वीरेन्द्रनगर — कर्णाली प्रदेश अस्पताल सुर्खेतले मुटुरोग सम्बन्धी सेवा विस्तार गरेको छ । अस्पतालले मुटुरोग सम्बन्धी समस्या भएका बिरामीहरुको सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले ओपिडी सेवाको सुरुवात गरेको छ ।
यो सेवापछि अब मुटुरोगका बिरामीहरूले उपचारका लागि बाहिर जिल्ला जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले बताए ।
कर्णाली सबै र सुदूरपश्चिमका केही जिल्लाको रेफरल सेन्टरका रूपमा रहेको अस्पतालले एकपछि अर्को सेवा विस्तार गर्दै आएको छ । अस्पतालमा अहिले देशका अन्य विभिन्न ठाउँसँगै भारतबाट पनि बिरामी उपचारको लागि आउने गरेका अस्पतालले जनाएको छ । अस्पतालले केही समय अघिबाट मृगौला प्रत्यारोपणको सेवा पनि सुरू गरेको थियो ।
प्रकाशित : भाद्र २४, २०८० ०९:१०