३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बालपोषणमा सुधार गर्न लगानी आवश्यक

काठमाडौँ — नेपालमा बालपोषणको अवस्था सुधार गर्न सचेतना तथा बजेट तथा लगानी बढाउन आवश्यक रहेकाे सरोकारवालाले सुझाव दिएका छन् । राजधानीमा शुक्रबार आयोजित 'नेपालमा बाल पोषणको अवस्था' नामक पुस्तक सार्वजनिक गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुपोषण कम गर्नका लागि सचेतना खाँचो रहेको बताए ।

बालपोषणमा सुधार गर्न लगानी आवश्यक

यस्तै उनले खानामा गरिने विभेदको अन्त्य गर्नुपर्ने बताएका थिए । जागृति बाल तथा युवा सरोकार नेपालले तयार पारेको पुस्तिका सार्वजनिक कार्यक्रममा महिला, बालबालिका तथा किशोरकिशोरीहरूको न्यूनपोषण र अधिक पोषणको अवस्थामा धेरै सुधार गर्नुपर्ने देखिएको सरोकारवालाहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेतीले 'नेपालमा बालबालिकाको पोषणको अवस्था' प्रस्तुतिकरण गर्दै मधेस प्रदेशमा ५ वर्षमुनिका बालिबालिकामा पोषणको अवस्था निकै कम देखिएको बताए ।

नेपालमा जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले मधेस प्रदेशमा २९ प्रतिशत बालबालिकामा पुड्कोपन, १० प्रतिशतमा ख्याउटेपन, २७ प्रतिशतमा कम तौल र ५१ प्रतिशतमा रक्तअल्पत्ता भएका पाइएको छ। वाग्मती प्रदेशमा भने अरु प्रदेशको तुलनामा पोषणको अवस्थामा केही राम्रो देखिएको छ । कार्यक्रममा स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिला विक्रम थापाले सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरिराखेको र विभिन्न निकायसँग समन्वय गरेर काम भइरहेको जानकारी दिए ।

जागृति नेपालका अध्यक्ष तिलोत्तम पौडेलले कुपोषणको समस्या समाधान गर्न नागरिक समाजको महत्त्वपूर्ण भूमिकामा जोड दिए । उनले भने–‘नागरिक समाज संगठनहरूले प्रभावकारी पोषण कार्यक्रमहरूको विकास र कार्यान्वयन गर्न सरकार र अन्य सरोकारवालाहरूसँग सक्रिय रूपमा संलग्न हुनु महत्त्वपूर्ण छ ।’

यस्तै खाद्य अधिकारका लागि राष्ट्रिय संजालका संयोजक विदुर सुवेदीले बाल पोषण बाल अधिकारको विषय मात्रै नभई समग्र मानव अधिकार र खाद्य अधिकारको विषय रहेकाे बताए ।

प्रकाशित : चैत्र ११, २०७९ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?