विश्व अटिजम सचेतना दिवसको अवसरमा वाकाथन

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व अटिजम सचेतना दिवसको अवसरमा वाकाथन आयोजना गरिएको छ ।  वाकाथन माइतीघरबाट सुरु भई नेपाल मेडिकल एसोसिएसनको भवनमा पुगेर सभामा परिणत भएको थियो ।

दिवसको अवसरमा नियो हेल्थ क्लिनिक, नियो चाइल्ड केयर सेन्टर, नेसनल हेल्थ केयर फाउन्डेसन र सेन्टर फर अटिजमले संयुक्त रुपमा वानाथन र सभाको आयोजना गरेको हो ।

अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) का बारेमा चेतना जगाउन हरेक वर्ष अप्रिल २ मा विश्व अटिजम सचेतना दिवस मनाइन्छ । आइतबार आयोजित कार्यक्रममा विभिन्न विद्यालय, केन्द्र, क्लिनिक र संस्थाका प्रतिनिधिहरू गरेर करिब २७० जनाको सहभागिता रहेको थियो । अटिजम भएका बालबालिकाहरू प्रति एकता र ऐक्यवद्धता देखाउन 'समुदायमा समावेशिकरण' नारासहित वाकाथन आयोजना गरिएको थियो । सहभागीहरुले अटिजम सम्बन्धी सचेतना र सहयोगको आव्हान गरेका सन्देशसहितका रंगीन प्लेकार्ड बोकेर हिँडेका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि, नेपाल मेडिकल एसोसिएसनका महासचिव, डब्लूएचओका प्रतिनिधि, वरिष्ठ पिडियाट्रिसियन डा. अरुण न्यौपाने, नियो चाईल्ड केयर सेन्टरका अध्यक्ष हरि कुँवर र सेन्टर फर अटिजमका अध्यक्ष ललिता प्रसाईंले मन्तव्य राखेका थिए । कार्यक्रममा नियो चाइल्ड केयर सेन्टरका कार्यकारी निर्देशक समिदकतिला श्रेष्ठले अटिजमका अवसर र चुनौती, वर्तमान अवस्था र नेपालमा सेवा प्रदायकको अवस्थाबारे जानकारी गराएका थिए ।




प्रकाशित : चैत्र १९, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्

परवानीपुरमा सरकारी स्तरबाटै स्थानीय जातको कुखुरा प्रवर्द्धन 

शंकर आचार्य

पर्सा — लोकल (स्थानीय) जातको कुखुराको मासु र अन्डाको बढ्दो मागलाई दृष्टिगत गरी कृषि अनुसन्धान निर्देशनालय परवानीपुरले स्थानीय जातको कुखुराको चल्ला र अन्डाको बिक्रीवितरणको गृहकार्य थालेको छ ।

निर्देशनालयमा अहिले घाँटी खुइले, प्वाँख उल्टे, शाकिनीजस्ता स्थानीय जातका कुखुरा पालन गरेर यिनको संरक्षण र प्रवर्द्धनसमेत गर्न थालिएको हो ।

निर्देशनालयका निर्देशक विशेश्वरप्रसाद यादवका अनुसार केही वर्षयता होटल तथा रेस्टुरेन्टहरूमा स्थानीय जातको कुखुराको अत्यधिक माग रहेको तथा सर्वसाधारणले पनि स्थानीय जातको कुखुराको मासु बढी रुचाउन थालेकाले निर्देशनालयले पनि स्थानीय जातको कुखुराको चल्ला र अन्डा बिक्री गर्ने योजना बनाएको हो । ‘केही वर्षयता केन्द्रमा पनि स्थानीय जातको कुखुराको चल्ला र अन्डा खोज्न आउनेहरूको संख्या बढन थाल्यो,’ उनले भने, ‘त्यस कारण पनि सर्वसाधारण तथा व्यावसायिक कुखुरा पालकले पनि स्थानीय जातको कुखुरा पालेर लाभ उठाउन भन्ने उद्देश्यले समयानुकूल निर्णय गरी हामीले स्थानीय जातको कुखुराको प्रवर्द्धन गर्न थालेका हौं ।’

स्थानीय जातको कुखुराको मासु र अन्डा तुलनात्मक रुपमा स्वादिलो हुने र विकासे कुखुराको मासु र अन्डाभन्दा झन्डै दोब्बरी महँगो पनि हुने भएकाले यो जातको कुखुराको पालनबाट किसान वा सर्वसाधारण जो कोहीले पनि दोब्बरी लाभ उठाउन सक्ने यादव दाबी गर्छन् । विकासे कुखुराको तुलनामा स्थानीय जातको कुखुरा पाल्न लगानी पनि कम लाग्ने र सहज पनि हुने उनी बताउँछन् ।

थोरै लगानीमा बढी प्रतिफल आउने भएकाले स्थानीय जातको कुखुरा पालनमा पछिल्लो केही वर्षयता आकर्षण बढेको उनको बुझाइ छ । निर्देशनालयमा हुर्किइरहेका स्थानीय जातका कुखुराले आउँदो असार/साउन महिनामा अन्डा दिने र ती अन्डाबाट कात्तिकदेखि चल्ला उत्पादन गरी बिक्रीवितरणसमेत गरिने यादव बताउँछन् । निर्देशनालयमा आफ्नै ह्याचरीसमेत रहेको छ । यो नेपालकै सबैभन्दा पुरानो ह्याचरीसमेत हो । २०१८ सालमा तत्कालीन राजा महेन्द्रले ह्याचरीको उद्घाटन गरेका थिए ।

यसअघि निर्देशनालयबाट टर्की, बट्टाई पन्छीका साथै गिरिराज, न्यु हेम्पसायर, ब्ल्याक स्ट्रलक, कर्निस आदि जातका कुखुराको चल्ला तथा अन्डासमेत बिक्रीवितरण हुँदै आएको छ ।

प्रकाशित : चैत्र १९, २०७९ १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×