काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्ने बताएका छन् । 'नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराध कार्यमा संलग्न कसैलाई पनि सरकारले छोड्नु हुँदैन । यो गम्भीर अपराध हो, गठबन्धनभित्र र बाहिर जोसुकैलाई पनि कारबाही हुन्छ,' उनको भनाइ थियो ।
संवाद डबलीले शनिबार आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता रहेका महराले सरकार जनतासँग गरेको प्रतिबद्धताअनुरुप अघि बढिरहेको बताए । उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याजपीडितलाई न्याय दिने कुरामा सरकार अडिग रहेको बताए ।
इतिहासमै पहिलोपटक शैक्षिक सत्र सुरु हुनुपहिले नै पाठ्यापुस्तक विद्यालयमा पुर्याउनसहितका कार्यले सरकारसँग जनताको आशा बढेको बताए ।
महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग स्पष्ट बहुमत हरेको बताएका छन् । सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आए पनि स्पष्ट बहुमत पुग्ने उनको विश्वास थियो । 'राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरिसकेको छ तर औपचारिकरुपमा सरकारलाई जानकारी दिएको छैन । निर्णय गरेपछि औपचारिकरुपमा जानकारी गराउँछ होला नै । सरकारसँग स्पष्ट बहुमत छ । रास्वापाले फिर्ता लिँदैमा सरकारमाथि प्रश्न उठ्ने अवस्था छैन,' महराले भने ।
माओवादी केन्द्रसहित ६ वटा पार्टीबीच समाजवादी मोर्चा बनाउने भन्ने विषयमा छलफल जारी रहेको महराले जानकारी दिए ।
कार्यक्रममा अभिनेता तथा चलचित्र निर्माता नवल खड्काले सरकारले भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउन हिम्मत गरेको बताउँदै त्यसबाट पछि नहट्न सुझाव दिए । खड्काले ओम्नी, ७० करोड, ३३ किलो सुन, ट्यांकी, बाइडबडीजस्ता काण्डको फाइल पनि खोल्न सरकारलाई सुझाव दिए ।
प्रकाशित : वैशाख २३, २०८० १६:२५