३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपालमा आँखा स्वास्थ्य : महिलाको पहुँच कम

विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार विश्वमा झण्डै २ अर्ब २० करोड मानिसहरुमा दृष्टि सम्बन्धी समस्या रहेको छ । झण्डै १ अर्ब जति अझै पनि आँखाको स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन् । तीमध्ये धेरैजसो महिला र बालिका छन् ।
बुनु थारु

काठमाडौँ — द ल्यान्सेट ग्लोबल हेल्थ २०२० मा प्रकाशित अध्ययनअनुसार महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ। विश्वव्यापी रूपमा हेर्ने हो भने पुरुषभन्दा महिलामा मोतियाबिन्दु, उमेर–सम्बन्धित म्याकुलर डिजेनेरेसन (एएमडी) र आँखा सुख्खा आँखा हुने समस्या बढी देखिन्छन् ।

नेपालमा आँखा स्वास्थ्य : महिलाको पहुँच कम

महिलाहरुमा आँखा समस्या बढी हुने भए पनि उपचारमा महिलाको पहुँच निकै कम छ । यस्तै नेपालमा विभिन्न आर्थिक तथा सामाजिक कारणले पुरुषको तुलनामा महिलामा अन्धोपनको समस्या बढी रहेको देखिन्छ । तिलगंगा आँखा प्रतिष्ठान र नेपाल नेत्रज्योति संघले स्वास्थ्य मन्त्रालयको समन्वयमा सन् २०२० मा गरेको सर्वेक्षणमा ४० हजार बढी दृष्टिविहीन रहेकोमा झन्डै ६० प्रतिशत महिला रहेको देखाएको थियो ।

विश्वमा दृष्टि क्षमता कम भएका मानिसहरुमध्ये ५५ प्रतिशत महिला छन् । अनेक कारणले आँखा सेवामा महिलाको पहुँच कम छ । आँखा स्वास्थ्यमा महिलाको पहुँच नहुनुमा गरिबी, जनचेतनाको कमी, यातायातको पहुँच नहुनु, निर्णय लिन नसक्नु, पारिवारिक जिम्मेवारी बढी हुनु, आर्थिक परनिर्भरता हुनु आदि कारणले महिलाहरु उपचार दायरामा कम आउने तिलगंगा आँखा प्रतिष्ठानकी इन्चार्ज तथा पेडियाट्रिक अपथाल्मोलोजी विभागकी प्रमुख डा. सिर्जना अधिकारीको भनाइ छ ।

सन् २०२२ मा तिलगंगा आँखा प्रतिष्ठान र यसका अरु सञ्जालबाट ५६ प्रतिशत महिलाले सेवा पाएका छन् भने ४५ प्रतिशत पुरुषले ।अस्पतालमै आएर सेवा लिनेमा भने पुरुष अगाडि देखिन्छन्। यसमा सेवा लिने पुरुषहरुको संख्या ५१ प्रतिशत छन् भने ४९ प्रतिशत महिलाहरु छन् । त्यसैगरी नेपाल नेत्र ज्योति संघको तथ्यांकले पनि अस्पतालमै आएर सेवा लिनेमा पुरुष नै बढी रहेको देखाउँछ । संघकाअनुसार यसका अस्पताल र अरु सञ्जालहरुबाट सन् २०२२ मा २९ लाख ३५ हजारले सेवा लिएका छन् जसमा ५२ प्रतिशत पुरुषले सेवा लिएका छन् भने ४८ प्रतिशत महिलाहरुले सेवा लिएका छन् ।

नेपालमा पुरुषभन्दा महिलाहरुमा १.३ गुणाले अन्धोपना हुन सक्ने जोखिम देखिएको छ । विश्वव्यापी हेर्ने हो भने २ करोडभन्दा बढी महिलाहरु दृष्टिविहीन छन् भने १२ करोड महिलाहरुमा दृष्टिदोषको समस्या छ । डा. अधिकारी भन्छिन्, ‘महिलाहरूमा अन्धोपनको उच्च दर छ, जसको मतलब उनीहरू कम सेवामा छन्। आँखा मात्र होइन सबै रोगमा महिलाहरुको स्वास्थ्य सेवामा पहुँच कम नै छ।’

विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार विश्वमा झण्डै २ अर्ब २० करोड मानिसहरुमा दृष्टि सम्बन्धी समस्या रहेको छ भने झण्डै १ अर्ब जति अझै पनि आँखाको स्वास्थ्य सेवाबाट वञ्चित रहेको र पहुँच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताइएको छ ।

आइएपीबी (इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस) भिजन एटलसका अनुसार दृष्टिविहीन भएकामध्ये ५५ प्रतिशत बालिका र महिलाहरू छन् । महिलाहरुमा ८ प्रतिशत अन्धो हुने सम्भावना, १५ प्रतिशतमा मध्यमदेखि गम्भीर दृष्टि हानी हुने सम्भावना, हल्का दृष्टि कमजोरी हुने सम्भावना १२ प्रतिशत बढी हुने र ११ प्रतिशत नजिकको दृष्टि हानी हुने सम्भावना अध्ययनहरुले देखाएका छन् ।

प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले अस्पतालमा बिरामीको अनुपात पुरुष र महिलाको उस्तै देखिने भए पनि वास्तविकता उस्तै नरहेको बताइन् । उनी भन्छिन्,‘तथ्यांकमा आउटरिचमा बढी देखिएको छ तर यसको पनि कारण छ । स्वास्थ्य शिविर महिलाको पहुँचमा लगिएपछि त्यस्तो नतिजा देखिएको हो । जति नजिक सेवा लग्न सक्छौँ त्यति नै महिलाहरुको स्वास्थ्यमा पहुच बढ्न सक्छ ।’

प्रतिष्ठानले कतिपय ठाउँमा अस्पतालसम्म आउनका लागि महिलाहरुलाई आउन जाने खर्च पनि दिएको छ जसकारण सेवाग्राही बढेका पनि छन् । डा. गुरुङले महिलाको आँखा मात्र होइन उनको स्वास्थ्यलाई नै प्राथमिकतामा नराखेकोले पहुँच घटेको बताउँछिन्।

उनी भन्छिन्, ‘साक्षरता पनि कम छ । कम आँखा देख्दा पनि कहाँ जाने भन्ने ज्ञान छैन । यति धेरै मात्रामा महिलाहरुमा समस्या देखिए पनि किन सेवा लिन आउँदैनन् त। महिलालाई अस्पतालसम्म एक्लै आउन पनि गाह्रो हुन्छ । उसको स्वास्थ्य प्राथमिकतामा पर्दैन किनकि उ घरमुली हुँदैन ।’

चिकित्सकहरुका अनुसार आँखाका समस्या विशेषगरी ४० वर्ष माथिका समूहलाई बढी देखिन्छ । अस्पताल गएपछि आँखाका समस्या निको हुन सक्छ भन्ने सचेतना कम रहेको छ त्यसैले पायक पर्ने ठाउँमा जचाउन चिकित्सकले आग्रह गर्छन् । महिलाहरुमा पुरुषभन्दा बढी आँखाका समस्याहरु निम्तिन सक्छन् । जस्तै गर्भावस्था, माइग्रेन, मधुमेह तथा उच्च रक्तचापका समस्याले पनि दृष्टिमा समस्या आउन सक्ने चिकित्सकहरु बताउँछन् । त्यसैगरी मेनोपजले आँखा सुख्खा हुने समस्या तथा मेकअपका सामान जस्तै मस्कारा, आइलाइनरले पनि आँखाका समस्या निमत्याउन सक्ने उनीहरुको भनाइ छ ।

तिलगंगा प्रतिष्ठानले महिलामैत्री आँखा सेवा प्रदान गर्नका लागि बालबालिका तथा महिलामैत्री कक्ष निर्माण गरिएको छ । बालबालिकालाई खेल्नका लागि तथा स्तनपान कक्ष पनि राखिएको छ । तिलगंगा प्रतिष्ठान महिलाले नै नेतृत्व गरिरहेको भन्दै यो गर्वको विषय रहेको इन्चार्ज डा. अधिकारी बताउँछिन्। यहाँ हाल २४ जना नेत्ररोग विशेषज्ञ महिला छन् भने बाँकी ६ जना पुरुष । साथै प्यारामेडिकल स्टाफ पनि ८० प्रतिशत महिला नै रहेका छन् । देशभर हेर्ने हो भने ६५ प्रतिशत महिला नेत्ररोग विशेषज्ञ छन् ।

संघका अध्यक्ष प्राडा चेतराज पन्तले संघले सबैतिर आँखा स्वास्थ्यको पहुँच बढाउनकालागि सेवा विस्तारमा लागिरहेको बताए । उनले भने–‘पालिकामा खास गरेर वडा–वडामा आँखा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने तथा आँखाको स्क्रिनिङ कार्यक्रमहरु गर्नुपर्छ । आँखा सेवा नजिक लगे उनीहरुको पनि पहुँच बढ्ने थियो । १५० वटा पालिकामा पुगिसक्यौँ । विस्तार गर्दैछौँ।’

प्रकाशित : फाल्गुन २३, २०७९ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?