२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

फ्लू र ओमिक्रोनको संक्रमण सँगसँगै

नेपालमा पछिल्लो केही दिनदेखि फ्लू र ओमिक्रोन भाइरसहरु एकैसाथ सक्रिय रहँदै गर्दा यसको जोखिम पनि बढ्दै गइरहेको देखिन्छ । यी दुई भाइरसका लक्षण तथा सर्ने तरिकामा समानता देखिए पनि उपचार तथा परामर्श भने फरक हुने गर्दछ ।

लक्षण र सर्ने तरिका मिल्दो जुल्दो तर दुई फरक भाइरस हाल नेपालमा सक्रिय र फैलँदो छ । पछिल्ला केही दिन यता कोरोनाको ओमिक्रोन (सब–भेरिएन्टहरु) बढ्दै गइरहेको छ भने फ्लू भाइरस पनि केही साता यता सक्रिय रहेको छ ।

फ्लू र ओमिक्रोनको संक्रमण सँगसँगै

फ्लू र कोरोना भाइरस एकैसाथ देखिए लक्षण कडा देखिन सक्ने अनुमान वैज्ञानिकहरुले गर्दै आएका छन् । दुई भाइरस सँगसँगै सक्रिय देखिएको अवस्थालाई 'ट्वीनडेमिक' पनि भनियो । तर कोभिड–१९ को सुरुवाती लहरहरुमा फ्लू भाइरसको सक्रियता खासै देखिएको थिएन । तर केही हप्तादेखि फ्लू भाइरस बढ्दै जाँदा ओमिक्रोनको नयाँ भाइरसहरुले पनि सक्रियता बढाउँदै गैइरहेको तथ्यांकले देखाउँदछ ।

फ्लू र ओमिक्रोन दुई भाइरस हाल नेपालमा सँगसँगै देखिएकाले एकै व्यक्तिलाई दुई भाइरसले संक्रमण गर्नसक्ने पनि हुनसक्छ । दुई भाइरसले एकैजनालाई संक्रमण गर्न सक्ने विभिन्न अनुसन्धानहरुले देखाइसकेका छन् ।

नेपालमा फ्लू भाइरस विशेषत फागुन–वैशाख र भाद्र–असोज गरी वर्षमा दुई पटक बढी सक्रिय हुने गर्दछ ।फ्लू भाइरस बेला बेलामा प्यानडेमिकको रुपमा विश्वभरि फैलिने गरेको इतिहास पनि छन् । कोभिड–१९ भन्दा अगाडी फ्लू 'ए' अन्तर्गतको स्वाइन फ्लूको नामले चर्चित 'एचवानएनवान पीडीएम ०९' भाइरस सन् २००९ मा प्यानडेमिक घोषित भएको थियो । सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार विश्वभरी अनुमानित डेढ देखि साढे पाँच लाखको हाराहारीमा यो भाइरसको संक्रमणबाट मृत्यु गराएको हुनसक्ने विश्लेषण गरेको थियो ।

उल्लेखनीय के थियो भने यो भाइरसबाट ८० प्रतिशत मृत्यु भएकाहरु ६५ वर्ष भन्दा कम उमेरका थिए अर्थात् अर्को शब्दमा भन्नु पर्दा युवाहरुको बढी मृत्यु भएको थियो । यस्तै अवस्था कोरोनाको डेल्टा भेरिएन्तले उत्पन्न गरेको दोश्रो लहरमा पनि देखिएको थियो । सामान्यतया यी दुवै भाइरसमा जोखिम समूहमा जेष्ठ नागरिक वा ६०–६५ वर्ष भन्दा माथिकालाई मानिने गरिन्छ । नेपालमा बर्सेनि फ्लू भाइरस सक्रिय हुने गरेतापनि यसको कारणले कुन उमेर समुह, कस्तो स्वास्थ अवस्था भएका र संक्रमित मध्य कति प्रतिशतमा जटिलता देखिन्छ र मृत्यु हुन्छ भन्ने यकिन तथ्यांक भने छैन ।

यद्यपी नेपालमा निमोनियाको कारणले वर्षेनी सयाैंको मृत्यु हुने गरेको अस्पताल तथ्यांकमा देखिन्छ । निमोनिया फ्लूबाट हुने जटिलताहरु मध्यमा प्रमुख मानिन्छ । सीडीसीका अनुसार अमेरिकामा सन् २०२१–२०२२ मा लगभग पाँच हजार जनाको मृत्यु फ्लू संक्रमणको जटिलताबाट भएको अनुमानित तथ्यांक छ।

ज्वरोसँगै जाडो हुनु, घाँटी दुख्नु, खोकी लाग्नु, जीउ र मांशपेशी दुख्नु, थकित हुनु, नाकबाट पानी बग्नु फ्लूका मुख्य लक्षणहरु मानिन्छ । फ्लूका ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारहरु छन् । यसमा विशेषत फ्लू ‘ए’ र ‘बी’ भाइरसले मानिसलाई बढी बिरामी गराउने र हरेक मौसममा सँगसँगै देखिने गरेको पनि पाइन्छ । फ्लू ‘ए’ अन्तर्गत विशेषत 'एचवानएनवान पीडीएम ०९' र 'एचथ्रिएन टु' नेपालमा पछिल्लो केही वर्षदेखि निरन्तर देखिँदै आइरहेका छन् । सन् २०२३ सुरु भए लगतै 'एचथ्रिएन टु' बढी संक्रामक देखिएको छ । भारतमा पनि हाल यो बढी फैलिएको र केहीको मृत्यु समेत भैसकेको देखिन्छ ।

फ्लू ‘ए’ अन्तर्गत ‘एच ५ एन १’ बर्ड फ्लूले नेपालमा सन् २०१९ मा एक २१ वर्षीय युवाको मृत्यु भएको थियो । तर नेपालमा यो भाइरसले निरन्तर पंक्षीमा प्रकोपको रुप लिने गरेको र कृषकमा सतर्कताको कमी देखिँदा भविष्यमा बर्ड फ्लू संक्रमण मानिसमा नसर्ला र फेरि समस्या नदेखिएला भन्न भने सकिँदैन।

कोरोना र फ्लू भाइरसले एकै साथ संक्रमण गर्दा हुने स्वास्थ अवस्थाको बारेमा अनुसन्धानहरु विभिन्न देशहरूमा भएको पाइन्छ तर नतिजा भने एकै देखिँदैन । केही अनुसन्धानले एकल कोरोना संक्रमणभन्दा फ्लूबाट पनि संक्रमित भएको अवस्थामा बिरामी बढी गम्भीर हुने नतिजा देखाएका छन् भने केहिले यो नतिजाको ठीकविपरीत नतिजा प्रकाशित गरेका पनि छन् ।

बेलायतमा गरेको एक अनुसन्धान मेडिकल जर्नल ‘द ल्यान्सेट’ (सन् २०२२ मा प्रकाशित) लेखमा एकल कोरोनाभन्दा फ्लू भाइरस पनि संक्रमित भएको अवस्थामा बिरामीको स्वास्थ्यमा बढी जटिलता हुने निष्कर्ष निकालेको थियो । त्यस्तै सन् २०२२ को डिसेम्बर महिनामा 'मोर्बिडिटी एण्ड मोर्टालिटी विक्ली रिपोर्ट'मा प्रकशित अनुसन्धानमा पनि यी दुई भाइरस संक्रमित भएका १८ वर्ष मुनिका बालबालिकामा रोग कडा देखिएको नतिजा देखाएको थियो । तर अमेरिकाको 'मेयो क्लिनिक' मा गरिएको अनुसन्धान र 'पीएनएएस' जर्नलमा (जुलाई २०२२ मा प्रकाशित) लेखका अनुसार भने दुई भाइरस संक्रमित हुँदा बिरामीमा एकल भाइरसमा भन्दा बढी स्वास्थ समस्या नदेखिएको दाबी छ ।

यद्यपि रुघाखोकीका लक्षणहरू भने एकलभन्दा बढी दुई भाइरस संक्रमितहरुमा बढी देखिएको भनिएको छ । समग्रमा हेर्दा दुई भाइरसले एकैसाथ संक्रमण गर्दा बढी दु:ख दिनसक्ने निर्क्योल भने निकाल्न सकिन्छ।

यीमाथि उल्लेखित अनुसन्धानहरु विकसित देशहरुमा गरिएकोले अरु देशहरुमा पनि यस्तै नतिजा हुन्छ वा हुनुपर्छ भन्ने छैन । नेपालमा यो कति व्यापक हुनसक्छ ? भए लक्षण कति गम्भीर होला ? यी प्रश्नका हाल अनुसन्धानात्मक उत्तर भने छैन । नेपालमा हाल कसैलाई रुघाखोकी देखिए दुई भाइरसहरु कोरोना वा फ्लूमध्ये एक परीक्षणमा पुष्टि भए त्यसैको कारणले आफू बिरामी भएको भनिन्छ। यी दुई भाइरसहरुको लक्षणहरु एक अर्कासँग धेरै मिल्ने हुँदा थप परीक्षणको आवश्यकता महसुस गर्ने कुरा पनि भएन । तर नेपालमा हाल फ्लू र ओमिक्रोन दुवै तीव्र गतिमा फैलँदो देखिन्छ ।

अन्त्यमा, नेपालमा पछिल्लो केही दिनदेखि फ्लू र ओमिक्रोन भाइरसहरु एकैसाथ सक्रिय रहँदै गर्दा यसको जोखिम पनि बढ्दै गइरहेको देखिन्छ । यी दुई भाइरसका लक्षण तथा सर्ने तरिकामा समानता देखिए पनि उपचार तथा परामर्श भने फरक हुने गर्दछ । हाल यो दुई भाइरसविरुद्ध खोपहरु सहज उपलब्ध छन् । जनस्वास्थका मापदण्डहरु फ्लू र कोरोना भाइरस दुवैमा उत्तिकै प्रभावकारी हुने भएकोले यसलाई व्यवहारमा लागू गर्न सके फ्लू र ओमिक्रोन संक्रमणको सम्भावना धेरै हदसम्म न्यून गर्न सकिनेछ।

(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : चैत्र २८, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×