘म त २०७४ साललाई काम सिक्ने र जान्ने वर्षकै रूपमा प्रयोग गर्ने सोचमा छु,’ केही महिनाअघि मात्र लोकसेवा पास गरी सिँचाइ विभागमा ‘पोस्टिङ’ भएकी इन्जिनियर नेहा सिंह भन्छिन्, ‘इन्जिनियरिङमा मास्टर ज्वाइन गर्ने योजना पनि छ ।’
एक वर्षअघि इन्जिनियरिङको पढाइ सकेर सरकारी सेवाको तयारी गरेकी उनले पनि योजनाका सूची बनाएकी छन् । ‘लेखेरै कुनै प्लानको लिस्ट त बनाएको छैन,’ उनी भन्छिन्, ‘दिमागमै प्लान बनाएर यत्ति समया यो पूरा गर्छु भन्ने त भइहाल्छ नि ।’
अमित र नेहा मात्र होइन, युवा पुस्ताका धेरै व्यवसायी र प्रोफेसनलले नयाँ वर्षभन्दा अघि आगामी वर्ष कस्ता–कस्ता कुरालाई प्राथमिकतामा राख्ने भन्ने योजना बनाएका हुन्छन् । उनीहरू ती योजनालाई प्राप्त गर्न निदृष्ट लक्ष्यको निर्धारणसमेत गर्छन् ।
‘हामीले आगामी वर्ष ५० वटा सामुदायिक विद्यालयमा स्मार्ट क्लासको सुरुवात गर्ने योजना बनाएका छौं,’ स्मार्ट क्लास निर्माता कुलल्याब्सका चिफ अपरेटिङ अफिसर अधिप पौडेल भन्छन्, ‘यसलाई एक वर्षभित्र जसरी पनि पूरा गर्छौं ।’ यसै वर्ष ‘आईसीटी स्टार्टअप’ अवार्डसमेत पाएको पौडेलको समूहले सरकारी निकायबाट अनुमति लिएर नै सामुदायिक विद्यालयलाई ‘स्मार्ट’ बनाउने अभियान सुरु गर्न लागेको छ ।
अधिप र उनको समूहले सामुदायिक विद्यालयलाई ‘स्मार्ट’ बनाउने मात्र होइन, आफ्नो बजार विदेशसम्म विस्तार गर्ने योजना पनि बुनेको छ । पहिले अमेरिकालाई आफ्नो पहिलो विदेशी बजार बनाउने सोच राखेको भए पनि अहिले भने भारतबाट सुरु गर्ने सोचाइ बनाएको पौडेल बताउँछन् । नेपालमा २ लाखभन्दा बढी प्रयोगकर्ता रहेको ‘कुलल्याब्स’ लाई भारत हुँदै ‘ग्लोबल मार्केट’ मा छिराउने योजना उनले बुनेका छन् । जसको पहिलो खुड्किलो भारतका लागि भने आगामी वर्ष पाइला टेक्ने उनको जमर्को छ ।
अमित, नेहा र अधिप नेपाली युवा पुस्ताका प्रतिनिधि पात्र हुन् । उनीहरूले जस्तै धेरै युवा प्रोफेसनलले नयाँ वर्ष नजिकिँदै जाँदाआफ्ना योजनाहरू बुनेका हुन्छन् । आगामी वर्षका लागि निदृष्ट लक्ष्य निर्धारण गरेका हुन्छन् । त्यसलाई पूरा गर्न उनीहरू लागिपर्छन् । के युवाले नयाँ सालमा योजना बनाएरै अघि बढ्नु जरुरी छ त ? ‘हरेकका आफ्नै योजना र रणनीति हुन्छन्,’ अग्रवाल भन्छन्, ‘मचाहिँ एक्सन र एक्टिभिटीमा फोकस हुनुपर्छ भन्छु, आइडिया र रणनीतिमा होइन ।’
सिकाइका लागि अरूका सफलताका कथा पढ्दै अघि बढ्नु ठीकै भए पनि धेरै सोच्दा आफ्ना योजनाहरू पूरा नहुने उनको अनुभव छ । ‘उद्यमशीलता प्यासनभन्दा धेरै फेसन भइसकेको छ,’ उनी भन्छन्, ‘त्यसले हामीलाई योजना बनाउन आकर्षित गर्छ, फेसनवाल योजनाले कामचाहिँ गर्दैन ।’ आउने वर्षका लागि सूचना प्रविधि क्षेत्रमा काम गर्न चाहनेलाई अवसर भएको मान्ने अग्रवाल विदेशबाट ‘आइडिया’ ‘कपी र पेस्ट’ मात्र गर्दा सफल हुन नसकिने बताउँछन् । बजार विश्लेषण गरेर ‘इनोभेटिभ आइडिया’ भए सफल हुन सकिने उनको मन्त्र छ ।
नेहा योजना बनाउनुलाई सपना र सफलतासँग जोड्छिन् । ‘योजना बनाउनु भनेको सपना देख्नु हो, सपना नदेखी सफल भइँदैन,’ उनी भन्छिन्, ‘सफल हुनका लागि योजना बनाउनु आवश्यक हुन्छ ।’ युवाले यो वर्षभित्र यस्तो काम गरिसक्नु भनेर अघि बढेमा मात्र सफलता पाउने उनको विश्वास छ ।
व्यवसायमा त योजनाको सबैभन्दा महत्त्वपूर्ण हात हुने पौडेल बताउँछन् । ‘बिजनेसमा योजना बनाउनु आवश्यक हुन्छ,’ उनी भन्छन्, ‘निश्चित समय तोकेर निर्धारित लक्ष्य हासिल गर्न योजना नबनाई हुँदैन ।’ सूचना प्रविधि क्षेत्रमा त अझ योजनाहरू चाँडै परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ । ‘यो टेक्नोलोजी बिजनेस हो, दिनैपिच्छे प्रविधि परिवर्तन भइरहेको हुन्छ,’ उनी भन्छन् ।

प्रकाशित : चैत्र २५, २०७३ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्

‘स्मार्ट’ संसार

विष्णु पोखरेल

मोबाइल उनका लागि नौलो हैन, न त भर्खरै मात्र बोक्न थालेका हुन् । एक दशकअघिदेखि मोबाइल बोकिरहेका भए पनि पोहोर किनेको नयाँ सेटले भने उनलाई अर्कै दुनियाँमा पुर्‍याइदिएको छ, जुन पहिले कहिल्यै उनले सोचेका पनि थिएनन् ।

‘यो मोबाइल भन्ने अचम्मकै वस्तु रहेछ, फुन गर्ने चिज भनेको खै के–के हो के–के हिजोआज त,’ आइतबार न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा छोरीका लागि मोबाइल किनिदिँदै गर्दा कीर्तिपुरका चन्द्र मोक्तानले भने, ‘मलाई पोहोरसम्म यो भाइबर, फेसबुक भन्ने थाहै थिएन, अहिले त्यही नचलाई हुँदैन ।’

लामो समय ‘नोकिया–११००’ मोडल बोकेका उनलाई स्मार्टफोनमा पाइने सेवाको जानकारी नहुनु स्वाभाविक हो । हुन त अहिले बोकिरहेको मोबाइललाई ‘स्मार्टफोन’ भन्छन् भन्ने समेत मोक्तानलाई थाहा छैन । तर, त्यसमा पाइने कतिपय स्मार्ट सेवाहरू उपयोग गर्दै उनी आफैं ‘स्मार्ट’ बन्दै गइरहेका छन् । ‘विदेशमा भाइहरू छन्, उनीहरूले भाइबरमा कल गर्छन्,’ मोक्तान भन्छन्, ‘भाइबरमा कल आउँछ भनेर मैले नेट पनि जोडेको छु ।’

एकताका विश्वमै सबैभन्दा बढी बिक्री भई रेकर्ड बनाएको ‘नोकिया–११००’ मोडल आठ वर्षअघि नै उत्पादन बन्द भइसक्यो । ६ वर्षमा २५ करोडभन्दा बढी संख्यामा बिक्री भएको नोकियाको लोकप्रिय सेटको ठाउँ भने अहिले विभिन्न कम्पनीले निकाल्ने ‘स्मार्ट फोन’ ले लिइरहेका छन् । ‘यसमा अलमलिनचाहिँ सजिलो रहेछ,’ फुर्सदको समय बिताउन सजिलो हुने बताउँदै सामसङको ‘जेडवान’ ‘स्मार्टफोन’ बोक्ने मोक्तान भन्छन्, ‘गेम खेल्न मिल्छ, च्याट गर्नु पनि मिल्छ, ट्याम कटाउन सजिलो छ ।’

मोक्तानले बोक्ने ‘स्मार्टफोन’ को अपरेटिङ प्रणाली सामसङ आफैंले विकास गरेको ‘टाइजन’ हो । यसमा गुगलको ‘एन्ट्रोइड’ प्रणालीको साटो सामसङले आफ्नै अपरेटिङ प्रणाली हालेको छ । मोक्तानलाई भने यस्ता प्राविधिक कुराको न ज्ञान छ, न त मतलव नै । तर, यसमा उपलब्ध सेवा भने उनले मज्जाले प्रयोग गरिरहेका छन् । आफूलाई चाहिने विभिन्न खाले एप्सहरू हालेका मात्र छैनन्, चलाउने पनि गर्छन् । तरकारी पसल गर्ने उनले त्यसको हिसाब किताबका लागि क्यालकुलेटरको साटो मोबाइलाई नै प्रयोग गर्छन् । मोक्तान नेपालीहरू बारफोन (नोकिया–११०० जस्तै मोडलका) र फिचर्स फोन (टचस्क्रिन र केही एप्स चलाउन मिल्ने फोनहरू) बाट ‘स्मार्टफोन’ तर्फ स्थानान्तरण हुँदै छन् भन्ने उदाहरण हुन् । उनीजस्तै सामान्य नेपाली नागरिक पनि अब पुराना बारफोन र फिचर्स फोनलाई थन्क्याउँदै स्मार्टफोन बोक्न थालेका छन् । जसलाई बजारमा भित्रिएका धेरै ‘स्मार्ट’ सुविधायुक्त सस्ताखाले मोबाइलले सजिलो पारिदिएका छन् ।

चन्द्रजस्ता प्रौढ पुस्ताभन्दा अहिलेको युवा पुस्ताका लागि ‘स्मार्टफोन’ अपरिहार्य नै भइसकेको छ । ‘स्मार्टफोन भएर नै सबैखाले काम एकैसाथ गर्न सजिलो भएको छ,’ रोबटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) का सचिवसमेत रहेका इन्जिनियर विक्रान्त कार्की भन्छन्, ‘हामी त अफिसको मिटिङका लागि समेत स्मार्टफोन प्रयोग गरेर नै सबैलाई बोलाउँछौ, यस आधारमा स्मार्टफोनले अफिस चलाउनसमेत सजिलो पारिदिएको छ ।’

कार्की अहिले मोबाइलका लागि रिचार्ज कार्ड किन्न पसल जाँदैनन् न त पानी, बिजुलीको बिल तिर्न नै । ‘ई–सेवाको एप्समार्फत म सबै काम गर्छु, फन्ड ट्रान्सफर पनि मोबाइल बैंकिङ र मोबाइल एप्सबाटै हुने भएकाले सजिलो छ,’ उनी भन्छन्, ‘स्मार्टफोन भनेको स्मार्ट डिभाइस भएकाले यसबाटै इन्टरनेट चलाउनदेखि सबैखाले स्मार्ट काम गर्न सकिन्छ ।’

‘स्मार्टफोन’ बाट धेरै खाले काम गर्न सकिने मात्र होइन, यसको मूल्यमा आएको कमी छनोटको अवसरले पनि नेपालीहरू यसतर्फ आकर्षित हुन थालेका हुन् । ‘अहिले चल्ने भनेकै स्मार्टफोन हो,’ मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपक मलहोत्रा भन्छन्, ‘स्मार्टफोन त अहिले सबैको आवश्यकताको वस्तु भइसकेको छ ।’ उनका अनुसार कम आय हुनेहरूसमेत स्मार्टफोन तर्फ आकार्षित छन् । नेपालमा धेरै बिक्री हुने मोबाइलका आधारमा त्यसलाई पुष्टि गर्न सकिने उनी बताउँछन् । अहिले १० हजारदेखि ३० हजार रुपैयाँसम्मका ‘स्मार्टफोन’ सबैभन्दा धेरै बिक्री हुने गरेको मलहोत्राले जानकारी दिए ।

हरेक नेपालीका घरबाट कोही न कोही विदेशमा गएकै हुन्छन् । उनीहरूले उपहारका रूपमा पनि ‘स्मार्टफोन’ पठाइदिने गर्छन् । विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न धेरैले एप्सको सहारा लिन थालेकाले ‘स्मार्टफोन’ को आकर्षण बढ्दो छ । नेपालमा मोबाइल फोनको बजार बढिरहेको छ, त्यसमा सबैभन्दा धेरै हिस्सा स्मार्टफोनले ओगट्न थालेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न मुलुकबाट ४० लाख २३ हजार मोबाइल सेट नेपाल भित्रिएका छन् ।

त्यसमध्ये एकदमै थोरै मात्र बारफोन र फिचर्स फोन रहेको व्यवसायीहरू बताउँछन् । ८ महिनामा भन्सार मूल्यका आधारमा साढे १५ अर्बका मोबाइल नेपाल आएका हुन् । बजार मूल्यका आधारमा हेर्ने हो भने ८ महिनाभित्र नेपाललमा अनुमानित २० अर्बभन्दा बढीको मोबाइल कारोबार भइसकेको देखिन्छ ।

नेपालमा अहिले एप्पल, सामसङ, जियोनी, एमआई, माइक्रोम्याक्स, कलर्स, कार्बन, ओप्पो, हुवावे, एलजी, लेनोभो, वानप्लसलगायतका ब्रान्डका स्मार्टफोनहरू धेरै बिक्री हुने गरेका छन् । यस बाहेक नेपालकै सीजी ब्रान्डका स्मार्टफोन र धेरै नयाँ ब्रन्ड पनि नेपालमा भित्रिसकेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हरेक महिना नयाँ–नयाँ ब्रान्डका स्मार्टफोनले ‘टाइप एप्रुभल’ र ‘आईएमईआई’ दर्ताका लागि निवेदन दिने गरेका छन् । प्राधिकरणमा हालसम्म मोबाइल, इन्टरनेट चलाउने डंगोल, पैसा तिर्ने मेसिनलगायतका गरी करिब साढे ३ हजार ब्रान्डले ‘टाइप एप्रुभल’ लिएका छन् । त्यसमा सबैभन्दा धेरै मोबाइलका ब्रान्ड रहेका छन् । पछिल्ला वर्षहरूमा ‘टाइप एप्रुभल’ लिने मोबाइलमध्ये धेरैजसोले ‘स्मार्टफोन’ कै लागि लिने गर्छन् ।

‘स्मार्टफोन’ प्रयोगकर्ता बढेसँगै नेपालीले चलाउने खालका एप्स बनाउने क्रम पनि बढेको छ । आफूलाई सुहाउँदो एप्स उपलब्ध हुने भएपछि पनि धेरै नेपालीलाई ‘स्मार्टफोन’ ले आकर्षण गर्ने गरेको छ । नेपालीलाई लक्षित गरेर विभिन्न सेवा प्रवाहलाई सजिलो हुने मात्र होइन, मनोरञ्जन र गेमका एप्स पनि बन्ने गरेका छन् । तिनले बारफोन र फिचर्स फोन बोकिरहेकालाई ‘स्मार्टफोन’ मा स्थानान्तरण सहयोगी भूमिका खेलिरहेका छन् ।

अहिले संसारभर नै ‘स्मार्ट’ र ‘डिजिटल’ अवधारणालाई आत्मसात् गर्न थालिएको छ । नागरिकको राष्ट्रिय परिचयपत्र, पासपोर्टदेखि वित्तीय क्षेत्र र यातायातमा समेत ‘स्मार्ट कार्ड’ को प्रयोग बढ्दो छ । सहरलाई ‘स्मार्ट सिटी’ को अवधारणामा अघि सार्न थालिएको छ । हरेकाका हात–हातमा हुने ‘स्मार्टफोन’ ले नेपालीलाई पनि बिस्तारै ‘स्मार्ट’ बनाउँदै लगेको छ ।

प्रकाशित : चैत्र २४, २०७३ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्