काभ्रे — काभ्रेपलाञ्चोक जिल्लामा १२ जनामा डेंगूको संक्रमण भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ४ जना पुरुष र ८ जना महिला गरी १२ जनामा डेंगूको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा पनौती नगपालिकाकी एक महिलामा डेंगू संक्रमण पुष्टि भएको कार्यालय प्रमुख रागी श्री कक्षपति श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार यस आर्थिक वर्षको श्रावण १ गतेदेखि १३ गतेसम्म ४ जना पुरुष र ७ जना महिलामा डेंगू संक्रमण पुष्टि भएको छ ।
धुलिखेल नगरपालिकामा १ जना महिला र १ जना पुरुष, बनेपा नगरपालिकामा २ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकामा १ जना महिला र १ जना पुरुष, पाँचखाल नगरपालिकामा २ जना महिल, नमोबुद्ध नगरपालिकामा १ जना महिला र रोशी गाउँपालिकामा १ जना पुरुषमा डेंगू संक्रमण पुष्टि भएको कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ ।
त्यस्तै, काभ्रेको १३ वटा स्थानीय तहमध्ये मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, चौंरीदेउराली गाउँपालिका, महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकामा डेंगू संक्रमितको संख्या शून्य रहेको कार्यालयले जनाएको छ ।
डेंगू संक्रमण न्यूनीकरणका लागि कार्यालयले विभिन्न समयमा सचेतनामूलक कार्यक्रमसँगै ‘खोज र नष्ट’ अभियान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको कार्यालय प्रमख श्रेष्ठले जानकारी दिइन् ।
प्रकाशित : श्रावण १४, २०८१ १९:५५