मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती

डा. सुरेन्द्रकुमार आचार्य

काठमाडौँ — विश्व स्वास्थ्य संगठनले २० मार्चमा विश्व मुख दिवस मनाउने गर्छ । यसवर्ष पनि सोमबार यो दिवस मनाइयो । मुख स्वास्थ्यको महत्त्व तथा जनचेतना अभिवृद्धिका लागि विशेष ध्यान दिएर दिवस मनाइन्छ।‌ तर बिडम्बनाको कुरा मुख तथा अनुहार स्वास्थ्यकाे अवस्थाको बारेमा घनिभूत छलफल हुँदैन ।‌

नेपालमा मुख तथा अनुहार सर्जन आवश्यक मात्रामा छन् । मुख तथा अनुहार शरीरको अभिन्न अंगको रूपमा मानिन्छ । यो सम्बन्धी रोगका बिरामीहरूको तथ्यांक हेर्ने हो भने पनि कहाली लाग्दो अवस्था छ। बिरामी छन्, चिकित्सकहरु पनि छन्, तर सहि पहिचान र उपचार किन हुन सक्दैन?

नेपालका आधारभूत, जिल्ला, प्रादेशिक, केन्द्रीय अस्पतालहरुमा मुख तथा अनुहार सर्जनको दरबन्दी छैन । यो सम्बन्धी दरबन्दी भएको केवल राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा एक-एक गरी दुई जना मात्र छन् । प्राइभेट डेन्टल कलेजमा कम्तीमा २-४ जना हुनुपर्ने, कहिँ पर्याप्त छैनन् । बिरामीको अत्यधिक चाप भएको त्रिवि शिक्षण अस्पतलमा पनि दुई जना ओएएफ सर्जन कार्यरत छन् ।

प्रसिद्ध अस्पतालहरुमा पनि आवासीय अर्थात् ओएमएफएस डाक्टर हुँदैनन् । तर हेर्ने हो भने सबैभन्दा बिरामी यो विभागसँग सम्बन्धित छन् । अनुहारको घाउ चोटपटक, खुँडे ओठ र तालु, मुखको क्यान्सर, मुख, दाँत, अनुहार र घाँटीको संक्रमणका बिरामी भएपनि भगवान भरोसामा उपचार भइरहेको पाइन्छ । दाँतको कीरा शरीरको सबैभन्दा बढी लाग्ने रोग मानिन्छ। जसले गर्दा बिरामीलाई दुखाई, मानसिक समस्या, आर्थिक भार इत्यादिले ठूलो असर गरिरहेको छ।

अनुहारको चोटपटक करिब ७० प्रतिशत हुन्छ, उक्त बिरामीहरु कुनै पनि अस्पतालको आकस्मिक कक्ष तथा बहिरंग विभागमा जाने गर्छन् । तर त्यहाँ धेरैजसो मुख तथा अनुहार सर्जन हुँदैनन्।

त्यसैगरी मुखको क्यान्सर पुरुषमा दोस्रो र महिलामा चौथो नम्बरमा असर गर्नेमा पर्छ। मानिसमा मृत्युको दोस्रो ठुलो कारक हो । उक्त रोगसम्बन्धी उपचारका लागि क्यान्सर अस्पताल जस्तै बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पतालमा मुख तथा अनुहार सर्जनको दरबन्दी नै छैन ।

ओठ- तालु खुँडेका विशेषज्ञ हुन्- मुख तथा अनुहार सर्जन । तर त्यसको पनि सही व्यवस्थापन हुन सकेको छैन ।

मुख, दाँत तथा अनुहारको जोर्नीको दुखाइले दीर्घकालीन समस्या हेर्ने हो भने मुटु, मस्तिष्क, मानसिक रोग, इत्यादि हुन्छन् त्यसको पनि उचित व्यवस्थापन भइरहेको छैन । सडक दुर्घटना अर्को ठुलो समस्या हो, जुन चौथो मानव मृत्युको कारण हो, जसमा जनचेतनाको अभाव छ । हेलमेट लगाउँदा पुरा अनुहार छोप्ने हेल्मेट लगाउनुभयो भने अनुहारको गम्भीर चोटपटकबाट बच्न सकिन्छ । यदि अनुहारमा गम्भीर चोटपटक लाग्यो भने मानिस पूर्ण रुपमा अपांग हुन्छ । अनेक समस्याले मुख तथा अनुहार स्वास्थ्य ग्रसित छ, बिरामीहरूको उचित उपचार हुन सकेको छैन । यसमा सरोकारवालाले विशेष ध्यान दिन जरुरी छ।

जस्तो नेपालका आधारभूत तथा सम्पूर्ण अस्पतालमा उचित मुख तथा अनुहार सर्जनको व्यवस्थापन तथा सेवा विस्तार, क्यान्सर तथा फेसियल सर्जरी विभाग विस्तार गरी मुख तथा अनुहार सर्जन सर्जरी सेवा विस्तार, ओरल क्यान्सरको स्क्रिनिङ, सडक दुर्घटना सम्बन्धी जनचेतना अभवृद्धि, मुख तथा घाँटीको जटिल संक्रमण व्यवस्थापन गर्न टड्कारो आवश्यक छ।

दाँतको कीरासम्बन्धी रोगलाई नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको एनसीडी अन्तर्गत राखेर प्राथमिकता दिनुपर्छ। यदि समयमै ध्यान दिइएन भने निकट समयमा यसको गम्भीर असर नेपाली जनता र राज्यले सामना गर्नुपर्ने छ।

(लेखक किस्ट शिक्षण अस्पतालमा मुख तथा अनुहार सर्जनका रुपमा कार्यरत छन् ।)

प्रकाशित : चैत्र ७, २०७९ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्

नगरपालिकामा अनियमितता भएको भन्दै अनशन 

शिव पुरी

रौतहट — रौतहटको गरुडा नगरपालिकामा अनियमितता भएको भन्दै नगरप्रमुखका प्रत्याशी दीपक यादव आमरण अनशन बसेका छन् । उनी गएको स्थानीय निर्वाचनमा तमलोपाबाट गरुडा नगरपालिकाको नगरप्रमुख पदमा उठेका थिए । अनशनमा पूर्व उपप्रमुख रंगीलादेवी जैसवाललगायतका कांग्रेसका स्थानीय नेता पनि सहभागी छन् ।

नगरपालिका प्रमुख कन्थमणि जैसवालले अनियमितता गरेको र आफूले विभिन्न शीर्षकमा भएका खर्च, कामको सूचना माग्दा नदिएको भन्दै आफू अनशनमा बसेको यादवले बताए ।

सूचनाको हक प्रयोग गरेर पनि कतिपय सूचना दिन नमानेको र नगरपालिकामा के–के काम भइरहेको छ भन्ने नगरबासीले थाहा पाउनुपर्नेमा सूचना लुकाएर अनियमितता गरेको हुनाले आफू बाध्य भई अनशन बस्नु परेको यादवको दाबी छ । ‘मैले सूचना मागेर कुनै गलत गरेको छैन । नगरपालिकाभित्र धेरै अनियमितता भएको छ,’ उनले भने,‘राम्रो काम गरेका छ भने सूचना माग्दा किन नगरप्रशासन दिन मान्दैन । नगरप्रमुख किन भागेर हिँड्छन् । जबसम्म सूचनाको मागको सम्बोधन हुँदैन तबसम्म अनशन जारी रहन्छ ।’

केही दिनदेखि सूचनाको हक प्रयोग गरी नगरपालिकाको विभिन्न शीर्षकमा भएका काम, कर्मचारीको नियुक्ति, खर्चलगायतको विवरण माग्दै यादवले आन्दोलन गरिरहेका थिए । यही क्रममा नगरप्रमुख जैसवालमाथि दुर्व्यवहार भएको भन्दै इलाका प्रहरी गरुडाले उनलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो । उनले स्थानीय सञ्चारकर्मीलाई समेत तथानाम गालीगलौच गरेपछि पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्तिसमेत निकालेर भर्त्सना गरेको थियो ।

प्रकाशित : चैत्र ७, २०७९ १४:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×