नेपाललाई भारतले दियो २ सयवटा डायलासिस मेसिन- स्वास्थ्य - कान्तिपुर समाचार

नेपाललाई भारतले दियो २ सयवटा डायलासिस मेसिन

कान्तिपुर संवाददाता

काठमाडौँ — भारत सरकारले दुई सयवटा मिर्गौला डायलासिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।

करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष उक्त मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले उक्त मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरेका थिए ।

यस अवसरमा मन्त्री गिरीले २०७२ सालको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल र नेपाली जनताले स्मरण गरिरहने बताएका थिए । साथै उनले नेपाल–भारत सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भुल्न नसकिने पनि बताएका थिए ।

‘दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७६ वर्ष पूरा भएको छ । यसबीचमा दुई मुलुकबीच सरकार सरकारको बीचमा मात्रै नभई जनताको स्तरमा पनि सुमधुर सम्बन्ध रहँदै आएको छ । दुई मुलुकबीच आर्थिक, सामाजिक सबै रुपले घनिष्ट सम्बन्ध छ । यो हाम्रो ऐतिहासिक पक्ष हो । भूकम्प र भोभिडको समयमा पनि भारत सरकारबाट जुन खालको सहयोग भयो त्यो अत्यन्तै उल्लेखनीय छ । महत्त्वपूर्ण छ । यो कुरा नेपाली जनताले सधैँभर सम्झनायोग्य छ । म यसका लागि भारतीय राजदूतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु । स्वास्थ्य क्षेत्रमा पनि थप सहकार्य गरेर अघि बढ्ने विश्वास दिलाउन चाहन्छु,’ मन्त्री गिरीले भने ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भने नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई उक्त मेसिन हस्तान्तरण गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रतासाथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिबद्धतासमेत व्यक्त गरे । साथै नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा भारतले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

प्रकाशित : फाल्गुन ८, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्

‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो

रासस

काठमाडौँ — कोरोना भाइरस संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप सोमबार नेपाल आइपुगेको छ ।

फाइल तस्बिर : रोयटर्स

‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एयरवेजबाट सोमबार बिहान आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।

डा. चौरसियाका अनुसार सोमबार ३ लाख ४५ हजार ६ सय मात्रा खोप आएको हो । यसअघि यही फागुन १ र फागुन ४ गते ३ लाख ४५ हजार ६ सय मात्राका दरले नै खोप आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ ।

सोमबारसहित बुस्टर डोजका लागि १० लाख ३६ हजार ८ सय मात्रा खोप नेपाल आइसकेको छ । अब ४ लाख ६३ हजार मात्रा खोप आउन बाँकी छ । उक्त खोप फागुन ११ र १५ गते ल्याइने छ । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो ।

प्रकाशित : फाल्गुन ८, २०७९ १४:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×