कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'समयमै कलेजो प्रत्यारोपण भए स्वस्थ जीवन बाँच्न सकिने'

काठमाडौँ — विज्ञहरुले समयमै कलेजो प्रत्यारोपण गराएका धेरैजसो सामान्य र स्वस्थ रुपमा बाँच्न सकिने बताएका छन् । भारतको नयाँदिल्लीस्थित बीएलके म्याक्स सुपर स्पेसियालिटी हस्पिटलद्वारा राजधानीमा आयोजित कलेजो प्रत्यारोपणमा आधुनिक प्रविधि उपयोगबारे एक दिने निरन्तर चिकित्सा शिक्षा (सीएमइ)मा विज्ञहरूले उक्त धारणा राखेका हुन् ।

‘कलेजो प्रत्यारोपण गराएका धेरैले पुनः ऊर्जावान् महसुस गर्छन् र उनीहरूको जीवनको गुणस्तरमात्र सुध्रिएको हुँदैन, ती व्यक्तिहरू एक फटक फेरि दैनिक गतिविधिको स्वस्थ व्यक्तिझैं आनन्द लिइरहेका हुन्छन्’, बीएलके म्याक्स इन्स्टिच्युट फर डाइजेस्टिभ एण्ड लिभर डिजीज, नयाँ दिल्लीका एचपीवी सर्जरी र लिभर ट्रान्सप्लान्ट वरिष्ठ निर्देशक डा.अभिदिप चौधरीले भने । उनले कलेजो प्रत्यारोपण गराएकाहरूले निको भएपछि सामान्य व्यायाममा भाग लिन सक्षम हुनेसमेत उल्लेख गरे । उनका अनुसार कलेजो प्रत्यारोपण गराएका महिला गर्भधारण गर्न पनि सक्षम हुने गरेका छन् ।

वर्षमा एकचोटि शारीरिक परीक्षण र कलेजोसम्बन्धी सामान्य समस्या देखिए तुरुन्त चिकित्सकीय जाँचले प्रत्यारोपणको अवस्था टार्न सक्ने भएकोले आमव्यक्ति जागरूक हुनु पर्ने डा.चौधरीको भनाइ छ । सीएमइमा राजधानीमा कार्यरत ग्यास्ट्रोइन्टरोलोजिस्ट (पेट र आन्द्रासम्बन्धी रोग विशेषज्ञ), हेमाटोलजिस्ट, कलेजो प्रत्यारोपण विज्ञलगायतको सहभागिता थियो ।

यस्तै एचपीवी सर्जरी र लिभर ट्रान्सप्लान्टेसन एनेस्थेसिया एण्ड क्रिटिकल केयरका वरिष्ठ कन्सलटेन्ट डा.विनोदसिंह चौधरीले कलेजो प्रत्यारोपण एवं प्रत्यारोपणपछिको प्रक्रियाबारे विस्तृत जानकारी दिएका थिए । सीएमइमा चिकित्सकहरूले नेपालमा गरिने कलेजो प्रत्यारोपण एवं यसमा उपयोग गरिने प्रक्रियाको प्रभावकारिताबारे समेत चासो राखेका थिए ।

सीएमइमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालस्थित लिभर युनिटका प्रा.डा. सुधान्सु केसीले मोडरेटरको भूमिका निर्वाह गरेका थिए । नेपालमा कलेजो प्रत्यारोपणको वार्षिक माग करिब एक हजार छ । हालसम्म मुलुककै स्वास्थ्य संस्थामा करिब २० जनाको कलेजो प्रत्यारोपण भएको छ ।

प्रकाशित : जेष्ठ १४, २०८० १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?