२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४
अभिभावक शिक्षा-२

बालबालिकाको 'स्क्रिन टाइम' कसरी घटाउने ? 

‘मोबाइलको लत लगाउन अभिभावक नै जिम्मेवार’ 
बुनु थारु

काठमाडौँ — काठमाडौँ टोखा बस्ने सरिता न्यौपानेलाई आफ्नो ५ वर्षीय कायालाई खाना खुवाउन हरेक दिन धौ–धौ पर्छ । छोराले खाना नखाने होइन कि खाना खाँदा कार्टुन नहेरी मुखमा गाँसै हाल्न मान्दैनन् । कार्टुनहरू नदेखाई खाना खुवाउनै नसक्ने बताउँछिन् न्यौपाने । 

बालबालिकाको 'स्क्रिन टाइम' कसरी घटाउने ? 

ललितपुरका १० वर्षीय सौरभ मगरका आमा–बुबा दुवै कामकाजी हुन् । बुबा गैरसरकारी संस्थामा काम गर्छन् भने आमा नर्स । उनी विद्यालयबाट फर्किँदा प्रायः एक्लै हुन्छन् । उनको साथीको रुपमा हुन्छ- मोबाइल । मोबाइल चलाउने बानीले उनी पढाइमा पनि मन लगाउन सक्दैनन् ।

दाङका १० वर्षीय सुप्रिम केसीले मोबाइल र कम्प्युटर दुवैमा उत्तिकै लत बसेको थियो । कुनै पनि वस्तु दुईवटा देख्ने भएपछि एक दिन उनलाई आँखा अस्पताल पुर्‍याइयो । उनमा टाढाको नदेख्ने समस्या र आँखाको टेढोपन देखियो । चस्माले पावरको समस्या ठीक भए पनि टेढोपनका लागि शल्यक्रिया नै गर्नुपर्‍यो । उनको आखाँको टेढोपन हाल ठीक छ ।

कोभिडका समयमा बालबालिकाले मोबाइल तथा कम्प्युटरमा अनलाइन क्लास लिन्थे । धेरैलाई बानी परेकाले केही बालबालिका त भौतिक कक्षामा पहिलेजस्तो घुलमिल हुनै सकेनन् ।काठमाडौंका १४ वर्षीय रोहित लिम्बु कोभिडपछि स्कुल जानै मन गरेनन् । स्कुल जाने भनेपछि कहिले बिहान पेट दुख्यो भन्ने त कहिले जिउ दुख्यो भन्ने । उनले त्यसरी जिद्दि गरेरै ६ महिना स्कुल नै गएनन् । घरमा रिसाउने, चिच्याउने, झगडा गर्ने, कराउने रातभरि गेम खेल्ने अनि दिनभरि सुत्ने, खाना पनि राम्ररी नखाने, परिवारले भनेको नमान्ने, केही भने घरको चिजबिज तोडफोड गर्ने, आफूलाई हानी गर्ने कोसिस गर्ने बानी देखिँदै गयो । चिकित्सकले यो लक्षण ‘इन्टरेट गेमिङ डिसअर्डर’ को रहेको निर्क्यौल गरे । हाल उनी थेरापीमा छन् ।

माथि प्रस्तुत उदाहरणझैं धेरै अभिभावकहरूको अहिले साझा गुनासो बनेको छ–‘बच्चाले मोबाइल नहेरी खानै खाँदैन’, ‘मोबाइलमा गेम र टिकटकमात्र हेरेर बस्छ, मोबाइल दिएन भने त रोएको रोयै गर्छ’ आदि । फोन अहिले जिन्दगीको अमूल्य अंगजस्तै भइसकेको छ, जसलाई बच्चाहरुबाट टाढा राख्न मुस्किल छ ।प्रविधिको जमानामा बालबालिकारुलाई स्क्रिनबाट टाढा राख्नु पक्कै पनि अभिभावकहरूका लागि चुनौतीको विषय नै हो । कामकाजी अभिभावकहरुले बालबालिकालाई पर्याप्त समय नदिँदा बालबालिकाको हुर्काइमा नै नकरात्मक असर पर्दै गएको देखिन्छ ।

मोबाइलले लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटकपटक ब्युँझिने समस्या देखिने त छँदै छ‚ यसले भावी दिनमा बालबालिकाहरू विभिन्न रोगको शिकार पनि हुन सक्ने विज्ञहरू बताउँछन् ।

विज्ञहरूका अनुसार मोबाइल हेर्ने बानी लागेपछि बालबालिकाहरूमा व्यावहारिक समस्या, डिप्रेसन, निद्रामा समस्या, मोटोपन, सामाजिक विकासमा ढिलाइ, एकाग्रता र सुन्न सक्ने क्षमतामा कमी, स्नायु प्रणालीलगायतमा समस्या देखिन सक्छन् ।

मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालिबालिकाको सर्वांङ्गीण विकासमा नै असर पुर्‍याइरहेको हुन्छ । यो बालबालिकामा मात्र होइन वयस्कहरूमा पनि उत्तिकै लत बस्दै गएको छ । अभिभावक र बालबालिकाबीच संवाद तथा सिकाइ नै कम हुँदै गएको छ ।

बालबालिकाले आफैं मोबाइल चलाउने होइनन् ।मोबाइल चलाउने बानी उनीहरुले अभिभावकबाटै सिको गर्छन् । अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरुले पनि देखेर सिक्छन् र लत बस्छ ।

बालरोग विशेषज्ञ डा. रिता सिंह भन्छिन्‚ ‘ओपिडीमा आउने साना बच्चाहरुलाई रुनेबित्तिकै आमाबुबाले मोबाइलमा कार्टुन देखाइदिन्छन् ।अभिभावकले सुरुमा आफैंले नै लत बसाउँछन् ।त्यसपछि त्यही अभिभावकले बच्चा ५–६ वर्षको भइसकेपछि कम्प्लेन गर्न आउँछन् बच्चाले त मोबाइल छोड्दै छोड्दैन ।यसको कसरी व्यवस्थापन गर्ने भन्ने बेलैमा विचार पुर्‍याउनुपर्छ । सानैमा बानी लागिसकेपछि ठूलो हुँदा त्यो बानी हटाउन निकै गाह्रो हुन्छ ।’

‘ब्रेन म्याटर्स’ नामक डकुमेन्ट्रीकी निर्देशक कार्लोटा नेलसनले बढी स्क्रीन टाइमले बालबालिकालाई असर गर्ने र अफ स्क्रीनको अनुभवको महत्व थुप्रै रहेको देखाएकी छिन् । विश्वमा अग्रणी ब्रेन साइन्टिस्टको रुपमा चिनिने प्याट्रिस्या कुल भन्छिन्–‘साना नानी जो १ वर्षभन्दा कमका छन् उनीहरुलाई मेसिनले केही पनि सिकाउँदैन । अन्तर्क्रियाबाट बच्चाले धेरै कुरा सिक्न सक्छन् ।’ बच्चालाई ‘स्क्रिन’ होइन ‘ह्युमन’ आवश्यकता रहेको उनको भनाइ छ ।

मोबाइल तथा अरु ग्याजेट्स बढी चलाएकै कारण कतिपय बालबालिकामा आँखा टेढो हुने समस्या पनि देखिएको बताउँछिन् तिलगंगा आँखा अस्पतालकी बाल आँखारोग विशेषज्ञ डा. सिर्जना अधिकारी । अत्यधिक समय स्क्रिनमा हेरिरहँदा आँखा पोल्ने, चिलाउने, आँसु आउनेलगायत समस्या पनि देखिन सक्छ ।

स्क्रिन टाइम धेरै हुँदा चस्माको पावर बढ्ने, चस्मा नलगाएको केटाकेटीमा पावर बढेर चस्मा लगाउनुपर्ने समस्या देखिएको उनी बताउँछिन् । उनले विश्वमै स्क्रिन टाइममा बढी समय बिताउने बानी कोभिडका बेला धेरै अनलाइन क्लासले पनि बढेको र कोभिडपछि बोर्डको अक्षर नदेख्ने, टाढाको नदेख्नेलगायत समस्याहरू लिएर बालबालिका आएको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले बालबालिकालाई कति समय स्क्रिन देखाउने भनेर एउटा गाइडलाइन नै बनाएको छ । सन् २०१९ मा बनेको गाइडलाइनमा १ वर्षसम्मका बालबालिकालाई स्क्रिन देखाउनुहुँदैन भनेको छ भने २–४ वर्षसम्मका बालबालिकालाई १ घण्टाभन्दा बढी स्क्रिन देखाउनु नहुने भनेको छ ।

डब्लूएचओका अनुसार ५ वर्षमुनिका बालबालिकाहरुले राम्रो निद्रा पाउनुपर्छ नभए यसले किशोरावस्था तथा युवास्थामा मोटोपन र अरु रोगहरुको जोखिम गराउने बताउँछ ।

बेलायतको एक सञ्चार माध्यम टेलिग्राफका अनुसार ब्रिटिस बालबालिकाहरू संसारकै सबैभन्दा धेरै स्क्रिनको लत बसेका बालबालिका हुन् । बेलायतका दुई तिहाई बच्चाहरू १ घण्टाभन्दा कममात्र बाहिर समय बिताउँछन् । यो अवस्था नेपालमै पनि देख्न थालिएको छ ।

विज्ञहरुले आफ्नो बालबालिकालाई मोबाइल तथा कम्प्युटरको लत छुटाउन अभिभावककै हातमा निर्भर रहेको बताउँछन् । ‘विद्यालयहरुले पनि खेलकुदमा विद्यार्थीहरुलाई ध्यान दिनुपर्छ । अभिभावकहरुले पनि बच्चाहरुलाई बाहिर लैजाने, पार्कमा घुमाउन लग्ने, उज्यालो ठाउँमा लाने, छतमा वा बार्दलीमा भए पनि घुमाउने गर्दा पनि उनीहरुले फ्रेस महसुस गर्न सक्छन्,’ डा. अधिकारीको सुझाव छ ।

बालरोग विशेषज्ञ डा. रिता सिंहले बालबालिकामा मोबाइल तथा कम्युटरको लत छुटाउन उनीहरुबाट खोसेर समाधान नहुने तर्क गर्छिन् । उनले बच्चाले मोबाइल बढी चलायो भनेर खोस्ने र गाली गर्नुभन्दा अरु विकल्पमा ध्यान दिन जरुरी रहेको बताउँछिन् ।

विज्ञका अनुसार मोबाइल बढी चलाउने बानीले गर्दा स्कुलमा उसको शैक्षिक प्रदर्शन राम्रो नहुने, परिवारसित अन्तरक्रिया नगर्ने, एक्लै बस्न रुचाउनेलगायत समस्या लिएर चिकित्सककोमा पुगिरहेका छन् ।

डा. सिंहले सानो बच्चाहरुमा मोबाइलको बढी लतले मानसिक समस्या निम्त्याउन सक्ने बताउँछिन् ।भन्छिन्‚ ‘बच्चाहरु बोल्न ढिलो गर्न सक्छन् किनभने उनीहरु विभिन्न भाषाजस्तै चाइनिज, हिन्दी, अंग्रेजी ,कोरियन आदि भाषाको कार्टुन हेर्छन् । भाषा पिकअप गर्न नसक्ने, कुरा नबुझने भएर जान सक्ने हुन्छ । हुन त २–३ वर्ष नभइ भन्न गाह्रो छ तर सानो बच्चामा अटिजमको जस्तो लक्षण देखाउन सक्छ । धेरै स्क्रिनको प्रयोगले कन्फ्युज पार्ने, एकोहोरो हुने, अरु कुरामा ध्यान नदिने बानीको विकास हुन्छ ।’

त्यसैगरी मोबाइलमै झुन्डिने बानीले ठूला बच्चाहरुमा मोटोपनको समस्या, रिसाउने, झर्किने, एकोहोरो बानी, समाजमा घुलमिल हुन नसक्ने बानीको विकास हुँदै जाने डा. सिंहको भनाइ छ ।

हुन त मोबाइल र कम्प्युटर बालबालिकाहरूलाई सिकाइका माध्यम पनि बनेका छन् । तर कतिसम्म र कसरी प्रयोग गर्न जानिएन भने त्यसले असर पार्न सक्छ । आँखारोग विशेषज्ञ डा. अधिकारी भन्छिन्‚ ‘२ वर्षमाथिका बच्चाहरुलाई दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म गरेर अलि अलि देखाउन सकिन्छ । तर टीभी दूरीका हिसाबले टाढा हुने भएकाले त्यो ठिकै हुन्छ । ठूलो बच्चाहरुको अनलाइन क्लास वा होमवर्क गर्नुपर्ने हुन सक्छ । हरेक २० मिनेटमा आँखा चिम्लेर एक छिन ब्रेक लिने गर्नुपर्छ । ब्रेक लिँदा आँखाको मांसपेशीहरुले आराम गर्न पाउँछन् ।’

अहिले प्रविधिको जमानामा धेरै अभिभावकहरु आफ्नो बच्चालाई मनोरञ्जन दिन र आफ्नोमा काममा दख्खल नदेओस् भनेर बच्चालाई मोबाइलमै नै भुल्न दिन्छन् । स्क्रिनमा उनीहरुलाई भुलाउन त सजिलो एकदम छ तर त्यो स्क्रिनको प्रभाव बच्चाको दिमागमा कस्तो असर पर्छ र बच्चालाई कति स्क्रिन टाइम देखाउनुपर्छ भनेर अभिभावकले सोच्नुपर्ने हुन्छ ।

बालबालिका तथा किशोरकिशोरी मनोरोग विशेषज्ञ डा. अमित झाले मोबाइलको बढी प्रयोगले बच्चाहरुमा ‘भर्चुअल अटिजम’ को लक्षण देखिन सक्ने बताउँछन् । भन्छन्‚ ‘डेढ वर्ष देखि ३ वर्षसम्मको बच्चाले मोबाइल र टिभी धेरै हेरिराखेको छ भने बच्चाहरु एकोहोरो हुने, एक्लै बस्न रुचाउने, राम्रोसँग कुराकानी नगर्ने, दोहोरो कुराकानी नगर्ने, एकै खालको व्यवहार गर्नेलगायत ‘अटिस्टिक फिचर’ आउन सक्छ ।’

मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जान सक्छ । साथै रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्दछ । यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा झन् नमान्ने वा राम्ररी बच्चालाई खानेकुरा छिटो निल्ने पनि हुन सक्दछन् ।

उनले मोबाइल तथा टीभी हेर्ने लत लागेकै कारण ६ देखि ८ वर्षसम्मका बच्चाहरु स्कुल जान नमान्ने समस्या देखिएको छ । त्यसैगरी उनकाअनुसार किशोर किशोरीमा एकदमै धेरै गेम खेल्ने, राम्ररी ननिदाउने, दिनमा सुत्ने, रातिको समयमा गेम खेल्ने, गेम खेल्न पाएन भने रिसाउने, कराउने, चिच्याउने, घरको चिजहरु तोडफोड गर्नेलगायत बानीहरु बढ्दै गरेको देखिन्छ ।

‘बच्चाहरुमा एन्जाइटी, डिप्रेसन, स्कुलमा बुलिङ, पढ्न–लेख्न गाह्रो हुने कारणले पनि मोबाइल चलाएर समय बिताइरहेको पो छ कि भनेर अभिभावकहरूले बुझ्न जरुरी छ,’ डा. झा भन्छन् ।

विज्ञहरुले बच्चाहरु ६ वर्षभन्दा सानो छ भने मोबाइल र टिभीमा एक्सपोज नगराउने सल्लाह दिन्छन् भने ६–१२ वर्षसम्मका बालबालिका छन् भने शैक्षिक कार्यका लागि दिने र मनोरञ्जनका लागि भने जति कम दिँदा त्यति नै राम्रो हुने बताउँछन् । सानालाई ३० मिनेटदेखि १२ वर्षमाथिकालाई डेढ घण्टासम्म दिन सकिने डा. झाको भनाइ छ ।

डा. झाले आफ्नो बच्चाले कस्तो खालको गेम र कन्टेट हेर्दै छ भनेर निगरानी गर्नुपर्ने सुझाउँछन् । भन्छन्‚ ‘बच्चा एक्लै बन्द कोठामा बसेर गेम खेल्दै छ भने विचार गर्नुपर्छ । उसको उमेर उपयुक्त गेम हो कि होइन विचार गर्नुपर्छ ।’ उनले सानै उमेरदेखि टिकटकमा इङ्गेज गराउने, टिकटकमा फिचर गराउने बानी उपयुक्त नरहेको बताउँदै भन्छन्‚ ‘आजको दिनमा अलि अलि हेर्दै जाँदा पछि त्यो कन्टेन्ट बढ्दै जान्छ ।’

उनले जथाभावी मोबाइल तथा इन्टरेन्टको पहुँचले बालबालिकाहरुले सानै उमेरदेखि सेक्सुअल कन्टेन्ट हेर्न पुग्न सक्छन् । बच्चाहरुलाई झन् इन्टरनेटमा जे देख्छन् सबै कुरा साँचो नै हो जस्तो लाग्ने भान पर्न सक्ने उनको भनाइ छ ।

त्यसरी बढी एक्सपोज हुँदा नयाँ–नयाँ चिजको माग गर्ने, एकोहोरो हुने, जिद्दि गर्ने, टीभी मोबाइल पाएन भने एन्जाइटीको लक्षण आउने, स्कुल जान नमान्ने समस्या देखिएको डा. झाको भनाइ छ । त्यसैगरी इन्टरनेटबाट साइबर बुलिङका समस्या पनि पाइएकाले परिवारका सदस्यले कतिसम्म मोबाइल प्रयोग गर्न दिने, कस्तो खालको कन्टेन्टको एक्सपोजर गराउने भन्ने कुरामा ध्यान दिनुपर्ने डा. झाको सुझाव छ ।

बालरोग विशेषज्ञ डा. सिंहले बच्चाहरुलाई खेलकुद, शारीरिक क्रियाकलापमा लगाउन, गफ गर्न, कथा भनेर मोबाइल हेर्नबाट भुलाउने बानी अभिभावकले आफ्नो बानी सुधार्नुपर्ने बताउँछिन् । भन्छिन्‚ ‘मोबाइल हेर्नुहुँदैन भनेर रोकेर हुँदैन । किनभने उसलाई बानी लागिसकेको हुन्छ ।बच्चालाई पारिवारिक समय दिनुपर्छ ।कहिलेकाहीँ छरछिमेक तथा नातेदाकोमा पनि लैजानुपर्छ । सामाजिक मूल्यमान्यता सिकाउनुपर्छ । समाजमा घुलमिल हुन सिकाउनुपर्छ । यस्तो अप्रत्यक्ष क्रियाकलापले पनि स्क्रिन टाइमको प्रयोग गर्न कम गर्छ ।

यस्ता छन् मोबाइलको लत छुटाउने विज्ञहरूका सुझाव

- अभिभावकहरुले कामको व्यस्तता भए पनि थोरै समय बच्चालाई दिनुपर्छ । आफ्नो बच्चासित समय बिताउनुपर्छ । जस्तैः कथा सुनाउने, सफा गर्न सिकाउने, खाना बनाउन, गार्डेनिङलगायतका क्रियाकलापले गर्दा उनीहरु मोबाइलमा धेरै समय बिताउन पाउँदैनन् । उनीहरूको इच्छा बुझेर गीत गाउन, गीत सुन्न, बाजा बजाउन, पढ्न, चित्र कोर्न आदिमा संलग्न गराउनुपर्छ । उनीहरूसित प्रत्यक्ष कुराकानी गर्नुपर्छ । सक्रिय राखिराख्नुपर्छ ।

- खाना खुवाउँदा अभिभावकले बच्चाहरुसँग कुराकानी गरेर, डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउनुपर्छ । मोबाइल देखाएर अभिभावकले बालबालिकालाई खाना खुवाउनुहुँदैन ।मोबाइल हेदै खाँदा खाना खुवाउनाले आफूले के र कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर भेउ पाउन सक्दैनन्‚ जसले गर्दा पोषणसम्बन्धित समस्यासँगै पाचन प्रणालीमा पनि समस्या हुन सक्छ ।

- अभिभावकहरुले स्क्रिन टाइमका लागि एउटा नियम वा तालिका नै बनाउन सक्छन्‚ जसले गर्दा बच्चाहरुमा पनि कति बेला फोन चलाउने वा नचलाउने भनेर बानी बस्दै जान्छ । आफैंले पनि बच्चाहरुसँग भएको बेला कम मोबाइल चलाउनुपर्छ ।

- खाना खाने बेला मोबाइल नचलाउने, सुत्नुअघि टीभी र मोबाइल नहेर्ने बानी आफू र बच्चालाई पनि लागू गराउनुपर्छ । बच्चाहरुले माग्दैमा दिइहाल्ने बानी बसाल्नुहुन्न । सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्यालोले निद्रा नलाग्ने तथा हार्मोन उत्सर्जनमा समस्या हुने पाइएको छ ।

- बच्चाहरूलाई खेल्ने समय छुट्याइदिनुपर्छ । खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य दुवैलाई राम्रो गर्छ । शारीरिक क्रियाकलापमा सक्रिय रहँदा ऊर्जा खपत त हुन्छ नै साथीभाइसँग खेल्दा नयाँ कुरा सिक्न र घुलमिल हुन सक्छन् ।

प्रकाशित : भाद्र १५, २०८० १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी स्थापनाकालदेखि निरन्तर अध्यक्ष रहेका जसपा नेपालका उपेन्द्र यादव महाधिवेशनबाट फेरि आफैं नेतृत्वमा आएका छन् । पटक-पटक एउटै व्यक्ति नेतृत्वमा रहिरहनुलाई के भन्नुहुन्छ ?