भारतका बिरामी तान्दै- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतका बिरामी तान्दै

भारतीय नागरिकको समेत उपचार केन्द्र बनेको चितवनमा निजी अस्पतालले समेत क्यान्सर उपचार सुरू गरेका छन्
रमेशकुमार पौडेल

चितवन — सर्लाही मलंगवाका रामभजन पण्डित बिहीबार बिहान ८ नबज्दै भरतपुर–७ कृष्णपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल छिरिसकेका थिए । उनी श्रीमती रामवती देवीको उपचारका लागि आएका हुन् ।


अस्पतालको गेटमै कुपन वितरण हुन्छ, त्यसैका आधारमा काउन्टर अगाडि गएर पालो कुर्नुपर्छ । बोर्डमा नम्बर डिस्प्ले भएपछि काउन्टरमा गएर डाक्टरलाई भेट्ने समय लिनुपर्छ । बिहानै जाँदा पनि रामभजनले १४७ नम्बरको कुपन पाए ।

बाजुरा छेडेदह गाउँपालिका–२ खप्तडका ५६ वर्षीय परशु बुढा भीडभन्दा बाहिर टुक्रुक्क बसेका थिए । उनका छोरा चक्र टिकट काउन्टरतिर गए । फोक्सोमा समस्या परेपछि उपचारका लागि कैलाली झरेका उनलाई भरतपुर जान भनियो । भदौदेखि उनी भरतपुर धाइरहेका छन् ।

पूर्वी नेपालका रामभजन र सुदूरपश्चिमका परशु मात्रै होइन क्यान्सरपीडितका लागि बीपी क्यान्सर अस्पताल भरपर्दो उपचार केन्द्र बनेको छ । क्यान्सरको मात्र उपचार हुने देशको ठूलो सरकारी अस्पताल यही हो । २०५६ असोजबाट सेवा आरम्भ गरेको अस्पतालमा उपचारका लागि सीमावर्ती क्षेत्रका भारतीय आउने गरेका छन् । चितवनमा निजी अस्पतालमा समेत क्यान्सरको उपचार सुरु भएको छ ।

अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार सन् २०२२ मा कुल एक लाख ६५ हजार ५० जना बिरामी आएका थिए, तीमध्ये तीन हजार ५ सय २० जना भारतीय थिए । अस्पतालले क्यान्सर परीक्षण, शल्यक्रिया, रेडिएसन थेरापी तथा केमोथेरापी विधिबाट उपचार गर्दै आएको छ । अस्पतालमा हाल पाँच सय शय्या छन् ।

‘सयभन्दा धेरै चिकित्सक छन् । शय्या त्यहीअनुसारका छन् । क्यान्सरको उपचार हुने यो अस्पताल नेपालकै मुख्य अस्पताल हो,’ अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भने । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री चीन भ्रमणमा जाँदा भएको समझदारीअनुसार चीनले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको अस्पतालका भवन चिटिक्कका छन् । फराकिलो क्षेत्रफलमा हरियालीभित्र अस्पताल छ ।

‘हाम्रो अस्पतालमा नहुने भनेको बोन म्यारो प्रत्यारोपण र पेट स्क्यान सेवा हो । योबाहेक क्यान्सरसम्बन्धी सबै सेवा उपलब्ध छन्,’ कार्यकारी निर्देशक डा. गौतमले भने, ‘क्यान्सर भए/नभएको समयमै पत्ता लगाए धेरै खाले क्यान्सर पूर्ण निको हुन्छन् । तर नेपालमा उपचारका लागि बिरामी अन्तिम अवस्थामा आउँछन् । जनचेतना नभएर पनि यसो भएको हो । अन्तिम अवस्थामा पुगेको क्यान्सरको गुणस्तरीय उपचार हुन पाउँदैन । त्यस कारण गुनासा पनि आउँछन् ।’ बिरामीको चाप बढ्दै जाँदा रेडिएसन थेरापीमा पालो कुर्नुपर्ने अवस्था छ । चाँडै नयाँ मेसिन थपेर चाप घटाउने प्रयास भइरहेको अस्पतालको भनाइ छ ।

चितवनकी सामाजिक अभियन्ता बन्दना खाँण नेपालमै क्यान्सरको राम्रो उपचार हुन थालेको बताउँछिन् । उनलाई २०७२ भदौमा स्तन क्यान्सर भएको थियो । सुरुवाती चरणमै उनले बीपी क्यान्सर अस्पतालमा उपचार सुरु गरिन् । अहिले उनी क्यान्सरमुक्त भइसकेकी छन् । ‘यहींको उपचारले मलाई पूर्ण निको भएको हो । यस्तै उपचारका लागि धेरै जना बाहिर गएको पनि देख्छु, सुन्छु । खास गरेर भारत जाने धेरै नै छन्,’ उनले भनिन् ।

चितवन मेडिकल कलेज (सीएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पतालले पनि माघ १२ गतेबाट क्यान्सरको उपचार सुरु गरेको छ । अस्पताल परिसरको छुट्टै भवनमा सीएमसीले सय शय्या छुट्याएको छ । परीक्षण, शल्यक्रिया, रेडियोथेरापी र केमोथेरापी जस्ता सबै खाले उपचार पद्धति उपलब्ध रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । दिनमा सय जना बिरामीलाई रेडियोथेरापी सेवा दिन सकिने अस्पतालले जनाएको छ । ‘चितवनमा पालो पर्खनुपर्ने समस्याले बिरामीहरू भारत र उस्तै परे अन्य देश पनि जाने गरेका छन् ।

प्रकाशित : माघ २१, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

सहज बन्दै क्यान्सर उपचार

प्रशान्त माली

काठमाडौँ — तल्लो पेट र कम्मर दुख्ने समस्या देखिएपछि धादिङकी ५६ वर्षीया एक महिला दुई साताअघि वीर अस्पताल पुगिन् । उपचारमा चित्त नबुझेपछि परिवारले उनलाई भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर पुर्‍याए ।

वीरमा क्यान्सर रोग पत्ता लगाउन गरिएको डायग्नोसिस रिपोर्ट र उताको रिपोर्ट मिल्दोजुल्दो पाएपछि उनी स्वदेशमै उपचार गराउन बुधबार फर्किएकी छन् ।

तल्लो पेटमा क्यान्सर पुष्टि भएकी उनको अहिले नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धिमा उपचार भइरहेको छ । ‘उपचार विधि भारत र नेपालमा एउटै रहेछ । खर्च पनि ५–६ लाख रुपैयाँ नै लाग्ने,’ उनका एक आफन्त भन्छन्, ‘अपरेसन गराइसकेपछि ७/८ महिना निरन्तर फलोअपमा बस्नुपर्छ । त्यसका लागि भारत बसाइ अत्यन्त महँगो हुने भएपछि फर्केका हौं ।’

सिन्धुपाल्चोककी ३९ वर्षीया प्रतिभा आलेलाई एक वर्षअघि दायाँ स्तनमा क्यान्सर भयो । भक्तपुर क्यान्सर अस्पतालमा २८ पटक रेडिएसन थेरापी गराएपछि अहिले पूर्ण रूपमा निको भइसकेकी छन् । ‘बिरामीको चाप अत्यधिक भएकाले कुर्नुपर्दा क्यान्सर फैलिने डर थियो । तर पहिले जस्तो स्तन पूरै फाल्नुपर्ने अवस्था छैन,’ उनले सुनाइन्, ‘अपरेसनपछि ६ पटक केमोथेरापी चढाइसकेको छु ।’

क्यान्सरको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी र हर्मोनथेरापी गरी चार प्रमुख विधिबाट गरिन्छ । कोषिका नष्ट गर्न शक्तिशाली रेडियो तरंगको प्रयोग गर्ने उपचार रेडियोथेरापी र क्यान्सरलाई खराब बनाउने हर्मोन रोक्न औषधिको प्रयोग गरिने उपचार हर्मोनथेरापी अहिले स्वदेशमै उपलब्ध छ । १० वर्षअघिसम्म क्यान्सरको उपचार गर्न चिकित्सक, उपकरण, ल्याबको अभावका कारण भारत, चीनलगायत मुलुकमा भर पर्नुपर्ने स्थिति थियो । क्यान्सर रोगका चिकित्सक सन् २००१ मा १० जना रहेकामा अहिले एक सय ५० जना पुगेका छन् । स्वदेशमै क्यान्सर पूर्ण रूपमा निको पार्न सकिने प्रविधि भित्रिइसकेको छ । यद्यपि क्यान्सरको उपचार गर्ने सरकारी अस्पतालको अवस्था भने नाजुक छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मान्यताअनुसार प्रत्येक १० लाख जनसंख्या बराबर एउटा रेडियोथेरापी मेसिन हुनुपर्छ । नेपालमा भरतपुर, भक्तपुर क्यान्सर अस्पताल र निजी अस्पतालका चार गरी जम्मा ६ वटा मात्र रेडियोथेरापी मेसिन सञ्चालनमा छन् । जनसंख्याका आधारमा नेपालमा अझै २५ वटा थप मेसिन आवश्यक पर्छ । त्रिवि शिक्षण अस्पताल, पाटन, सिभिल, सुशील कोइराला प्रखर क्यान्सर जस्ता ठूला अस्पतालमै रेडियोथेरापी सुविधा छैन । वीरमा भएको एउटा रेडियोथेरापीको ‘कोबाल्ट–६०’ मेसिन पनि बिग्रिएर २०७२ देखि थेरापी ठप्प छ ।

‘प्रविधि, विज्ञलगायतको अभावका कारण पहिला ९५ प्रतिशत बिरामी भारतलगायत मुलुकमा जानुपर्ने बाध्यता थियो । अहिले ठीक उल्टो ९५ प्रतिशत बिरामीको उपचार नेपालमै हुन्छ,’ वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन पिया भन्छन्, ‘बाँकी ५ प्रतिशत विदेशमा उपचारका लागि जाने गरेका छन्, तिनमा रोग पत्ता नलागेका वा धनी वर्ग पर्छन् ।’ सरकारले क्यान्सर रोगीहरूलाई सहुलियत रकम दिनुभन्दा पनि रोकथाममा लगानी गर्नुपर्ने उनको भनाइ छ ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७५ अनुसार सरकारले क्यान्सरका बिरामीका लागि एक लाख रुपैयाँ दिँदै आइरहेको छ । वाग्मती प्रदेश सरकारले ५० हजार रुपैयाँ दिन्छ भने पालिकाहरूले पनि सहुलियत रकम दिने गरेका छन् ।

क्यान्सरको उपचार गर्दै आइरहेका निजी अस्पतालका चिकित्सकहरू पनि राज्यले रोगको निदान गर्न छुट्टै नीति बनाउनुपर्नेमा जोड दिन्छन् । नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धिका संस्थापक एवं कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ भन्छन्, ‘अहिले महँगो उपचारका कारण सर्वसाधारण उपचारबाट वञ्चित हुनुपरिरहेको छ । सरकारले एक लाख रुपैयाँ सहुलियत दिँदैमा जिम्मेवारी पूरा हुँदैन । सहरी क्षेत्रमा केन्द्रित उपचारलाई सातै प्रदेशमा विस्तार गर्न जरुरी छ ।’ जिल्ला अस्पताललाई समेत क्यान्सरको रोग पत्ता लगाई निदान गर्न सक्ने गरी स्तरोन्नति गर्न उनले सुझाए । ‘सरकारले सहुलियतमा जग्गा भाडामा दिने र उपकरण खरिदमा विशेष छुट दिएमा निजीले पनि सर्वसुलभ मूल्यमा उपचार गर्न सकिन्छ,’ उनले भने ।

सेन्टरकै मेडिकल डाइरेक्टर डा. विजेशराज घिमिरेले सर्वसाधारणसम्म सहज पहुँच बनाउन सार्वजनिक निजी साझेदारी मोडेलमा सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए । ‘राज्यले चाहेमा अहिलेको भन्दा चार गुणा कम शुल्कमा उपचार गर्ने वातावरण बनाउन सकिन्छ,’ उनले भने, ‘यसतर्फ राज्यको ध्यान जान सकेको छैन ।’

नेपालमा ३० हजार जना रहेको भनिए पनि वास्तविक तथ्यांक फेला पर्न सकेको छैन । गाउँघरतिर रोग पालेर बसेका थुप्रै रहेको क्यान्सर रोग विशेषज्ञ बताउँछन् । उनीहरूका अनुसार नेपालमा ५० देखि ६० हजार जना क्यान्सरपीडित छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले निजी अस्पताल सञ्चालकलाई क्यान्सरलगायत घातक रोगको उपचार गर्न उपकरण खरिदमा राज्यले छुट दिने गरेको बताए । ‘विशेष छुट भने दिने व्यवस्था छैन । सरकारले रोग पत्ता लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिइरहेको छ । विशेषज्ञ चिकित्सक भने गाउँ/गाउँसम्म पठाउन सकिरहेका छैनौं,’ उनले भने, ‘सरकारले रोगको उपचारभन्दा पनि रोग लाग्न नदिन पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’ निजी साझेदारी मोडेलमा काम गर्ने विषयमा छलफल आवश्यक रहेको र रेडियोथेरापी मेसिन आवश्यक परे सम्बन्धित अस्पतालले मन्त्रालयमा प्रस्ताव गर्न सक्ने उनले बताए ।

चिकित्सकहरूका अनुसार खानपानका कारण ४० प्रतिशत र धूमपान/मद्यपानका कारण ३० प्रतिशत क्यान्सर रोग लाग्ने सम्भावना रहन्छ । पोलेको मासु, बोसो, सिसीमा प्याक गरिएका खाद्यपदार्थ हानिकारक रहेको क्यान्सर विशेषज्ञ डा. पियाले बताए । ‘क्यान्सर रोग एक तिहाइ रोक्न र एक तिहाइ उपचार गरेर निको बनाउन सकिन्छ,’ उनले भने, ‘एक तिहाइ मात्र हो रोक्न नसकिने ।’ शरीरमा नयाँ कोषिका बन्दा कहिलेकाहीं बिग्रिएको कोषिका टुक्रिएर धेरै हुन्छन् र ट्युमर बन्छ । कुनै हानिकारक हुन सक्छ र बढ्दै गएर यसले शरीरका अन्य भागमा समेत आक्रमण गर्छ ।

प्रकाशित : माघ २१, २०७९ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×