कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

आयुर्वेद अस्पतालमा छैनन् बिरामी बस्ने पूर्वाधार

रमेशकुमार पौडेल

चितवन — आयुर्वेद उपचारप्रति विरामीको चासो बढ्दै गए पनि उपचारका लागि पूर्वाधार तयार हुन सकेका छैनन् । ६ महिनामा २४ हजारलाई सेवा दिएको चितवनको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमासमेत बिरामी भर्ना हुन पाउँदैनन् । त्यहाँ सेवा लिन आएका जटिल अवस्थाका बिरामीले पनि बेलुका घरै फर्कनु पर्छ । 

आयुर्वेद अस्पतालमा छैनन् बिरामी बस्ने पूर्वाधार

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख हुन् डा.कोपिला अधिकारी । रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको केन्द्रमा जटिल खालका बिरामी पनि उपचारका लागि आउँछन् । पदमपुरबाट एक महिलालाई अटोमा राखेर सुताएर उनका परिवारले ६ महिनासम्म लगातार उपचारका लागि केन्द्रमा ल्याए । त्यहाँको उपचारले उनलाई राम्रो हुँदै गयो । उनी अहिले मोटरसाइकलमा बसेर उपचारका लागि केन्द्रमा आइरहन्छिन् ।

केन्द्र प्रमुख डा.अधिकारीले यस्तै खाले अर्को जटिल बिरामीको कथा पनि सुनाइन् । बोन टिबी भएकी एक महिला पक्षघातले थलिइन् । उठ्न, दिसा पिसाब गर्न र हिँडडुल गर्न अरुको साहारा नभइ नहुने भयो । उनलाई आफन्तहरुले नौ महिनाअघि केन्द्रमा ल्याए । उपचारले छुँदै गएपछि ती महिला अहिले बिस्तारै भए पनि आफै हिँडडुल गर्न सक्ने भएकी छन् । यस्ता दृश्यले डा.अधिकारी सन्तुष्ट हुन्छिन् ।

‘तर के गर्नु यस्ता बिरामीलाई केन्द्रमा नै राखेर उपचार गर्न सकिएको छैन । पूर्वाधार नहुँदा उहाँहरु गाह्रो अप्ठ्यारो सहेर दिन दिनै धाउनु पर्ने भएको छ,’ डा.अधिकारीले भनिन् ।

केन्द्रमा बहिरंग चिकित्सा सेवासहित योग सेवा, पूर्वकर्म/पञ्चकर्म सेवा, जेष्ठ नागरिक सेवा, स्तनपाई आमा तथा शिशु सेवा, नागरिक आरोग्य सेवा, प्रयोगशाला, अकुपञ्चर, फिजियोथेरापी र अल्ट्रा साउण्ड सेवा सञ्चालनमा छन् ।

केन्द्रमा आयुर्बेद औषधि फोर्मेसी पनि छ । जहाँ २३ प्रकारका अत्यावश्यक औषधि निःशुल्क पाइन्छ । ०५२ सालमा खुलेको यो केन्द्रले दुई वर्षयता विशेषज्ञ आयुर्बेद चिकित्सकसहित सेवा दिन सुरु गरेको छ । ‘वर्षेनी सेवा लिन आउनेको संख्या बढ्दो छ । अहिलेसम्म भर्ना नै भएर उपचार दिने पूर्वाधार छैन । तर नयाँ भवन बन्दै गरेका कारण साउनबाट भर्ना सुरु गर्ने लक्ष्य भने छ,’ डा.अधिकारीले भनिन् ।

साउनबाट २५ शैय्याको अस्पताल चलाउने र जसमा भर्नाको सुविधा पनि रहने उनले बताइन् । आयुर्बेद उपचारमा आकर्षण बढेको छ । तर आयुर्बेदको नाममा भ्रमपुर्ण उपचार गर्ने परिपाटी पनि उत्तिकै छ । अस्पतालका सूचना अधिकारी रहेका डा.देवेन्द्रकुमार यादवले केही यस्ता बिरामी पनि भेटेका छन् जसले पहिला आयुर्बेद भन्दै गलत उपचार पाइरहेका थिए ।

‘यहाँ उपचारका लागि आएका एक बिरामीले आयुर्बेदिक औषधि खाएँ तर निकै भएन भन्नुभयो । उहाँले औषधिको पोको भनेर जुन देखाउनु भयो त्यो आयुर्बेदिक थिएन । त्यो त एलोपेथिक औषधि धुलो पारेर यस्सै दिइएको थियो’ डा.यादबले भने । यस्ता औषधि किराना पसल, कपडा पसल र फुटपाथमा बसेका व्यक्तिले बेच्ने गरेको उनले बताए ।

‘आयुर्बेद भनेर मात्रै भए पनि भएन । उपचार परामर्श लिनुअघि त्यस्ता चिकित्सक या स्वास्थ्यकर्मी नेपाल आयुर्बेद मेडिकल काउन्सिलमा दर्ता भएका हुन् या हैनन् पक्का गर्नुस् । अस्पताल या क्लीनिक र फार्मेसीहरु सम्बन्धित निकायमा दर्ता भए नभएको पक्का गर्नुस्,’ डा.कोपिला अधिकारीको अनुरोध छ । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले १५ देखि २५ शैय्यासम्मको अस्पताल दर्ता गर्छ । निजी स्तरमा दर्ता भएका यस्ता आयुर्बेद अस्पताल चितवनमा पाँच वटा रहेको डा.अधिकारीले जानकारी दिइन् ।

यसका साथै चितवनमा सरकारी तवरमा आठवटा आयुर्बेद औषधालयहरु पनि रहेका छन् । कालिका र खैरहनी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा एक एकवटा नागरिक आरोग्य सेवा केन्द्र पनि रहेको उनले बताइन् । यसका साथै पालिकाले पनि १५ शैय्याभन्दा तलको आयुर्बेद अस्पताल दर्ता गर्छ ।

‘१५ शैय्याका उपचार केन्द्रहरु पहिला २५ वटा थिए । ती अहिले पालिकाले दर्ता र अनुगमन गर्छन् । आयुर्बेद केन्द्रहरु शैय्या अनुसार कही न कही दर्ता भएकै हुनु पर्छ । यो हेरेर उपचार सेवा लिए गलत ठाउँमा गइँदैन,’ डा.अधिकारीले भनिन् । आयुर्बेद औषधिको पनि एक्सपायर मिति हुने र त्यो हेरेर मात्रै खानु पर्ने हुन्छ । त्यसैगरी आयुर्बेद औषधिको साइड इफेक्ट हुँदैन, ग्यारेन्टी उपचार हुन्छ जस्ता भ्रम पनि राख्न नहुने डा.अधिकारीको भनाइ छ ।

‘अनुगमन र कारवाही बढे आयुर्वेदको नाममा हुने गलत उपचार रोकिन्थ्यो । जिल्ला आयुर्बेद केन्द्र, प्रहरी प्रशासन र स्थानीय निकायको संयुक्त पहलले गलत काम निरुत्साहित हुनेछन्’ डा.अधिकारीले भनिन् । तीन चार वर्षअघि सघन रुपमा अनुगमन हुने गरेको थियो । त्योबेला कारवाही र जरिवाना भएका कारण अहिले बजारमा आयुर्बेदको नाममा गलत गर्नेहरु कम भएको डा.अधिकारीले बताइन् ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ आयुर्बेद उपचारका बारेमा पहिलेभन्दा सजगता बढेको बताउँछन् । चितवनमा २५ शैय्याको अस्पताल बनेर सञ्चालन भएपछि आयुर्बेदका बारेमा हुने गरेका केही गलत काम पनि रोकिने उनको भनाइ छ । ‘२५ शय्याको अस्पताल नै बनेपछि सेवाग्राही बढ्नेछन् । आयुर्बेद उपचार भनेको के हो भन्ने बारे सही जानकारी यसैबाट फैलने छ,’ श्रेष्ठले भने । अस्पतालले उपचारमा आइरहेका बिरामीलाई भर्ना हुन पाउने सुविधा मात्रै थप्ने छैन आयुर्बेदकै प्रचार पनि बढाउने आशा श्रेष्ठले राखेका छन् ।

प्रकाशित : फाल्गुन १४, २०८० १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?