स्तनको स्वपरीक्षण किन ?- स्वास्थ्य - कान्तिपुर समाचार

स्तनको स्वपरीक्षण किन ?

नेपालमा ४०–५० वर्षका महिलामा २७ प्रतिशत, ५०–६० वर्षकामा २५ प्रतिशत र३०–४० वर्षका महिलामा १५ प्रतिशत स्तन क्यान्सर
विद्या राई

काठमाडौँ — स्वास्थ्यप्रति सचेत रहँदारहँदै पनि चितवनकी दिलकुमारी रावल थापा (पार्वती) लाई पाँच महिनाअघि अचानक देब्रे स्तनमा हल्का पोलेको महसुस भयो । यो दुखाइ अग्रज र साथीभाइलाई सुनाइन् । उनीहरूले ४० देखि ५० वर्षको उमेरमा स्वास्थ्य उताढचढाव भइरहने हुँदा महिलामा स्तन क्यान्सर हुने सम्भावनाबारे बताउँदै चाँडै चिकित्सकलाई देखाउन सल्लाह दिए ।

४५ वर्ष पुगेकी उनले सल्लाहलाई नकारिनन् । चितवन, काठमाडौं र भक्तपुरका क्यान्सर उपचार हुने अस्पतालमा जँचाइन् । तर रोग पहिचान हुन सकेन । एक महिनापछि गहुँको दानाजस्तो सानो गिर्खा पनि देखियो । यसपछि उनी दिल्ली गइन् । त्यहाँ पनि पहिलो जाँचमा रोग देखिएन । चिकित्सकले महिनावारी भएको एक सातामा फेरि आउन भने । दोस्रो पटकको परीक्षणबाट प्रारम्भिक चरणको स्तन क्यान्सर भएको पत्ता लाग्यो ।

स्तन क्यान्सरबारेका अध्ययन र यसका विशेषज्ञहरूले स्तनमा गिर्खा देखिनुलाई प्रारम्भिक लक्षण मान्छन् । नसर्ने रोग मानिने क्यान्सरको मुख्य कारक अन्तर्गत वंशाणुगत गुणलाई लिइन्छ । बढ्दो वातावरणीय परिवर्तन, खानपान तथा रहनसहनमा आएको परिवर्तनले पनि स्तन क्यान्सर हुन्छ । तर पार्वतीको जीवनमा यी कारक कति पनि मेल नखाने खालका छन् । ‘मेरो पारिवारिक पृष्ठभूमिमा कसैलाई क्यान्सर भएको थाहा छैन, स्तनपान नगराएर क्यान्सर हुन्छ भन्छन्, त्यो पनि होइन रहेछ,’ राष्ट्रिय सभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सभापति रहेकी उनले सुनाइन् । गत कात्तिकमा अपरेसन गरेर एक महिना आराम गरेपछि उनी नियमित काममा फर्केकी छन् ।

एकदमै प्रारम्भिक चरणकै हुँदा उपचारमा पुगेकाले शतप्रतिशत निको हुनेमा उनी पूर्ण विश्वस्त छिन् । यस चरणमा उपचारमा पुग्ने एकदमै कम हुन्छन् । क्यान्सर उपचाररत उनीसित अरु थुप्रै स्तन क्यान्सर प्रभावित, सरोकारवालाहरू जोडिए । ‘स्तनलाई महिलाको सौन्दर्यसित हेरिने हुँदा कति श्रीमान्ले अपरेसन गर्न नदिने रहेछन्, जीवनभन्दा ठूलो त अरू केही होइन,’ उनले समाजमा स्तन क्यान्सरप्रतिको दृष्टिकोण बदल्नुपर्ने बताइन् । पार्वतीको भोगाइ र सिकाइजस्तै पछिल्लो समय स्तन क्यान्सरको प्रवृत्ति फेरिएको छ । विशेषज्ञहरू रोग पहिचान र उपचारमा ढिला गर्न नहुने सुझाव दिन्छन् । ‘जति छिटो रोग पत्ता लगाउन सक्यो, पूर्ण रूपमा निदान गर्न सकिन्छ, धेरै फैलियो भने निको हुँदैन, नियन्त्रण मात्रै गर्न सकिन्छ,’ वीर अस्पतालकी क्यान्सर विशेषज्ञ डा. रमिला शिल्पकार भन्छिन्, ‘तर हाम्रोमा गिर्खा आएको/नआएको वास्ता गर्ने चलनै छैन ।’

अध्ययनहरूले नेपालमा ४० देखि ५० वर्ष उमेर समूहका महिलामा सबैभन्दा बढी २७ प्रतिशत, ५० देखि ६० वर्षमा २५ प्रतिशत र ३० देखि ४० वर्षमा १५ प्रतिशत स्तन क्यान्सर हुने गरेको देखाएका छन् । तर अस्पताल आएका १५/१६ देखि ९८ वर्षका महिलामा पनि स्तन क्यान्सर देखिएको छ । औसतमा प्रति २० देखि २५ महिलामा एक जनालाई स्तन क्यान्सर हुन्छ ।

क्यान्सर रोग विशेषज्ञ डा. शिल्पकार ४० वर्षभन्दा माथिका महिलाले वर्षमा एकचोटि ‘म्यामोग्राम’ (स्तन क्यान्सर भए नभएको जाँच गर्ने प्रविधि) गर्न र स्तनमा समस्या महसुस भए तुरुन्तै उपचारमा जान सुझाव दिन्छिन् । गाउँघरका स्वास्थ्य संस्थामा सहजै परिक्षण सुविधासमेत नहुने हुँदा उत्तम उपाय भनेको ‘स्वपरीक्षण’ नै रहेको उनको भनाइ छ । ‘युट्युबतिर हेरेर आइडिया लिन सकिन्छ । महिनावारी भएको ५/६ दिनपछि स्तन छाम्दा गिर्खा छ/छैन थाहा पाउन सकिन्छ,’ उनले भनिन्, ‘महिनावारी रोकिएकाले महिनामा एकचोटि जुनसुकै समयमा चेक गर्नुपर्छ ।’

क्यान्सरबाट निको भएकी अभियन्ता बन्दना खाँड महिलाले कामकाजसँगै आफ्नो स्वास्थ्य हेरचाहलाई ख्याल राख्नुपर्ने तथा रोगले नच्यापी डाक्टर कहाँ नजाने बानीलाई सुधार्नपर्ने सुझाउँछिन् । उनलाई आठ वर्षअघि ४२ बर्षको उमेरमा पहिलो चरणको स्तन क्यान्सर थाहा भएको थियो । चार महिनायता दोस्रो चरणको स्तन क्यान्सरको उपचारमा रहेकी पत्रकार एवम् लेखक अमृता लम्सालको अनुभवमा क्यान्सर प्रभावितलाई मनोसामाजिक परामर्श अति आवश्यक छ । ‘विदेशमा किमो सुरु गर्नुअघि मनोसामाजिक परामर्श दिन्छन्, यहाँ त के असर गर्छ, कस्तो पूर्वतयारी हुनुपर्छ भनेर थाहा नै दिइँदैन,’ ६० वर्षिया लम्सालले भनिन् ।

विश्व स्वास्थ्य संगठनको ‘ग्लोबोक्यान २०२०’ को रिपोर्टअनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (१९.४ प्रतिशत) पछि स्तन क्यान्सर (१७.१ प्रतिशत) दोस्रो स्थानमा पर्छ । पाँच वर्षअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले ग्रामीण क्षेत्रमा पाठेघरको मुखको क्यान्सर र सहरी क्षेत्रमा स्तन क्यान्सर बढी रहेको देखाएको छ । स्तन क्यान्सर महिला मात्रै नभई पुरुषलाई पनि हुने गर्छ । तर पुरुषको तुलनामा महिलामा स्तन क्यान्सरको जोखिम सय गुणा बढी हुन्छ । बरु पुरुषको स्तन महिलाको जति ठूलो आकारमा नहुने हुँदा महिलामा देखिने पहिलो स्टेजको क्यान्सर पुरुषमा चौथो स्टेजमा पुगेको हुन सक्छ ।

पछिल्लो समय परीक्षण र उपचार प्रविधि बढ्दै गएको हुँदा स्तन क्यान्सर पहिचान र उपचार सहज हुन थालेको छ । उपचार पद्धति बदलिएको छ । पहिले स्तन क्यान्सर हुनेबित्तिकै अपरेसन गरेर स्तन पूरै काटेर फ्याल्नुपर्छ भन्ने थियो । उपचार प्रविधिको विकासले स्तन बचाएर अपरेसन गर्न पनि सकिने भएको छ ।

नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरमा स्तन क्यान्सर कार्यक्रम निर्देशक डा. कपेन्द्रशेखर अमात्य सबैमा एकै लक्षण नदेखिने बताउँछन् । स्तन वा काखीको ठीकमुनि वा घाँटीमा गिर्खा आउनु, स्तनको मुन्टाबाट पिप बग्नु, रगत बग्नु, स्तनको छालामा रंग परिवर्तन हुनु, रातोपन हुनु, स्तनको छालामा घाउ आउनु, निरन्तर दुखाइ हुनु, स्तनको छालामा खोपिल्टो र रातोपनको विकास हुनु स्तन क्यान्सरको प्रमुख लक्षण र संकेत हुन् । ढिला बच्चा जन्माउने, स्तन नचुसाउने महिलामा स्तन क्यान्सर हुने सम्भावना बढि हुने हो, तर यिनै कारणले स्तन क्यान्सर भएको दाबी गर्न सकिँदैन ।

‘सबैमा एकनास हुँदैन, माथिका ८० प्रतिशत लक्षण स्तन क्यान्सर नहुन पनि सक्छन्, हामीलाई डर भनेको २० प्रतिशत लक्षणहरूको हो, जसले चाहिँ क्यान्सर भएको हुन सक्छ,’ उनले भने । चिकित्सकका अनुसार स्तन क्यान्सरमा प्रारम्भिक अवस्थामा देखिने लक्षण भनेको स्तनमा गिर्खा आउनु नै हो । स्तन क्यान्सर चौथो चरणसम्मको हुन्छ । प्रारम्भिक चरणमा पत्ता लागेको स्तन क्यान्सर प्रभावित १० वर्ष बाँच्ने दर ९० प्रतिशत हुन्छ । नेपालमा जुनसुकै चरणका स्तन क्यान्सर रोगीमध्ये उपचारमा आएका ८० प्रतिशतको निदान हुने गरेको पाइन्छ । सन् २०१८ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यका, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पश्चिम र पूर्वी रुकुम गरी नौ जिल्लामा गरेको अध्ययनले प्रतिलाख महिलामध्ये सबैभन्दा बढी भक्तपुरमा २४.९ प्रतिशत, काठमाडौं र ललितपुरमा २१.५/२१.५ प्रतिशतलाई स्तन क्यान्सर भएको पाइएको थियो ।

प्रकाशित : माघ २१, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

सडक दुर्घटनामा वृद्धि तर छैन तत्काल उद्धार प्रणाली

समयमै उपचार नपाउँदा घाइतेहरुको अकालमै जाँदै छ ज्यान
मोटरसाइकल यात्रा बढी असुरक्षित
विद्या राई

काठमाडौँ — बारा, कोल्हबीकी ५८ वर्षीया ज्ञान्त्री चौधरी पुस २६ मा मोटरसाइकलको ठक्करबाट घाइते भइन् । तामागढी–सिम्रौनगढ सडक खण्डमा हिँडिरहेकी उनलाई कोल्हबीबाट बगेवातर्फ जाँदै गरेको मोटरसाइकलले साँझ ७ बजे ठक्कर दिँदा टाउको, दाहिने खुट्टा र शरीरका अन्य भागमा चोट लागेको थियो ।

उनलाई तत्कालै स्थानीय क्लिनिकमा लगियो तर त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जको एलएस न्युरो अस्पताल पुर्‍याइयो । जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी राजेश थापाका अनुसार उपचारकै क्रममा राति ९ बजे उनको मृत्यु भयो । ‘दुर्घटना भएपछि क्लिनिकमा प्राथमिक उपचार गर्न थालेछन्, नसकेपछि रिफर गरेछन्,’ डीएसपी थापाले भने, ‘प्रहरीमा खबर आएपछि सनाखत गर्दा अलि समय लाग्ने नै भयो, टाउकोमा दुई इन्च गहिरो चोट लागेको रहेछ, उपचार गर्दागर्दै मृत्यु भयो ।’

बालीमा विषादी हाल्न पुस तेस्रो साता खेत हिँडेका पर्साका ५५ वर्षीय हुल्सीदास थारू बाटैमा बाइक दुर्घटनामा परे । घाँटीमा चोट लाग्यो, हातखुट्टा चल्न छाडे । परिवारका सदस्यले उनी घाइते भएको आधा घण्टाभित्रै वीरगन्ज अस्पताल पुर्‍याए । दुई दिन उपचार गरेपछि अस्पतालले काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिदियो । उनीहरू हायस रिजर्भ गरेर काठमाडौं आए । ट्रमाको आईसीयूमा राखेर उपचार सुरु भयो । उनको उपचारमा संलग्न न्युरो सर्जरी विशेषज्ञ नरेन्द्र शालिकेका अनुसार थारूको घाँटीको हड्डी फ्याक्चर भएर नसा च्यापिएको र रगत जमेको थियो । हातखुट्टा प्यारालाइज्ड भइसकेका थिए । टाउको हलचल गर्न नमिल्ने गरी घाँटी र नसामा असर पुगेकाले चिकित्सकले अपरेसन गर्ने योजना बनाए तर परिवारले मानेनन् ।

कुरुवा आएकी थारूकी पत्नी तुरनदेवीले भनिन्, ‘डाक्टरले अझै राख्नुपर्छ भन्नुभएको छ, हातखुट्टा नि कहिल्यै निको हुँदैन रे, अस्पताल बस्न पैसै छैन ।’ चिकित्सक शालिकेका अनुसार थारूलाई मेरुदण्ड पक्षघात (स्पाइनल कर्ड इन्जुरी) भएको हो, त्यो अपरेसन गरेर निको हुने त होइन तर खतराजन्य स्थितिबाट मुक्त गराउन सकिन्छ । ‘कम्तीमा टाउको हलचल गर्न सक्ने बनाउन सकिन्थ्यो,’ उनले भने, ‘घर लिएर गएपछि ह्विलचियर चलाउन नजान्नुहोला, सुत्दा टाउको राख्न मिलेन भने ठाउँको ठाउँ ज्यान जान सक्छ ।’ उनीहरूले ट्रमा ल्याएको सत्रौं दिनमा आईसीयूमा राखेको बिरामीलाई घर फर्काए । ‘अपांगता अधिकारसम्बन्धी ऐन ०७४’ ले कठिनाइको आधारमा मेरुदण्ड पक्षाघात भएका व्यक्तिहरूलाई शारीरिक अपांगता भनेर वर्गीकरण गरेको छ ।

बारा र पर्साको जस्तै सडक दुर्घटनाले बिरामी स्वयं र परिवारमा हानि–नोक्सानी थपिने त छँदै छ, राज्यले आर्थिक रूपमा सक्रिय जनसंख्या गुमाइरहेको छ । ०७८ वैशाखमा प्रकाशित ‘नेपालमा चोटपटकको रोकथाम र पहिलो प्रतिकार्यसँग सम्बन्धित नीति र कानुनको समीक्षा’ सम्बन्धी जर्नलले कम र मध्यम आय भएका देशका लागि दुर्घटनाका चोटको आर्थिक बोझ ठूलो हुने उल्लेख गरेको छ ।

सन् २०१७ मा मात्रै नेपालमा सडक दुर्घटनाको आर्थिक भार १२२.८८ मिलियन अमेरिकी डलर अनुमान गरिएको थियो, जुन त्यस वर्षको कुल गार्हस्थ्य उत्पादन ७ अर्ब ५६ करोड अमेरिकी डलरको १.५२ प्रतिशत हुन आउँछ । दुर्घटनाका घाइतेलाई उच्च गुणस्तरको चिकित्सा उपचार र हेरचाह पुर्‍याउन सके मृत्युबाट जोगाउन, चोटपटकको गाम्भीर्यता घटाउन, अपांगतालाई रोक्न र आर्थिक भारलाई कम गर्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सडक दुर्घटनामा परेर संसारभरि हरेक वर्ष १३ लाख मानिसले ज्यान गुमाइरहेका छन् । पछिल्ला वर्ष दिनहुँ सरदर ५८ वटा सडक दुर्घटना हुन्छन् भने ६ देखि ७ जनाले ज्यान गुमाउने गरेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालको अभिलेखले आब ०६९/०७० देखि ०७८/०७९ सम्म १० वर्षमा देशभर २ लाख १३ हजार ३ सय ८८ सवारी दुर्घटना हुँदा २२ हजार ९ सय ६१ मानिसले ज्यान गुमाए । ४६ हजार ८ सय ६० जना गम्भीर घाइते भए । १ लाख १४ हजार ६ सय ५५ जना सामान्य घाइते भए । १० वर्षको सवारी दुर्घटनाको ट्रेन्ड हेर्दा दुर्घटना बर्सेनि बढिरहेको छ ।

सवारीसाधनमा मोटरसाइकल यात्रा असुरक्षित देखिन्छ । सरकारले स्वास्थ्य सेवा ऐन र स्वास्थ्य राष्ट्रिय रणनीतिमार्फत दुर्घटनाका घाइतेलाई उच्च गुणस्तरको चिकित्सा उपचार र हेरचाह पुर्‍याउने परिकल्पना गरे पनि विपन्न परिवारले लाभ लिन सकेका छैनन् ।

‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ मार्फत सरकारले एम्बुलेन्समार्फत घाइतेको उद्धार गरी ज्यान बचाउने नीति लिएको छ । त्यसबमोजिम एम्बुलेन्स सञ्चालन गर्ने सरकारी, गैरसरकारी, निजी वा गैरनाफामूलक सामुदायिक अस्पताल वा स्वास्थ्य संस्थाले सडक दुर्घटनामा परेका व्यक्तिलाई एम्बुलेन्स सेवा तथा उक्त व्यक्तिलाई घटनास्थलदेखि अस्पताल पुर्‍याउनुभन्दा अघिसम्म गरिने आकस्मिक प्राथमिक उपचार र चिकित्सकीय सेवा निःशुल्क प्रदान गर्नुपर्ने हुन्छ । तर, यसबाट दुर्घटनाका बिरामीले सेवा पाइसकेका छैनन् ।

हाडजोर्नी विशेषज्ञ डा.सन्तोष पौडेलका अनुसार सडक दुर्घटनाका कतिपय घाइतेको केही मिनेटमै मृत्यु हुन्छ, कतिपय केही घण्टासम्म बाँच्न सक्छन् । ‘जतिसक्दो चाँडो उद्धार र उपचार गर्न सकियो, त्यति नै बाँच्ने सम्भावना हुने हुँदा हामीले एम्बुलेन्सको अवधारणा बनाएका हौं, विशिष्ट उपचार सेवासहितको लाई ‘ए’, आधारभूत सुविधा भएकालाई ‘बी’ र ड्राइभर मात्रै भएकालाई ‘ट्राभल एम्बुलेन्स’ भनेका छौं, यो लागू भयो भने राम्रो हुन्थ्यो,’ उनी भन्छन्, ‘भारतमा जसरी आर्मी, पुलिस र युवालाई परिचालन गर्न सके राम्रो हो, यस्तो उद्धार प्रणालीको अभ्यास भइसकेको छैन । दुर्घटनाका बिरामीलाई कति प्राथमिकता दिने भन्ने स्वास्थ्यकर्मीमा नै सचेतना पुगेको छैन, उनीहरूमा तालिम पुर्‍याउनेतर्फ लागेका छौं ।’

स्वास्थ्यकर्मीलाई तालिम, दुर्घटनाका घाइतेलाई निःशुल्क उपचार र सबै स्थानीय तहमा आधा एक घण्टाको दूरीमा एम्बुलेन्स व्यवस्था गर्न सकियो र जीपीएस प्रणालीमार्फत परिचालन गर्न सकियो भने धेरैको जीवन बचाउन सकिने उनले बताए ।

छिमेकी देश भारतको दिल्ली सरकारले सडक दुर्घटनामा हुने मृत्यु कम गर्न सन् २०१९ अक्टोबरदेखि एउटा अभियान नै सुरु गरेको छ । ‘फरिस्ते दिल्ली के’ नाम दिइएको उक्त अभियानको मुख्य लक्ष्य सडक दुर्घटनाका घाइतेलाई आपत्कालीन उपचारका लागि जतिसक्दो चाँडो अस्पताल पुर्‍याउने हो । दिल्ली प्रदेश सरकारका अनुसार उक्त अभियान लागू भएपछिको करिब तीन वर्षमा १३ हजारभन्दा बढीको ज्यान जोगिएको छ ।

प्रकाशित : माघ १३, २०७९ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×