कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

पाका स्वयंसेविकाको अनुभूति : ‘गर्भ जँचाउन सल्लाह दिँदा ढोका थुन्थे’

केदार शिवाकोटी

दोलखा — उमेरले ८० वर्ष टेकिन्, पदमकुमारी खत्री । गाउँमा महिला स्वास्थ्य स्वयंसेविका बनेर काम गर्दै आएकी उनले ३५ वर्ष यसमै बिताइन् । निकै कष्ट, त्यसमाथि पहाडका उकालीओराली । तत्कालीन समयमा गाउँमा स्वास्थ्यको जनचेतना घरदैलोसम्म पुर्‍याउँदा अधिकांशको खिसिट्युरी सहेको सम्झना लिएर उनी आफ्नो ३५ वर्षको महिला स्वयंसेविका सेवाबाट बिदा हुँदा भावुक बनिन् ।

पाका स्वयंसेविकाको अनुभूति : ‘गर्भ जँचाउन सल्लाह दिँदा ढोका थुन्थे’

२०४६ सालमा तत्कालीन पवटी गाविस–२ बाट महिला स्वयंसेविकामा प्रवेश गरेकी उनी ६० वर्षे हदका कारण यो सेवाबाट हटेकी हुन् । मेलुङ गाउँपालिका–२ की उनी महिला स्वयंसेविका पदमा पहिलो पटक प्रवेश गर्दा ४५ वर्षकी थिइन् । निकै चुनौती सामना गरेर उनी महिला स्वयंसेविका बनेको बताइन् ।

पहिलो पटक स्वयंसेविकाको तालिम लिन जाँदा खर्च नभएर कन्दमुल खाएर १२ दिनको तालिम लिएको उनले बताइन् । ‘महिला स्वयंसेविकाको पद खुलेपछि त्यो बेला तालिम लिने निर्णय गरें, अहिलेको जस्तो सडक थिएन, दिनभरि हिँड्नु पर्थ्यो,’ उनले भनिन्, ‘जंगलको बाटो र भीरपाखा हिँडेर कन्दमुल खाँदै तालिम लिएँ ।’

तालिमबाट लिएको ज्ञान गाउँमा महिला दिदीबहिनीलाई सिकाउँदा खिसिट्युरी गर्ने गरेको उनले सुनाइन् । ‘अहिले जस्तो पढेलेखेको समाज थिएन, घरदैलो पुगेर सुत्केरी गराउन स्वास्थ्य संस्था जानुपर्छ भन्दा लाज हुन्छ भनेर घरमै सुत्करी हुन्थे,’ उनले भनिन्, ‘निकै सकस थियो त्यो बेलामा काम गर्न, घरमा शौचालय बनाउनुपर्छ भन्दा उल्टो खेद्थे ।’

स्वयंसेविकाको जिम्मेवारी पाएको सात वर्षपछि वर्षको १ सय रुपैयाँ बुझेको उनले बताइन् । स्वास्थ्य क्षेत्रमा अहिले आएको परिवर्तन र समाज परिवर्तनमा सहभागी हुन पाएकामा निकै हर्ष लागेको उनले बताइन् ।

अधिकांश स्थानीय तहले ६० वर्ष उमेर हदका कारण स्वयंसेविकाबाट बिदाइ भएकालाई रित्तो हात पठाए पनि मेलुङ गाउँपालिकाले भने सम्मानसहित बिदा गरेको छ । मेलुङका ३५ जना उमेर हद नाघेका महिला स्वास्थ्य स्वयंसेविकालाई जनही २० हजार नगद दिएर बिदाइ गरेको हो । सेवा अवधि सकिएर जाने स्वयंसेविकालाई वाग्मती प्रदेश सरकारले पनि २० हजार रुपैयाँ दिएको छ ।

बिदाइमा आएका स्वयंसेविकाले भावुक बन्दै साथीहरूबाट बिदा लिएका थिए । बिदाइमा आएकी ६५ वर्षीया यक्षकुमारी खत्रीले ३५ वर्ष सेवा गरेर रित्तो हात फर्के पनि कुनै गुनासो नभएको बताइन् । ‘सरकरले हामीलाई समाज र स्वास्थ्य क्षेत्र सुधारको काममा योग्य ठानेकामा धन्यवाद,’ उनले भनिन्, ‘स्थानीय र प्रदेश सरकार नभएको भए हामी रित्तो हात घर फर्कने रहेछौं ।’ पहिले गाउँका दिदीबहिनीलाई स्वास्थ्य जनचेतना र घरदैलो गर्दै हिंड्न पनि सकस रहेको उनले बताइन् । ‘त्यो समयमा स्वास्थ्य ज्ञान बाँडेर हिँड्दा कुरा काट्थे, कतिले लाजले जिब्रो टोक्थे,’ उनले सुनाइन्, ‘अहिले जस्तो समाज खुला थिएन, निकै संघर्ष गरेर गाउँको स्वास्थ्य चेतना परिवर्तन गर्‍यौं ।’ गाउँघरमा स्वास्थ्य अभियान चलाउँदा हण्डर खानु परेको उनले सुनाइन् ।

‘गाउँमा गर्भवती भएको थाहा पाएर जाँच गर्न सल्लाह दिँदा ढोका थुन्थे, कतिपयले लाज लाग्छ भनेर अप्ठेरो मान्थे,’ उनले भनिन्, ‘आमा र बच्चाको स्वास्थ्यका कुरा बुझाएर गाउँका दिदीबहिनीलाई यो अवस्थामा ल्याउन सफल भएकामा निकै खुसी लाग्छ ।’

गाउँमा स्वाथ्य चौकी भए पनि प्रसूति सेवा नभएका कारण स्ट्रेचरमा बोकाएरै सदरमुकाम चरिकोट लैजानुपर्ने बाध्यता थियो । ‘धामी–झाँक्रीको भर पर्दा आँखाअगाडि कति सुत्केरी आमा र शिशुले दम तोडेको देख्थ्यौं,’ उनले भनिन्, ‘त्यो अत्यासलाग्दो ग्रामीण महिलाको अवस्थामा निकै संघर्ष गरेर परिवर्तन ल्यायौं ।’ अन्धविश्वासले जगडेको गाउँलाई यो अवस्थामा ल्याएर बिदा हुन पाएको खुसी लागेको उनले बताइन् ।

‘आज हरेक वडामा प्रसूति सेवासहित स्वास्थ्य संस्था छन्,’ उनले भनिन्, ‘त्यसबेला कठिन समयमा प्रसव पीडामा भएकाको उद्धारदेखि शिशुको खोपलगायतमा खटेर सेवा दियौं ।’ हामी आफ्नै खुसीले स्वयंसेविका भएकै कारण सेवासुविधा खोज्न त्यति जायज नभएको उनको तर्क छ । तर, पहिलो पटक महिला स्वयंसेविकामा प्रवेश गरेका र पछि यो सेवामा आएका दिदीबहिनीबाट टाढिनु पर्दा चाहिँ नरमाइलो लागेको उनले बताइन् ।

स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर गर्न ६० वर्षे हदका कारण बिदाइ भएका स्वयंसेविकालाई केही नगदसहित बिदाइ गरेको अध्यक्ष हिराकुमार थोकरले बताए । ‘हिजोको कहालीलाग्दो अवस्थाबाट यो अवस्थासम्म ल्याउन महिला स्वयंसेविकाको भूमिका निकै महत्त्वपूर्ण छ,’ उनले भने, त्यसको मूल्यांकन र गुन तिर्न सकिँदैन तर बिदाइ हने बेलामा सबैलाई एकै ठाउँमा ल्याएर सम्मान गरेका हौं ।’ मेलुङमा १ सय ६५ महिला स्वास्थ्य स्वयंसेविका छन् । जिल्लाभर १ हजार २ सय ६६ स्वयंसेविका कार्यरत छन् ।

प्रकाशित : मंसिर २२, २०८० १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?