‘वार्षिक करिब ३ सयलाई कलेजो प्रत्यारोपण आवश्यक पर्छ तर अस्पताल आउँदैनन्’

कलेजो प्रत्यारोपण गर्ने बिरामीको पर्खाइमा छौँ –डा रमेशसिंह भण्डारी, शिक्षण अस्पताल
बुनु थारु

काठमाडौँ — यही वैशाख ५ गते बुटवल उपमहानगरपालिका वडा नं १३ रुपन्देहीका ३१ वर्षीय लोकबहादुर थापालाई ३० वर्षीया श्रीमती खीमकुमारी थापाले कलेजो दान गरिन् । करिब दुई वर्षअघि कलेजोको समस्याले थलिएका उनलाई कलेजोको क्यान्सर पनि थियो । नेपाल तथा तथा भारतका विभिन्न अस्पतालमा लाखौँ खर्चिएका उनीहरुले अन्ततः प्रत्यारोपण नेपालमै गर्ने निधो गरे ।

‘वार्षिक करिब ३ सयलाई कलेजो प्रत्यारोपण आवश्यक पर्छ तर अस्पताल आउँदैनन्’

‘हामीले उपचारका लागि विभिन्न ठाउँमा गयौँ । शिक्षण अस्पतालमा पनि कलेजो प्रत्यारोपण हुन्छ भन्ने थाहा पाएपछि यही गर्‍यौं । स्वदेशमै गर्दा भाषा तथा अरु डकुमेन्ट बुझाउन पनि सजिलो हुने रहेछ । अहिले छोराको अवस्था राम्रो हुँदै गइरहेको छ,' बुवा बलबहादुर थापा बताउँछन् । शिक्षण अस्पतालमै पनि राम्रो चिकित्सक भएको र पहिला पनि धेरै जनाको प्रत्यारोपण गरिसकेको हुनाले नेपालमै गरेको थापाको भनाइ छ ।

तस्बिर : त्रिवि शिक्षण अस्पतालकाे १० औँ कलेजाे प्रत्याराेपणपछि प्रत्यराेपित बिरामी र चिकित्सकहरु । फाेटाे : डा. रमेशसि‌ंह भण्डारीकाे फेसबुकबाट ।

यो प्रत्यारोपणसँगै त्रिवि शिक्षण अस्पतालमा १० औँ कलेजो प्रत्यारोपण भइसकेको छ । कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले कलेजो प्रत्यारोपण गरिरहेको छ । अस्पतालमा २०७६ जेठ १८ मा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । प्रत्यारोपण सुरु भएको पहिलो वर्ष ४ वटा कलेजो प्रत्यारोपण भए ।त्यसपछि कोभिडले प्रत्यारोपण हुन पाएन । कोभिड साम्य भएपछि भने प्रत्यारोपण निरन्तर नै छ ।

डा. भण्डारी प्रत्यारोपणले निरन्तरता पाए पनि सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘उपचार खर्चको भार, दान गर्ने व्यक्ति तयार रहँदा म्याच नहुने, म्याच भए पनि पैसा नपुग्ने र कानुनी कारणले पनि नमिल्ने हुन्छन् ।’ हाल शिक्षण अस्पतालमा २ जनाले प्रत्यारोपणको लागि पालो कुरिरहेका छन् । ‘हामीले गरेको अनुमान अनुसार त बिरामी बढी हुनुपर्ने हो तर आएका छैनन् । बिरामी बढी भएर झन् वेटिङ लिस्ट त लामो हुनुपर्ने हो त्यो छैन,’ डा. भण्डारी भन्छन् ।

चिकित्सकका अनुसार समस्या लिएर आउनेजति सबै जनामा प्रत्यारोपण आवश्यक पर्दैन। यकिन तथ्यांक नभए पनि वार्षिक कम्तीमा १ हजार जनाको कलेजो फेल हुने अनुमान गरिन्छ । जसमा २०० देखि ३०० जनाको प्रत्यारोपण आवश्यक छ । नेपालमा अधिकांशमा रक्सी सेवन, हेपटाइटिस बी, सी, फ्याटी लिभर आदि कारणले कलेजो बिग्रिने गरेको चिकित्सकहरु बताउँछन् । कलेजोको समस्या जुनसुकै उमेरलाई पनि हुने सक्ने उनीहरुको भनाइ छ ।

डा. भण्डारीले वार्षिक ४० देखि ५० जना कलेजो प्रत्यारोपणका लागि बाहिर गइरहेका बताउँछन् । एकदम जटिल खालका केही प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई भने बाहिर नै ठूलो सेन्टरमा गराउनु भनेर रेफर गरेको डा. भण्डारी बताउँछन् । धेरैजसो बिरामीहरुको रोजाइ भारत हुने गर्छ । सरकारी अस्पतालमै कलेजो प्रत्यारोपण खर्च २५ देखि ३५ लाखसम्म छ जुन आम नेपालीका लागि ठूलो रकम हो । कलेजो प्रत्यारोपण निकै जटिल तथा खर्चिलो शल्यक्रिया मानिन्छ । मिर्गौला प्रत्यारोपणका लागि सरकारले सहुलियत दिए पनि कलेजो प्रत्यारोपणको हकमा छैन । डा. भण्डारीले भविष्यमा सरकारले कलेजो प्रत्यारोपणमा पनि केही सहुलियत दिए बिरामीलाई अलिकति भए पनि राहत हुने विश्वास व्यक्त गर्छन् । प्रत्यारोपणपछि पनि बिरामीलाई ५ –६ महिना मासिक ३० देखि ४० हजार औषधिमा खर्च हुन्छ । पछि वार्षिक रुपमा औषधि घट्दै जान्छ ।

हालसम्मका प्रत्यारोपणमा सहयोग गर्न भारतीय चिकित्सकहरु आउने गरेका छन् । डा. भण्डारी शल्यक्रिया गर्दा थप राम्रो किन नहोस् भनेर बोलाउने गरेको बताउँछन् । भन्छन्, ‘हामीले गर्न नसक्ने होइन । थप बल पुगोस् भनेर मात्र हो ।सबै प्रत्यारोपण उस्तै हुँदैनन् केही जटिल पनि हुन सक्छन् । जटिल खालमा सहयोग माग्ने हो ।’

नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले सुरु गरेको थियो । हालसम्म केन्द्रसहित, शिक्षण अस्पताल र चितवन मेडिकल कलेज सीएमसीले प्रत्यारोपणका लागि अनुमति पाएका छन् । नेपालमा मिर्गौला प्रत्यारोपण स्थापित भइसके पनि कलेजो प्रत्यारोपणको सेवाले भने गति लिन सकेको छैन ।

‘अहिलेसम्म आइपुग्दा हामीले गरेको कलेजो प्रत्यारोपणमा दिने मान्छेमा शून्य प्रतिशत जटिलता देखिएको छैन । लिने मान्छेमा एक जना बाहेक सबै सफल रहेको छ,' डा. भण्डारी दाबी गर्छन्, ‘यो स्टेजमा आइसकेपछि अब आत्मविश्वासी र अनुभवी भइसकेका छौँ । महिनामा एउटा गर्न कुनै पनि समस्या छैन । सबै पूर्वाधार पनि छ । महिनामा एउटा हुन थाल्यो भने दुईवटा गर्नुपर्ने आउन सक्छ । त्यसपछि जनशक्ति तथा पूर्वाधार थप्नुपर्ने हुन सक्छ । ’

उनले अपेक्षाअनुसार प्रत्यारोपण सेवा अगाडि बढाउन नसकेको भन्दै नेपालमै सरकारी अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश नै पुग्न नसकेको दुःखेसो पोखे । भन्छन्–‘हामीसँग सबै सेटअप छ । विशेषज्ञ चिकित्सक छन् । १० जनाको सफल प्रत्यारोपण गरिसक्यौँ तर पनि अझै विश्वस्त गराउन सकेका छैनौँ । डा. भण्डारीले निकट भविष्यमा अंगदानबाट पनि कलेजो प्रत्यारोपण गर्ने योजना रहेको सुनाए । उनले भने, ‘सबै ब्रेन डेथबाट मृत्यु भएकाको कलेजो प्रत्यारोपण गर्न मिल्छ भन्ने हुन्न तर जीवित डोनरभन्दा जोखिम कम हुन्छ । प्रत्यारोपणको संख्या पनि बढ्ने थियो ।’

प्रकाशित : जेष्ठ ३, २०८० २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?