स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाऔं : मन्त्री शर्मा- स्वास्थ्य - कान्तिपुर समाचार

स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाऔं : मन्त्री शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीति बनाउने बताएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले गरेको पहिलो महिला स्वास्थ्य सम्मेलनको उद्घाटन गर्दै उनले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि कार्यक्रम बनाउने बताइन् ।

संविधानमा प्रजनन् स्वास्थ्यलाई उल्लेख गर्नु ठूलो उपलब्धि रहेको भन्दै उनले अब यसको कार्यान्वयनमा सबै क्षेत्रको गम्भीररुपमा ध्यान जानुपर्ने बताइन् ।

'हामीले प्रजनन् स्वास्थ्यलाई मौलिक हक त बनायौँ तर यसको कार्यान्वयन कसरी गर्ने भनेर आम महिलामा लैजान सकेका छैनौं, अब यसको सचेतनता र कार्यान्वयनमा जोड दिनुपर्छ । यसमा आमसञ्चार तथा सूचना प्रविधिको व्यापक परिचालन गर्ने नीति बनाउनुपर्छ,' उनले भनिन् ।

हिजो मात्रै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रधानमन्त्रीले महिला स्वास्थ्यसम्बन्धी विशेष घोषणा गरेको स्मरण गराउदै मन्त्री शर्माले यसलाई प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिन् । स्वस्थ नागरिकका लागि हरेक आमा स्वस्थ हुनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले महिलाको स्वास्थ्यलाई स्वस्थ नागरिक र सबल राष्ट्र निर्माणको आधार बनाउनुपर्ने बताइन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विज्ञहरुका कार्यपत्रमा छलफल हुने र यसबाट महिला स्वास्थ्यसम्बधी नीति निर्माण गर्न सहयोग पुग्ने स्वास्थ्य सेवा बिभागले जनाएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७९ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

छोराछोरीको पढाइ घरै बसी निगरानी

मोबाइल फोनमार्फत अभिभावकले घरमै बसेर छोराछोरी विद्यालय गए/नगएको, पढ्दै गरेको या खेलिरहेकोबारे प्रत्यक्ष हेर्न पाउने
अर्जुन राजवंशी

बिर्तामोड — बलराम गिरीले चार वर्षीय छोरा कृषलाई नजिकैको धनुषा आधारभूत विद्यालयमा भर्ना गरेका छन् । जेठा छोरालाई निजी स्कुल पढाएका गिरीले कान्छा कृषलाई भने सरकारीबाटै उच्च शिक्षा हासिल गराउने योजना बनाएका छन् ।

तर नजिकैको धनुषा आधारभूत विद्यालयको शैक्षिक एवं भौतिक अवस्थाप्रति उनी चिन्तित छन् । घरदेखि तीन सय मिटर मात्रको दूरीमा रहेको विद्यालयको शैक्षिक अवस्था सुधार्नुपर्ने आवाज उठाउँदै आएका गिरीले नियमित विद्यालय जाने, देखेका कमजोरीहरू सुधार्न आग्रह गर्दै आएका छन् । तर विद्यालयमा उपस्थित भएर शैक्षिक सुधारको आवाज उठाउन सधैं सम्भव भएन । विद्यालय पुग्न नसकेको दिन छोराले पढ्यो कि पढेन भन्ने चिन्ता उनलाई हुन्थ्यो ।

उनी जस्तै छोराछोरीको पढाइ प्रति चिन्तित हुने अभिभावकका लागि झापाको हल्दीबारी गाउँपालिकाले घरबाटै छोराछोरी पढ्ने विद्यालयको अवलोकन गर्न सकिने प्रविधिको विकास गरेको छ । मोबाइल फोनमार्फत अभिभावकले घरमै बसेर छोराछोरी विद्यालय गए/नगएको, पढ्दै गरेको या खेलिरहेको बारे लाइभ भिडियो हेर्न पाउने भएका छन् । गाउँपालिकाले आइतबारदेखि हल्दीबारीका १७ वटै सामुदायिक विद्यालयको लाइभ भिडियो हेर्ने खालको प्रविधि सीसी क्यामेरा एप्स सुरु गरेको हो ।

गाउँपालिकामा ६ मावि, ६ प्रावि र ५ वटा आधारभूत विद्यालय छन् । ती विद्यालयमा अध्ययनरत ५ हजार ५ सय ८१ विद्यार्थीका अभिभावकले उक्त एप्समार्फत घरबाटै विद्यालय तथा छोराछोरीको पढाइबारे लाइभ भिडियो हेर्न पाउने गरी प्रविधि जडान गरेको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए । उनले शिक्षालाई प्रविधिसँग जोड्न खोजेको बताए । ‘प्रविधिको प्रयोगमार्फत शिक्षाको स्तर वृद्धि गर्ने योजना अन्तर्गत सीसी क्यामेरा एप्स सुरु गरेका हौं,’ उनले भने ।

एप्सको आइतबार प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले उद्घाटन गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवं निवर्तमान ऊर्जामन्त्रीसमेत रहेका लिङ्देनले हल्दीबारीले पढेर कमाउने नभई पढ्दै कमाउने किसिमको शिक्षाको विकास गर्न चाहेको बताए । उनले यो एप्स सञ्चालनपछि यहाँको शैक्षिक अवस्था सुध्रिनुका साथै शिक्षक एवं विद्यार्थी थप अनुशासित, मर्यादित र मिहिनेती हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘एप्सले हामीजस्ता अभिभावकलाई धेरै सहयोग पुग्छ । छोराछोरीको विद्यालय र पढाइबारे घरैबाट अर्थात् आफू बसेको ठाउँबाटै हेर्न बुझ्न पाउने भएका छौं । यसले अल्छी शिक्षक र विद्यालय जान्छु भनेर घरबाट हिँडेका विद्यार्थीबीच बाटोबाट अन्यत्र जाने समस्या समाधान हुने मलाई लागेको छ,’ गिरीले भने ।

उक्त एप्सले विद्यालयको शैक्षिक सुधारमा उल्लेखीय भूमिका खेल्ने हल्दीबारी–१ स्थित गरमकाली आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद पराजुलीको दाबी छ । ‘विद्यालयमा कसले के गर्दै छ । अवस्था कस्तो छ । शिक्षक पढाउँदै छन् कि बसिरहेका छन् । विद्यार्थी कक्षाकोठामा छन् कि चौरमा खेलिरहेका छन् । कति बेलादेखि खेलिरहेका छन् जस्ता कुरा अब विद्यालय परिवारले मात्र होइन, गाउँपालिका, जनप्रतिनिधिहरू र स्वयं अभिभावकसमेतले प्रत्यक्ष देख्न पाउने भएका छन् । यो कुरा सामुदायिक विद्यालयको शैक्षिक सुधारमा सहयोग पुर्‍याउन सक्ने ठूलो कदम हो,’ प्रअ पराजुलीले भने ।

गाउँपालिकाले विद्यालय क्षेत्र तथा विद्यार्थीको अवस्थाअनुसार विद्यालयहरूमा कम्तीमा ६ वटादेखि बढीमा १२ वटासम्म सीसी क्यामेरा जडान गरेको छ । उक्त सीसी क्यामेराको सहायतामा अभिभावकले छोराछोरी पढ्ने विद्यालयको लाइभ भिडियो इन्टरनेट उपलब्ध मोबाइल फोनमा हेर्न पाउने गाउँपालिकाका आईटी शाखा प्रमुख सुशील कडरियाले जानकारी दिए । उनकाअनुसार सबै १७ वटा विद्यालयमा सीसी क्यामेरा जडान गर्न २४ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ ।

सीसी क्यामेरा एप्समार्फत अभिभावकले विद्यालयको अवस्था प्रत्यक्ष हेर्न पाउनुका साथै विद्यालयको सुरक्षामा सहयोग पुग्ने, गाउँपालिकाबाट दैनिक विद्यालयहरूको अनुगमनमा सहजता मिल्ने, विद्यालयको भौतिक पूर्वाधार बारे तत्कालै जानकारी लिन सकिने, विद्यालयको शैक्षिक एवं भौतिक विकासमा शिक्षक, अभिभावकसमेतको अपनत्वको भावना बढ्ने, विद्यालय प्रशासनलाई सुदृढीकरणमा सहयोग पुग्ने, विद्यालय, अभिभावक र गाउँपालिकाबीच सहकार्य बढ्ने अध्यक्ष लिङ्देनको भनाइ छ ।

प्रकाशित : फाल्गुन २५, २०७९ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×