कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

के डेंगीले यो वर्ष महामारीको रुप लिन्छ ?

यो देशभर प्रकोप देखिन नसक्ने भए पनि पकेट एरियामा आउटब्रेक देखिनसक्छ : डा. पुन
बुनु थारु

काठमाडौँ — गर्मी बढेसँगै डेंगीका केसहरु पुन: देखिन थालेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जनवरी १ देखि अप्रिल १७ सम्म ५२ जिल्लामा ५०१ डेंगीका केसहरू रिपोर्टेड भएका छन् ।

के डेंगीले यो वर्ष महामारीको रुप लिन्छ ?

कोशी प्रदेशमा ४१, वाग्मती प्रदेशमा १४३, गण्डकी प्रदेशमा ४०, लुम्बिनी प्रदेशमा ५६, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा २१० केसहरु देखिएको छ ।

ईडीसीडीको तथ्यांक हेर्ने हो भने गत वर्ष मंसिरसम्म डेंगीका धेरै केसहरु थिए । पुस र माघमा केसहरु घटे पनि शून्य संख्या भने नदेखिएको ईडीसीडीको भनाइ छ । प्राय: जाडो महिनामा डेंगीका केसहरु घट्ने आंकलन गरिन्छ । जाडो मौसममा चिसो तापक्रममा लामखुट्टेको ब्रिडिंङ हुन नसक्दा केस घट्ने हुन्छ । ईडीसीडीका भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा. गोकर्ण दाहालले केसहरु विभिन्न जिल्लाबाट आएसँगै नियन्त्रणका लागि तयारी सुरु भइसकेको दाबी गर्छन् । उनले भने, ‘हामीले पुस १५ देखि नै विभिन्न जिल्लाका केसहरु हेरिराखेका छौं । केस बढी देखिएका जिल्लाहरु समन्वय भइराखेको छ ।’

उनले कतिपय जिल्लामा डेंगी परीक्षणको विधि फरक हुँदा पुरानो केसहरु पनि रिपोर्टेड भएको बताए । दार्चुलामा डेंगीका १७० वटा केसहरु देखिएको छ । डा दाहाल भन्छन्, ‘दार्चुलाको केस हेर्दा त्यहाँ ‘आइजीजी एन्ड आइजिएम एन्टिबडी) टेस्ट गरिएको छ जसमा महिनौंसम्म पनि पोजिटिभ देखाउँछ । यो केसहरु अहिलेको होइन ।’ उनका अनुसार एकपटक डेंगी भइसकेपछि एन्टिबडी बन्छ । कसैलाई संक्रमण भए पनि लक्षण नदेखिन सक्छ तर पनि एन्टीबडी बनेको हुन्छ । उनले केही जिल्लामा पनि यस्तो विधिबाट परीक्षण भएको बताउँछन् । डेंगी परीक्षणका लागि पीसीआर, आईजीजी एन्ड आइजिएम एन्टिबडी टेस्ट, ‘एनएस वान’ एन्टिजेन टेस्ट आदि विधिहरु रहेका छन् । ईडीसीडीले माग गरेअनुसार परीक्षण गर्ने किट वितरण गर्ने जनाएको छ ।

बर्खायाम सुरु नहुँदै देखिएको डेंगीले यो वर्षमा पनि प्रकोप दोहोरिने त होइन भन्ने चिन्ता धेरैले व्यक्त गरिरहेका छन् । सन् २०२२ मा हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भयो । डेंगी संक्रमणमा समयमा नै एक्सन नलिँदा अघिल्लो वर्ष सरकारको आलोचना भएको थियो । डा दाहालले डेंगीको केसहरु धेरै बढ्नुभन्दा पहिला नै यसमा तदारुकता देखाउन सबै पालिकालाई पत्राचार भइसकेको जानकारी गराए । भन्छन्, ‘केस अहिले कम नै छ । तर सचेत रहन पालिकालाई चिठी पठाइसकेका छौं । जिल्ला र प्रदेशसँग पनि समन्वय भएको छ ।आमनागरिकले पनि रोकथामको लागि आफ्नो ठाउँबाट हेर्नुपर्छ ।’

सन् २०२२ मा प्रकोप देखिनुअघि सन् २०१९ मा ६८ जिल्लामा फैलिएको डेंगीको प्रकोपले १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगीका सबैभन्दा धेरै केस पुष्टि भएका थिए । सबैभन्दा धेरै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगी पुष्टि भएको थियो जसले महामारीको रूप लिएको थियो । त्यतिबेला ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो । इतिहास हेर्ने हो भने २–३ वर्षको अन्तरालमा डेंगीले प्रकोपको रुप लिने गर्दछ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यो वर्ष पनि डेंगीको प्रकोप लिन सक्ने सम्भावना कम रहे पनि केही पकेट एरियामा भने आउटब्रेक हुन सक्ने देख्छन् । भन्छन्, ‘लामखुट्टे बढी भएको ठाउँलाई पकेट एरिया मानौं । विगतका अनुभव र अनुसन्धानलाई आधारमान्दा समान्यतया २ देखि ३ वर्षको अन्तरालमा ठूलो आउटब्रेक हुने देखिएको छ तर कुनै पकेट एरियामा बर्सेनि देखिँदै आएको छ । त्यसैले त्यस्तो क्षेत्रमा सतर्क रहनुपर्छ ।’ उनले हरेक वर्ष डेंगी नियन्त्रणमा सरकारमा चुकेको बताउँदै लार्भा स्टेजमै नष्ट गरिएन भने लामखुट्टे वयस्क हुँदै गएपछि लखेटेर मार्न सम्भव नभएको बताउँछन् ।

विज्ञहरुका अनुसार डेंगी परीक्षणमा सेरोटाइप छुट्याउन पनि आवश्यक छ । डा पुन भन्छन्, ‘डेंगीको परीक्षण गर्दा सेरोटाइप छुट्याउने खालको हुनुपर्छ ।सेरोटाइप पत्ता लगाएर त्यसको सम्भावित जोखिम र योजना बनाउनु पर्छ । त्यहीअनुसार मानिसहरुलाई सतर्कता अपनाउन भन्नुपर्छ ।’

डेंगीको एउटा सेरोटाइप देखिएमा त्यसबाट बन्ने एन्टिबडीले अर्को सेरोटाइपको डेंगीले काम गर्न सक्दैन । डेंगीका ४ सेरोटाइप छन् ।सेरोटाइप सिफ्ट भएकाले अघिल्लो वर्ष बढी जटिलता र मृत्यु भएको आंकलन विज्ञहरुले गरेका थिए । सेरोटाइप सिफ्ट हुनेबित्तिकै लक्षण कडा हुने र मृत्युको सम्भावना बढेर जाने हुन सक्छ । सन् २०१९ मा सेरोटाइप १ र २ देखिएको थियो भने २०२२ मा सेरोटाइप १ र ३ बढी हाबी भएको देखिएको थियो ।

समयमै खोज र नष्ट अभियान सञ्चालन गर्न नसक्दा डेंगीले अघिल्लो वर्ष भयावह रुप नै लियो । डेंगी नियन्त्रणमा समयमै सरकारले तदारुकता नदेखाउँदा हजारौंको संख्यामा डेंगीबाट संक्रमित भए । ईडीसीडीका दाहालले अघिल्लो वर्षको तुलनामा केसहरु कम हुन सक्ने आंकलन गर्न सकिने भए पनि केसहरु बढ्ने नै होइन भन्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘इतिहास हेर्ने हो भने यो वर्ष केसहरु कम देखिन सक्छ तर वैज्ञानिक आधार छैन । गत वर्ष १० वटा जिल्लामा बढी केस देखिएका थिए । यो वर्ष अरु जिल्लामा बढी देखिन सक्ला । यसमा हामी सचेत छौं ।’ जलवायु परिवर्तन, तापक्रम, ह्युमिडिटी, लामखुट्टेको आनीबानी, यातायातको सुविधा, जनसंख्याको ओहोरदोहोरलगायत थुप्रै कारणले डेंगीको केसहरु बढेको बताए ।

संक्रामक रोग विशेषज्ञ डा पुनले डेंगी नियन्त्रणमा गम्भीर रुपमा लागिपर्ने हो भने केसहरु निकै घट्न सक्ने बताउँछन् । भन्छन्, ‘ केसमात्र गनिन्छ तर नियन्त्रण गर्ने योजनामा सोचिएको देखिँदैन । सचेतना कार्यक्रम गर्नुपर्छ । घरबाहिर पानी जम्ने ड्रम, टायरको मात्र होइन कि घरभित्र पनि गमलामा पनि लार्भा हुन सक्छन् । नष्ट गर्नुपर्छ ।’ कौसी खेतीमा पानी लामो समयसम्म नियमित नहेर्ने हो भने लार्भा त्यहाँ भइरहेको हुन्छ ।

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो । एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरु हुन् ।

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले डेंगुबाट बच्न सकिन्छ ।

प्रकाशित : वैशाख ६, २०८० २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?