काठमाडौँ — क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनी(पीएनजी) ले युनाइटेड अरब इमिरेट्स(यूएई) लाई ५६ रनले हराएको छ । शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १९० रनमा अलआउट भएको हो ।
यूएईका लागि आर्यन लाक्राले सर्वाधिक ५१ रन बनाए । ७२ बल सामना गरेका उनले ५ चौका १ छक्का प्रहार गरेका थिए । त्यस्तै ओपनर मोहम्मद वासिमले २७ बलमा ४ चौका र ३ छ्क्कासहित ४१ रन बनाए । त्यस्तै जवार फरिद र चन्दनगोपाल रिजवानले १९/१९ रन बनाए । त्यस्तै कार्तिक मेयिप्पनले १४ रन बनाउँदा रोहन मुस्तफा र आसिफ खानले ११/११ रन बनाए ।
पीएनजीका लागि रिली हेकुरले सर्वाधिक ३ विकेट लिए । ७.२ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए । त्यस्तै काबुआ मोरिया र असद भालाले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो ।
पीएनजीका लागि सेसे बाउले नटआउट रहँदै सर्वाधिक ८१ रन बनाए । १०६ बल सामना गरेका उनले १० चौका प्रहार गरे । त्यस्तै ओपनरद्वय हिरी हिरी र किप्लिन डोरिगाले क्रमश: ७७ र ५५ रन बनाए । अन्य ब्याटरले भने उल्लेख्य रन जोड्न सकेनन् ।
यूएईका लागि आयन खानले १० ओभरमा ३ ओभर मेडन राख्दै ३४ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै जुनैद सिद्दीकी र जहूर खानले २/२ विकेट तथा रोहन मुस्तफा र कार्तिक मेइअप्पनले १/१ विकेट लिए ।
विश्वकप लिग २ मा सबै ३६ खेल खेलेको स्कटल्यान्ड ५०, ओमान ४४, नामिबिया ३९ र अमेरिका ३५ अंकसहित पहिलो चार स्थानमा छन् । सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन टोलीले सिधै विश्वकप छनोटमा स्थान पाउने छ भने शीर्ष ५ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ । नेपाल बाँकी तीन खेल जित्ने हो भने शीर्ष ३ राष्ट्रमा पर्नेछ । नेपालले आइतबार यूएई, सोमबार पीएनजी र फेरि यूएईसँग बिहीबार खेल्दै छ । यूएई ३३ खेलमा ३१ अंकसहित छैटौं स्थानमा छ । पीएनजी ३४ खेलमा ११ अंकसाथ पुछारमा छ ।
नेपाल ३३ खेलमा ३४ अंक बटुल्दै पाँचौं स्थानमा छ । नेपालले बाँकी रहेको तीन खेलमा एक जित हात पारेमा उक्त मान्यता कायम राख्नेछ ।
प्रकाशित : फाल्गुन २६, २०७९ १६:५७