प्राथमिकतामा नपरेको मुख स्वास्थ्य

सरकारले जम्मा ३४ जिल्लामा मात्र डेन्टल सेवा दिन सकेको छ । सेवा उपलब्ध ठाउँमा समेत बिरामीको चापले समयमै सेवा लिन कठिनाइ छ । दाँतको जरादेखि नै उपचार गर्न वीर अस्पतालमा ६ महिनासम्म कुनुपर्ने अवस्था छ ।
बुनु थारु

काठमाडौँ — मुखसम्बन्धी समस्याहरू विश्वव्यापी रूपमा नसर्ने रोगमा पर्छन् । चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुख सम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक हुन् । विश्वमा क्यान्सरहरूको सूचीमा मुखको क्यान्सर १३ औँ नम्बरमा पर्छ । जसमा पुरुष र ज्येष्ठ नागरिकहरुमा दाँत किराले खाने र ओठको क्यान्सर बढी देखिएको छ ।

प्राथमिकतामा नपरेको मुख स्वास्थ्य

मुख स्वास्थ्य भन्नाले दाँत, गिजा र सम्पूर्ण मुख–अनुहार प्रणालीको स्वास्थ्यलाई बुझ्न सकिन्छ । जसले हामीलाई बोल्न, चपाउन र मुस्कुराउन सहयोग गर्छ । दाँत तथा मुख स्वास्थ्य हाम्रो सम्पूर्ण स्वास्थ्यका लागि महत्त्वपूर्ण छ ।

मुख सम्बन्धी रोगहरुको रोकथाम गर्न सकिने भए पनि विश्वभरिका धेरै मानिसहरु यस रोगबाट प्रभावित छन् । नेपालमा मुख स्वास्थ्य अझै स्वास्थ्य क्षेत्रको मुख्य प्राथमिकताबाट वञ्चित रहेको छ । मुख स्वास्थ्यमा खासगरी दाँत किराले खाने, गिजा सम्बन्धी रोग र मुखको क्यान्सर जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा रहेका छन् तर पनि सरकारी स्तरबाट ध्यानाकर्षण भएको देखिँदैन ।

विश्व स्वास्थ्य संगठन को ग्लोबल ओरल हेल्थ स्टेटस रिपोर्ट (२०२२)ले मुखसम्बन्धी रोगले विश्वभर ३५० करोड मानिसहरूलाई असर गर्ने आंकलन गरेको छ । जसमा ४ मध्ये ३ मानिसहरू मध्यम आय भएका देशहरूमा बस्छन् । त्यसैगरी विश्वव्यापी अनुमानित २ अर्ब मानिसहरू स्थायी रुपमा नै दाँतको किराले खाने समस्याबाट पीडित छन् भने ५१ करोड ४० लाख बालबालिकामा प्राथमिक दाँतको किराले खाने समस्या छ ।

वीर अस्पतालकी डेन्टल विभाग प्रमुख डा. शैली प्रधान मुख स्वास्थ्यसम्बन्धी सचेतना अझै पुग्न नसकेको बताउँछिन् । भन्छिन्–‘अझै पनि जनमानसलाई मुख स्वास्थ्य सम्पूर्ण स्वास्थ्यसँग जोडिन्छ भनेर बुझाउन सकिएको छैन ।’ उनले हेर्दा सामान्य लाग्ने तर यो मुटु रोग, क्यान्सर तथा मधुमेहसँग पनि जोडिने अध्ययनहरुले देखाएको बताइन् । उनका अनुसार नेपालमा दाँत किराले खाने, गिजाबाट रगत आउने, फुल्ने, पाक्ने, दाँत हल्लिने अधिकांशमा देखिन्छ । सुर्तीपदार्थ सेवन गर्नेमा मुखको क्यान्सर पनि देखिएको छ ।

सरकारीमा महिनौँ लाइन, निजीमा महंगो उपचार

दाँत तथा मुख सम्बन्धी उपचार सबैको पहुँचमा छैन । मुख स्वास्थ्यको उपचार महँगो छ । कम र मध्यम आय भएका देशहरूमा मुख स्वास्थ्य अवस्थाहरू रोक्न र उपचार गर्न पर्याप्त सेवाहरू उपलब्ध छैनन् । नेपाल सरकारले जम्मा ३४ जिल्लामा मात्र डेन्टल सेवा दिन सकेको छ । सेवा प्रदान गरेको ठाउँमा समेत बिरामीको चापले समयमा सेवा लिन र दिन कठिनाइ रहेको पाइन्छ । दाँतको जरादेखि नै उपचार गर्नलाई वीर अस्पतालमा ६ महिनासम्म कुनुपर्ने अवस्था छ ।

प्राइभेटबाट छिटो छरितो सेवा पाउनका लागि तुलनात्मक रुपमा महंगो नै तिरेर सेवा लिन बाध्य छन् । दाँतको उपचारमा ९५ प्रतिशत नै निजीले धानिरहेको बताउँछन् नेपाल डेन्टल एसोसिएसनका महासचिव डा. गालब अधिकारी । उनले नेपालमा ओरल हेल्थको अवस्था हेर्दा दक्ष जनशक्तिको हिसाबले राम्रो तर सेवा वितरणमा समान हुन नसकेको बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार दन्त चिकित्सक–जनसंख्या अनुपात १:७,५०० हुनुपर्छ । अर्थात् प्रति ७ हजार ५०० व्यक्ति एक दन्त चिकित्सक । नेपाल मेडिकल काउन्सिलमा बीडीएस (दन्त चिकित्सक) दर्ता ४ हजार ४१३ छन् एमडीएस (विशेषज्ञ) चिकित्सक ७४१ दर्ता भएका छन् । जनसंख्याको अनुपात संगठनले भने अनुसार नै दन्त चिकित्सक उत्पादन भइसकेका छन् । तर ती सबै ठाउँमा पुग्न सकेका छैनन् । कारण हो दरबन्दी सिर्जना नगर्नु । डा. अधिकारी भन्छन्–‘दन्त चिकित्सक वार्षिक रुपमा साढे ४ सय देखि ५ सय सम्म उत्पादन हुने गरेका छन् ।सरकारीमा दन्त चिकित्सामा जुन सेवा दिनुपर्ने हो त्यसमा डेन्टल सर्जन नै छैनन् ।’ उनकाअनुसार हाल लोकसेवा आयोगको स्थायी दरबन्दीमा ८० देखि ८४ जना चिकित्सक कार्यरत छन् । सरकारी निकायहरुमा कुल झण्डै १२० देखि १२५ जना दन्त चिकित्सकहरु छन् ।

उनले दरबन्दी थप्नका लागि लबिङ भइरहेको बताए । उता चिकित्सक वार्षिक सयौँको संख्यामा उत्पादन हुनु तर दरबन्दी सिर्जना नगरिएका कारण अहिले प्राइभेट डेन्टल क्लिनिक च्याउसरी खुल्दै गरेको देखिन्छ । अनुगमन फितलो भएकै कारण दन्त चिकित्सक नै नभएको मान्छे वा साधारण तालिम पनि नलिएकोले पनि क्लिनिक सञ्चालन गरिरहेका छन् । डा अधिकारी प्रश्न गर्छन्–‘झण्डै २३ लाख तिरेर विडिएस पढिरहेका छन् । स्थायी त छोडौकरार पनि सरकारले जागिर खोल्दैन । उनीहरुले गर्ने भनेको स्वालम्बी हुनलाई क्लीनिक खोल्ने हो । तर डेन्टल सर्जनले खोलेको क्लीनिक अनुगमन गर भन्न सक्ने अवस्था छैन ।क्वार्कहरुले खोलेको क्लीनिक अनुगमन गर्नुपर्छ ।’

विश्व स्वास्थ्य संगठनले नसर्ने रोगमा प्राथमिकता दिएपनि मुख स्वास्थ्यलाई प्राथमिकता नदिएको विज्ञहरुको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ६० देखि ९० प्रतिशत स्कुले बालबालिकामा दाँत किराले खाने समस्या छ । ज्येष्ठ नागरिकहरुमा यो झन् बढी छ । वीर अस्पतालकी आरसिटी स्पेसलिट डा. ऋतु श्रेष्ठले सानै उमेरदेखि अभिभावकहरुले आफ्नो बच्चाको दाँतको सरसफाइमा ध्यान दिनुपर्ने बताउँछिन् । भन्छिन्–‘आमाबाबुले नै सानोमाकसरी ब्रस गर्ने भनेर सिकाउनुपर्छ । ६ वा १ वर्षमा बच्चालाई दाँतको डाक्टरकोमा लानुपर्छ ।’ धेरैजसो बच्चाहरुमा दाँतमा किराले खाने समस्या देखिएको उनले बताइन् । उनकाअनुसारकिराले खायो भने पनि दुधे दाँत हो झरेपछि अर्को आइहाल्छ नी भन्ने मान्यताले बेलैमा उपचारमा ल्याइँदैन । सुन्निएर, पाकेर वा बच्चालाई धेरै दुख्दामात्र आउने छन् । यसले गर्दा दाँत किराले खाएर चाहिने समयभन्दा अघि नै दाँत झर्ने र नयाँ आउने दाँतलाई ठाउँ नपुग्ने र भित्रै अड्किने समस्या हुन सक्छ ।यसरी दाँत बांगोटिंगो आउनेसमस्या आजकालको बच्चाहरुमा धेरै देखिएको उनले बताइन् ।

मुख स्वास्थ्य शिक्षालाई पाठ्यक्रममा नै समावेश गरी पढाउने, विद्यालयमा नै फ्लोराइडयुक्त मञ्जनले दात माझ्ने र पोषण कार्यक्रम चलाउन सके मुख स्वास्थ्यको प्रवर्द्धन हुने विज्ञहरु बताउँछन् ।नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले नेपालमा प्रयोग गरिने टुथपेस्ट र ब्रसको गुणस्तर, फ्लोराइडको मात्रा कति हुनुपर्ने, ओरल हाइजिनमा सरकारी स्तरबाट ध्यान नपुगेको बताउँछन् । उपचारमा कस्ता सामान प्रयोग भइरहेको भन्ने अनुगमन पनि नभएको उनले बताए । उनले भने–‘उपचार केन्द्रिकृत मात्र छ जिल्लाबाहिर राम्रो सेवा छैन। सकेकोसानो लगानीमा पनि डेन्टल सेटअप बन्न सक्छ । मुख स्वस्थ्य नीतिले पनि समग्र क्षेत्र समेट्न सकेका छैन । सरकारी सेवामा नै उपचारको मूल्य फरक छ ।’दक्ष जनशक्तिबाट उपचार भएको छ वा छैन भन्ने अनुगमन र नियमन हुन सकेको छैन । त्यसमा पनि सरकारको ध्यान पुग्नुपर्ने उनको भनाइ छ ।

नेपाल नेशनल ओरल हेल्थ पाथफाइन्डर सर्भे २००४ बाहेक अहिलेसम्म नेपालमा मुख स्वास्थ्य सम्बन्धी कस्तो अवस्था छ भन्नेमा अध्ययन हुन सकेको छैन । अध्ययनले नेपालमा ५–६ वर्षका ५७.५ प्रतिशत, १२–१३ वर्षकामा २५.६ प्रतिशत, १५–१६ वर्षका बच्चाहरुमा २६.३, ३५–४४ वर्षका ५७.५ प्रतिशत तथा ५० वर्ष भन्दा माथिका६९.६ प्रतिशत व्यक्तिहरुमा दाँतमा किरा लाग्ने समस्या देखाएको थियो। त्यसमाथि महिलाहरुमा दाँतमा किरा लाग्ने समस्या बढी पाइएको थियो ।मुख स्वास्थ्य नीति २०७० मै आएको छ तर १० हुनै लाग्दा थप यसमा गृहकार्य हुन सकेको छैन ।

स्वास्थ्य सेवा विभागमा रहेको ओरल हेल्थका शाखा प्रमुख डा नरेन्द्र कुमार खनाल शाखामा कम बजेट भएर नै विभिन्न कार्यक्रमहरु रोकिएको दाबी गरे । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा शाखाले बजेट अभाव भन्दै कार्यक्रम गर्न नसकेको बताएको छ । डा. खनाल भन्छन्–‘ओरल हेल्थ सम्बन्धी देशको वर्तमान अवस्था कस्तो छ भनेर बेसलाइन सर्भे गर्ने भनिएको छ । साथै राष्ट्रिय रणनीति तयार गर्ने र इडीसिडीमा भएको नसर्ने रोगको शाखासँग मिलेर काम गर्ने योजना हो ।’ उनले सरकारले प्राथमिकतामै राखेको बताउँदै भने–‘जति गर्न सकिने हो त्यति भएको छैन । विद्यालय नर्सको सुरुवात भएपछि मुख स्वास्थ्यमा विद्यालय स्तरमा सुधार भइरहको देखिन्छ।’

चिकित्सकका अनुसार मुख तथा दाँत स्वास्थ्य राख्न ६–६ महिनाको अन्तरालमा दाँत तथा मुखको जाँच गराउनुपर्छ । वीर अस्पतालकी डेन्टल विभाग प्रमुख डा. प्रधानले दाँत सफा राख्न खानेकुरा खाएपछि अनिवार्य रुपमा कुल्ला गर्नुपर्ने सुझाव दिन्छिन् । उनी भन्छिन्–‘राति सुत्नुभन्दा अघि दाँत माझ्ने, बिहानको खाना खाएपछि दाँत माझ्ने, ३ देखि ६ महिनामा ब्रस फेर्ने, फ्लोराइड भएको मञ्जनले दाँत माझ्ने, २ मिनेट मजाले गिजा र दाँतको बिचमा सबै भागमा पुग्ने गरी माझ्ने, सुर्तीपदार्थको कम सेवन गर्ने, कमजोर दाँत भएकाले छुर्पी, सुपारी प्रयोग गर्नुहुँदैन ।’

मुख स्वास्थ्य राख्नका लागि के गर्ने ?

  • दिनको दुई पटक दाँत सफा गर्ने
  • चिनी कम खाने
  • फलफूल तथा तरकारीहरु खाने
  • सुर्तीजन्य पदार्थको सेवन नगर्ने
  • प्रसस्त पानी पिउने
  • समस्या भए डेन्टल केयरमा जाने


प्रकाशित : चैत्र ६, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?