खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते दिइने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप दिने भएको छ । बृहत् ‘खोज र खोप’ अभियानअन्तर्गत सरकारले वैशाख १५ गते पनि यो अभियान सञ्चालन गरेको थियो । यो खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकाहरुलाई नियमित खोप दिन लागिएको हो । 

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा अभियान गौतमले छुटेका बच्चाहरुलाई पहिचान गरी खोप दिने अभियान सञ्चालन गरेकाे जनाए । उनले भने, ‘कोभिड-१९ भन्दा पनि धेरै संक्रामक रोगकाविरुद्ध खोप दिइराखेको हो । विभिन्न कारणले खोप लगाउन बच्चाहरु छुटेका छन् । खोप नलगाउँदा के परिणाम हुन्छ भनेर त दादुरा महामारीले देखाइसकेको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा गई आ–आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन र छरछिमेकमा कसैले खोप लगाउन छुटेका छन् कि बुझेर समन्वय गर्न अनुरोध गरेको छ ।

प्रकाशित : वैशाख २९, २०८० १८:२९
प्रतिक्रिया
पठाउनुहोस्

नारायणगढ-बुटवल सडक ‍दिउँसै अन्धकार !

नवीन पौडेल

परासी — ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गरेको भए, अहिले नारायणगढ-बुटवल सडक खण्ड चिल्लो र हरियाली हुने थियो । बुटवलदेखि नारायणढसम्मको १ सय १४ किलोमिटर सडक दुई घण्टामा सरर पुगिने थियो । तर, पहिलोपटक थपिएको म्याद सकिँन लाग्दासम्म काम नसकिएपछि दिउँसो नै बत्ति बाल्नुपर्ने र सडकमा धुलोले हिँडिनसक्नु सास्ती छ ।

विशेष गरेर दाउन्ने खण्डको सडकमा सवारी र यात्रुले वर्षौंदेखि खेपेको सास्ती शब्दमा बयान गर्न सकिँदैन । मास्क र हेलमेट लगाउँदा पनि धुलोले श्वास लिन अप्ठ्यारो हुने र साना सवारी चिप्लिने समस्याले हैरानी बनाएको बर्दघाट-४ का सरोज लम्सालले गुनासो गरे ।

मोटरसाइकलमा हिँड्ने मानिसहरु नचिनिने अवस्था छ । सडक निर्माणले गति नलिएको र धुलोले आजित भएको भन्दै स्थानीयले आन्दोलन गरेपछि पानी ठेकेदार कम्पनीले पानी हाल्ने काम गरे पनि बस्ती नभएको स्थानमा पानी नहाल्दा समस्या छ । मुलुककै सबैभन्दा लामो राजमार्गको रुपमा चिनिने यो सडक खण्डमा यात्रा गर्न कोही खोज्दैनन् । तर, बाध्यताले अत्यावश्यक कामले यात्रा गर्दासमेत भोग्नु पर्ने सास्तीले स्थानीय आजित छन् । सडक वरपरका पसलमा धुलो पसेर सामान बिग्रने तथा पसल खोल्न नै नसकिने अवस्था छ ।

चाइना स्टेटको तर्फबाट पश्चिम सेक्टरका कन्ट्याक म्यानेजर जोयु हेयुले केही समस्या भए पनि आगामी डेढ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । बुटवल-नारायणगढ सडक विस्तारको काम २०७८ साउन २२ गते पहिलो पटक म्याद सकिएको थियो । थप भएको म्याद २०८० साउनमा सकिँदै छ । अहिलेसम्म करिब ३८ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गैंडाकोटदेखि बुटवलसम्मको ११४ किलोमिटर लामो सडकको स्तरोन्नतीका लागि चाईना कन्स्टक्सनलाई दुई खण्डमा करिब १९ अर्ब रुपैयाँको लागतमा ठेक्का चार वर्ष अघि दिइएको थियो ।


प्रकाशित : वैशाख २९, २०८० १८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×