एन्टिरेबिज भ्याक्सिन अभावले समस्यामा बिरामी

माधव ढुंगाना

भैरहवा — भैरहवास्थित भीम अस्पतालमा ‘एन्टिरेबिज भ्याक्सिन’ सकिएपछि उपचारका लागि आउने निम्न वर्गका बिरामी मर्कामा पर्न थालेका छन् । सरकारी स्तरबाट निःशुल्क उपलब्ध गराइने उक्त भ्याक्सिन गत बिहीबारदेखि सकिएको हो । कुकुरको टोकाइबाट उपचारका लागि अस्पतालमा आउने बिरामीको संख्या भने दैनिक २० जना भन्दा धेरै छ ।  

एन्टिरेबिज भ्याक्सिन अभावले समस्यामा बिरामी

भीम अस्पतालको इमर्जेन्सी कक्षकी प्रमुख सबिता शर्माले एन्टिरेबिज भ्याक्सिन सकिएकाले उपचारार्थ आउने बिरामीलाई उपलब्ध गराउन नसकिएपछि बिरामीले अस्पताल बाहिरको औषधी पसलमा किन्न बाध्य हुन थालेको बताइन् ।

‘एन्टिरेबिज भ्याक्सिन सकिँदा निम्न आर्थिक अवस्थाका बिरामी समस्यामा परेका छन्’ उनले भनिन्, ‘कतिपय बिरामीले भ्याक्सिन नपाइएको भन्दै झगडा गर्न थाल्नाले व्यवस्थापन गर्न समस्या हुने गरेको छ ।’

उनका अनुसार, कुकुरले टोकेको बिरामीलाई ३ पटकसम्म एन्टिरेबिज भ्याक्सिन लगाउनु पर्छ । एक भायल एन्टिरेबिज भ्याक्सिनको निजी पसलमा ६ सय रुपैयाँ भन्दा धेरै मूल्य पर्छ ।

अस्पताल प्रशासनका अनुसार, अस्पतालमा विगत ३ महिनादेखि नै एन्टिरेबिज भ्याक्सिनको असहजता हुन थालेको हो । भदौ महिना सुरु भएपछि २ सय ८० भायल एन्टिरेबिज भ्याक्सिन आएकोमा १५ गते नै सकिएको हो । अस्पतालमा नयाँ र पुराना गरेर दैनिक उपचारका लागि ३० देखि ४० जनासम्म आउने गर्छन् । गत आव २०७९/०८० मा कुकुरको टोकाइबाट उपचारमा आएका बिरामीको संख्या ३ हजार ७ सय ९३ थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नुरुल होदाले आवश्यकता अनुरुपका भ्याक्सिन उपलब्ध गराउन महामारी तथा रोग नियन्त्रण महाशाखा समक्ष माग गरिएको र खरिद प्रक्रिया असहज भएकाले महाशाखाबाट उपलब्ध हुन नसकेको बताए । ‘अहिले यो समस्या मुलुकभरि नै देखिएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र १९, २०८० ११:२६
प्रतिक्रिया
पठाउनुहोस्