काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेको प्रश्नको जवाफमा मन्त्री पौडेलले अहिलेकै नीति, नियमभित्र बिमा धेरै व्यवस्थित हुन नसक्ने बताए ।
स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्नका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको उनले बताए ।
उनले भने,‘अहिलेकै नीति, नियम भित्र बिमा धेरै व्यवस्थित हुने स्थिति छैन । त्यसैले बिमा सम्बन्धी ऐन परिवर्तन गर्ने, नीति, नियम परिवर्तन गर्ने, यसलाई थप व्यवस्थित बनाउन जरुरी छ । खासगरी यसको दायरा फराकिलो बनाउने, संगठित क्षेत्र सबैलाई बिमासँग आवद्ध गर्ने, त्यसको स्रोत सुनिश्चित गर्नका लागि सरकारले अरु थप पक्षलाई कसरी जोड्न सकिन्छ ? त्यसको निम्ति गृहकार्य भइरहेको छ । बिमा समिति, मन्त्रालयले यसका बारेमा छलफल गरिरहेको र आवश्यकता अनुसार यसको बारेमा के गर्न सकिन्छ ? आम नागरिकलाई बिमाबाट उपचार गराउनका लागि सहजीकरण कसरी गर्न सकिन्छ ? त्यसको प्रक्रियालाई कसरी सहजीकरण गर्न सकिन्छ ? र सम्पूर्ण नागरिकले यसबाट कसरी लाभ लिन सक्छन् ? भन्ने बारेमा अध्ययन गर्न निम्ति समिति बनाउने सन्दर्भमा पनि हाम्रो छलफल भइरहेको छ ।’
मन्त्री पौडेलले स्वास्थ्य बिमाको दायरालाई फराकिलो बनाउन पनि सरकार लागि परेको बताए ।
प्रकाशित : श्रावण १४, २०८१ १६:३४