मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले पाए नयाँ जीवन- स्वास्थ्य - कान्तिपुर समाचार

मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले पाए नयाँ जीवन

कान्तिपुर संवाददाता

काठमाडौँ — मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले जीवनदान पाएका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा फागुन १६ गते मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुईवटा मिर्गौला र एक कलेजो ३ जना व्यक्तिमा सफल प्रत्यारोपण गरिएको हो । 

रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ४ पविका ४७ वर्षीय पुरुष र सिरहा नगरपालिका –१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको छ भने ललितपुर महानगरपालिका वार्ड नं. २५ का ६८ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपणबारे जानकारी गराउँदै हाल उनीहरूले स्वास्थ्य लाभ गरिरहेको बताए । उनले भने, ‘अंग प्रत्यारोपणका लागि अंग दान गर्न आवश्यक छ । उपयुक्त कानुन बने पनि कार्यान्वयन पक्ष सोचेजस्तो सफलता देखिएको छैन। यसको मुख्य कारण जनचेतनाको कमी नै हो । नागरिक सचेत भए धेरैको नयाँ जीवन पाउनेछन्।’

गाडेर खेर जाने वा जलेर खरानी हुने अंगहरु दान दिन सके एक जना मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ८ वटा अंगहरु जसमा २ वटा मिर्गौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुटु, १ प्यानक्रियाज, १ सानो आन्द्रालगायतका अंग दान गरी ८ जनाको ज्यान बचाउन सकिन्छ ।

नेपालमा मष्तिष्क मृत्यु भएका व्यक्तिबाट प्रत्यारोपण गर्न थालेको ६ वर्ष भएको छ ।२०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अंगबाट प्रत्यारोपण सुरु भएको थियो। प्रत्यारोपण केन्द्रका अनुसार हालसम्म जम्मा पाँच जना व्यक्तिबाट अंग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको छ ।

मस्तिष्क मृत्यु हुने जीवित व्यक्तिले आफू जीवितै हुँदा मस्तिष्क मृत्युपश्चात अंग दान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्यु भएपश्चात निजको शरीरबाट अंग दान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अंग प्रत्यारोपण गर्ने सकिने व्यवस्था मानव शरीरको अंग प्रत्यारोपणा (नियमित तथा निषेध) ऐन २०५५को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ ।

अंग फेल भएका व्यक्तिहरुले समय-समयमा आफ्नो जाँच गरी प्रत्यारोपणको लागि केन्द्रमा रहेको समन्वय इकाइमा गई प्रतिक्षासूचीमा नाम लेखाउन सक्नेछन् ।

प्रकाशित : फाल्गुन १९, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्

२०४६ सालयताका भ्रष्टहरूमाथि छानिबन गरौं : अध्यक्ष तिमिल्सिना

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । 

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरूले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले २०४६ सालयताका भ्रष्टहरुलाई छानबिन गरी कारबाही गर्न दलहरु तयार हुनुपर्ने बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमतीनै गरेर अघि बढनुपर्ने बताए । भ्रष्टहरुलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिवद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उनको भनाइ छ ।

‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा राष्टिय सहमति आज आवश्यक छ । संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख, पदाधिकारी, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीबीच एउटा राष्ट्रिय सहमति गरौं । त्यो सहमति भनेको भ्रष्टाचार नियन्त्रण्या गर्ने । भ्रष्टाचारलाई कारबाही गर्ने । कारबाही गर्नका लागि अहिले एउटा राष्ट्रिय सहमति बनाऔं । त्यो हुँदा आजका दिनसम्म बहुदल आएयता आजसम्म जे–जे विषयमा चाहे त्यो विमान खरिदमा होस् । नियुक्ति गर्दा होस् । जग्गाका कुरा होलान् । के होलान् ? ती सबैलाई एक ठाउँमा राखेर त्यसमा स्वतन्त्र छानबिन गरौं । म, हामी जो परे पनि जेल जानेसम्मको कारबाही गर्न सकिन्छ भन्न सकिन्न हामीले ? त्यो सहमति पो राष्ट्रिय सहमति हो । जनताको लागि गरिएको सहमति हो । सुशासनका लागि गरिएको सहमति हो,’ उनले भने ।

अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरुलाई सशक्त बनाउनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित : फाल्गुन १९, २०७९ १५:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×