मानसिक स्वास्थ्यबारे सचेत रहन आवश्यक

भक्तपुर — जिल्लामा मानसिक स्वास्थ्यबारे चेतनामूलक अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । रोटरी क्लब अफ भक्तपुरका समूहलाई नसा तथा मनोरोग विशेषज्ञ प्रा. डा. धनरत्न शाक्यबाट अन्तरक्रियात्मक प्रशिक्षण दिएका हुन् ।

उनले मानिसको आनीबानी, बोली, भावना, सोच, इन्द्रीय ज्ञान, होस, चेतना, स्मृति, बुद्धि, निर्णय र अन्तरज्ञान आदिमा देखिएका बदलाव, मानसिक रोगका लक्षण नै हुन् कि भन्ने कुरा स्वयंले, परिवार, साथीभाइ, इष्टमित्रहरुले कसरी बुझ्ने ? मानसिक स्वास्थ्य के हो ? कसरी मानसिक समस्या उत्पन्न हुन्छ ? भन्ने सवालहरुमा प्रशिक्षण दिएका थिए ।
डा. शाक्यले ब्यस्त जनजीवनमा मानसिक स्वास्थ्यका समस्याहरु जटिल बन्दै गएको प्रति सचेत गराउँदै कोही कसैका आफ्ना नियमित र सामान्य व्यवहारमा परिवर्तन वा अन्य मनोवैज्ञानिक बदलावसहितका लक्षणहरु लामो समय रही जीवनका विविध पाटामा समस्या पैदा भएमा, बेचैनी भएमा मानसिक रोग वा मानसिक स्वास्थ्यका समस्या हुनसक्ने औंल्याएँ ।
लक्षण देखिनेबितिकै आवश्यक उपचार र परामर्शका लागि हिच्किचाउन नहुने, सचेत हुनुपर्नेमा उनको जोड थियो । बेलैमा सचेत हुन सकिएन भने मानसिक स्वास्थ्य बिग्रेर कडा मानसिक रोग र विभिन्न जटिलताहरु आइपर्ने उनले बताए । मानसिक स्वास्थ्य मानव अधिकार भएकोले यसको लागि दायित्वलाई बिर्सन नमिल्ने उनले औंल्याए ।
रोटरी क्लव अफ भक्तपुरका अध्यक्ष गंगालक्ष्मी अवालले सहजीकरण गरेको कार्यक्रममा पूर्वअध्यक्ष सुन्दरप्रताप राणा, निवर्तमान अध्यक्ष विनिता हाडा प्रधानांग, यूसेप नेपालका निर्देशक केशव सुवाललगायतको उपस्थिति थियो ।
प्रकाशित : कार्तिक २५, २०८० २२:१९