क्यान्सर रोग निवारणमा सरकार गम्भीर छैन : सांसद् चौधरी


काठमाडौँ — नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सुर्तीजन्य पदार्थमा लगाइने करमा वृद्धि नगरिएकोप्रति असन्तुष्टि प्रकट गर्दै सरकार क्यान्सर रोग निवारणमा गम्भीर नभएको आरोप लगाएका छन् ।


नेपाल अर्बुद रोग निवारण संस्थाले सोमबार काठमाडौंमा मनाएको ४१औं वार्षिकोत्सवको अवसरमा सांसद चौधरीले सरकार नै सक्रिय नभएसम्म क्यान्सर रोग रोकथाम र उपचारमा गैरसरकारी संस्थाहरूको प्रयास पर्याप्त हुन नसक्नेतर्फ ध्यानकर्षणसमेत गराएका छन् ।
संस्थाले राजधानीमा सोमबार एक कार्यक्रम आयोजना गरी संस्थाले क्यान्सरविरुद्धको अभियानमा योगदान पुर्याएका दर्जनौं संघसंस्थाहरूलाई पुरस्कृत गरी आफ्नो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगका कारण विकसित राष्ट्रहरूको तुलनामा विकासोन्मुख र अविकसित राष्ट्र्रहरूमा मृत्युदर विकराल रहेको बताउँदै यसको रोकथामका लागि अब ढिला गर्न नहुने बताए ।
संस्थाको वार्षिकोत्सवको अवसरमा एक दिनअघि मात्रै क्यान्सर रोगविरुद्ध सचेतना र क्यान्सर डायग्नोस्टिक सेन्टर स्थापनार्थ कोष संकलनका लागि बृहत् पदयात्राको आयोजना गरिएको थियो ।