कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पुरानो थाई

सुरज कुँवर

थाइल्यान्डसँग उनको कुनै पारिवारिक साइनो गाँसिएको छैन । न त ससुराली न त मावली । तर, उनी यो काठमाडौं सहरमा पुरानो थाई रेस्टुरेन्ट चलाउने व्यवसायीका रूपमा कहलिएका छन् ।

पुरानो थाई

ललितपुरमा कलेज पढ्दै गर्दा मधुकुमार केसीको उद्देश्य हस्पिटालिटीमा करियर बनाउने थिएन । ३३ वर्षअघिको कुनै एक दिन एक सहपाठीको लहलहैमा लागेर उनले ब्लुस्टार होटलमा ट्ेरनीका रूपमा जागिर सुरु गरे ।
काठमाडांैमा बस्ने विदेशी खानाका पारखीहरूलाई ‘एभरेस्ट हिम थाई’ नौलो नाम होइन । उनले यो आउटलेट दुई वर्षयता जाउलाखेलमा चलाउँदै आएका छन् । नेपाल टेलिकम पछाडिको गल्ली हुँदै वा मानभवन जाने बाटोबाट दायाँ छिर्दा ठ्याक्कै यो रेस्टुरेन्ट पुगिन्छ ।
खासमा यो थाई घरको जन्म २६ वर्षअघि ठमेलमा भएको थियो । सगरमाथा र हिमालको नाम जोडेर सुरु भएको यो थाई आउटलेटपछि सहरमा थुप्रै थाई परिकारवाला रेस्टुरेन्ट खुले । तीमध्ये कतिपयमा थाइल्यान्डकै सेफले भान्सा सम्हालेका छन् । केसीको एभरेस्ट हिम थाईमा पनि दशक अघिसम्म बैंककबाट सेफ आउँथे तर अहिले त्यो परम्परा टुटिसकेको छ । केसीसँग अहिले थाई सेफ छैनन् । छन्, सिन्धुपाल्चोक मेलम्चीका जोगबहादुर तामाङ । ३५ वर्षीय तामाङ थाई खानामा आफ्नो दख्खल राख्छन् । चिनियाँ रेसिपीमा तामाङलाई सघाउने अर्का सेफ पनि छन् ।

‘घरबेटीसँग कुरा नमिलेकै कारण यो जावलाखेलमा पुगेको छ,’ ललितपुर इमाडोलका स्थायी बासिन्दा केसीले भने, ‘दुई वर्ष भयो यहाँ आको, यसअघि यो लाजिम्पाटमा थियो । त्यसअघि ठमेलमा ।’ यसको थपना गर्ने थाई दम्पतीबारे जानकारी नभएका केसी अहिले यसका एक्ला मालिक हुन् । ‘यता आउँदा ६० लाख लगानी गरे, कुल १ करोड हाराहारी खर्च भइसक्यो,’ लाजिम्पाटमा हुँदा एक जना स्लिपिङ पार्टनरका साथ थाइभान्सा चलाएका यी सञ्चालकले भने ।

यहाँको मेनुमा थाई खानाकै बाहुल्य छ । पात थाई, सोमताम थाई, साते काई, तोमयाम सुप अनि पूर्वी एसियामा १ हजारअघिको इतिहास बोकेको हटपट यहाँका डिमान्डेड रेसिपी हुन् । ‘अहिले चाइनिज मेनु पनि थपेको छु,’ हालैको एउटा भेटमा उनले भने ।
यहाँका अतिथिहरू खासगरी सिग्नेचर थाई क्युजिन खोज्नेहरू नै हुन् । पर्यटकहरू साइटसिनपछि यहाँ आएर थाईका अलावा चाइनिज फुड खान पाउँदा दंग पर्छन् । ‘नेपाली शैलीमा बनाइएको थाई खाना खोज्ने विदेशहरू हाम्रा मुख्य गेस्ट हुन्,’ केसीले भने । तर, काठमाडौंमै रहेका नेपालीहरू जो थाई खाना खोज्छन्, तिनका लागि पनि यहाँको रेसिपी त्यति महँगो छैन । करिपेस्ट, फिस सस, कोकोनट पाउडर, कोकोनट मिल्क, लाइमलिफ, अदुवालगायत सबै मरमसला, सामग्री केसीले आयातित थाई नै प्रयोग गरेका छन् ।
एक सय ५० जनाको अकुपेन्सी भएको रेस्टुरेन्टमा पाक्ने सबैभन्दा मीठो थाई फुड हटपट नै हो । इन्डोनेसिया, मलेसिया, सिंगापुर, कोरियामा पनि पपुलर रहेको हटपट खाने दिन अब बिस्तारै निख्रिँदै छन् । अर्थात् गर्मी सुरु भइसक्यो । तर, अदुवा, लेमनग्रासको लेदोलाई कोइलाको तापमा फुक्दै, हटपट सुप पिउन जाडो नै कुर्नु पर्दैन ।

प्रकाशित : चैत्र ४, २०७३ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?