मानव कोषबाट उपचार गरिने नयाँ पद्धति भित्रिँदै

काठमाडौँ — नेपाली चिकित्सकहरू मिलेर मुलुकमा पहिलो पटक बिनाऔषधि मानव कोषबाट बिरामीको उपचार गरिने नयाँ पद्धति ल्याउने तयारी थालेका छन् ।

‘ रिजेनेरेटिभ मेडिसिन एन्ड स्टिम सेल कन्फेरेन्स' भनिएको यो उपचार पद्धतिबारे शुक्रबार नख्खुस्थित मेडिसिटी अस्पतालमा अमेरिका, इटली, पाकिस्तान, भारत, श्रीलंकासहित नेपालका ५५ जना चिकित्सकहरूको सम्मेलन सुरु भएको छ । सम्मेलन शनिबारसम्म चल्नेछ ।
स्टेम सेल अथवा शरीरको विशेष कोष निकाली बिरामीको समस्या परेको भाग (क्षतिग्रस्त तन्तु वा अंग) मा ट्रान्सप्लान्टमार्फत गरिने उपचार हो । यो रोग, चोटपटक, उमेर वा अन्य समस्याका कारणले औषधि वा अन्य प्रक्रिया उपचार गर्नुको सट्टा बिग्रिएका कोष प्रतिस्थापन गर्नु हो ।
चिकित्सकहरूका अनुसार यो उपचार पद्धतिद्वारा हेयर ट्रान्सप्लान्ट, सुगर, नसा, आँखा, घुँडा दुखेको, मृर्गौला, कलेजो, यौन रोग लागेकालाई मात्र नभई पक्षघात र अल्जाइमरजस्ता गम्भीर रोगको समेत उपचार गर्न सकिन्छ ।
यो उपचार विधि नेपालमा डाक्टरहरू विनोद साह, रेणु गुरुङ, अजय साह, रोजिना बादल, सुवेन्दु गुप्ता मिलेर ल्याउन लागेका हुन् । डा. अजय साहका अनुसार यो प्रविधि भित्रिएमा सर्वसाधारणले स्वेदशमै गम्भीर प्रकृतिका रोगको समेत सहजै उपचार पाउने विश्वास व्यक्त गरे ।
‘यो अन्य उपचार विधिको तुलनामा महँगो पनि छैन,’ उनले भने, ‘सरकारले स्वीकृति दिएमा चाँडै परीक्षण सुरु गछौं ।’ उनका अनुसार परीक्षणका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त गरिसकेको छ । ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा स्वीकृतिका लागि प्रक्रियामा छ,’ उनले भने ।
मानव कोष ट्रान्सप्लान्टमार्फत गरिने उपचार अमेरिका, भारत, चीन, श्रीलंका, पाकिस्तान, थाइल्यान्डलगायत मुलुकमा लागू छ ।