दशकपछि भीम अस्पतालमा एपेन्डिक्स र हर्नियाको शल्यक्रिया पुन: सुरू

माधव ढुंगाना

भैरहवा — एक दशकपछि भैरहवास्थित भीम अस्पतालमा एपेन्डिक्स र हर्नियाको शल्यक्रिया पुन: सुरु भएको छ । तीन दिनअघि रुपन्देहीको तिलोत्तमा नपा–१५ कोटिहवा निवासी १६ वर्षीय बसन्त भुसालको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नुरुल होदासहितको टिमले एपेन्डिक्सको शल्यक्रिया गरेको हो ।

दशकपछि भीम अस्पतालमा एपेन्डिक्स र हर्नियाको शल्यक्रिया पुन: सुरू

भीम अस्पताल प्रशासनका अनुसार, यसभन्दा अघि भीम अस्पतालमा दश वर्ष अगाडि अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. मनोहर जोशीसहितको टिमले एपेन्डिक्स र हर्नियाका बिरामीको शल्यक्रिया गर्ने गरेको थियो । त्यसपछि शल्यक्रिया भएको थिएन ।

केही दिन अगाडिमात्रै सरुवा भइ भीम अस्पतालमा आएका मेडिकल सुपरिटेन्डेन्ट डा. नुरुल होदाले एपेन्डिक्स र हर्नियाका बिरामीको शल्यक्रियालाई अब निरन्तरता दिने बताए ।

‘जटिल अवस्थाका बाहेक एपेन्डिक्स र हर्नियाका बिरामीको शल्यक्रिया सेवा अब भीम अस्पतालमा उपलब्ध हुन्छ,’ उनले भने, ‘एपेन्डिक्सको शल्यक्रिया सुरु भइसकेको छ । हर्नियाको पनि सल्यक्रिया गरिने व्यवस्था मिलाएका छौं ।’

भीम अस्पतालमा एपेन्डिक्स, हर्निया र हाइड्रोसिलको सल्यक्रिया सुरु भएपछि सर्वसाधारण बिरामीले यसको उपचारका लागि मेडिकल कलेज, बुटवल लगायत भारतको गोरखपुर जानुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित : भाद्र २२, २०८० ११:०८
प्रतिक्रिया
पठाउनुहोस्