कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आधालाई जोगाउन सकिन्छ क्यान्सरबाट

सकारात्मक जीवनशैली, स्वस्थकर खानपान, खोप तथा नियमित स्वास्थ्य परीक्षण गर्न विज्ञको सुझाव
अतुल मिश्र

काठमाडौँ — स्वस्थ र सकारात्मक जीवनशैली अपनाए झन्डै आधा जनसंख्यालाई क्यान्सर लाग्नबाट जोगाउन सकिने अनुसन्धानले देखाएका छन् । पहिले विकसित मुलुकमा बढी क्यान्सर देखिने गरे पनि हाल नेपालजस्तो गरिब राष्ट्रमा समेत सहरीकरण, प्रदूषण, नकारात्मक जीवनशैली, विषादी आदिको प्रयोग बढेसँगै क्यान्सरको समस्यामा वृद्घि भएको छ । मुलुकमा बर्सेनि सरदर ३५ हजार नयाँ क्यान्सर रोगी थपिने आकलन छ ।

आधालाई जोगाउन सकिन्छ क्यान्सरबाट

मानव शरीर अनगिन्ती कोषले बनेको हुन्छ । कहिलेकाहीं शरीरको कुनै विशेष अंगको कोषिकामा शरीरको नियन्त्रण बिग्रिन्छ र कोषिका अनियन्त्रित तरिकाले बढ्न थाल्छन्, त्यसलाई क्यान्सर भन्ने गरिन्छ । क्यान्सरमा असामान्य कोषिका तीव्र गतिले निर्माण हुन्छ, जसले शरीरको अन्य खण्डमा आक्रमण गर्न सक्छ र फैलिन थाल्छ । यसलाई मेटास्टेसिस भनिन्छ । मेटास्टेस क्यान्सरबाट मृत्यु हुने प्राथमिक कारण हो । केही पुराना संक्रमण पनि क्यान्सरका लागि जोखिमको कारक बन्न सक्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सन् २०२० मा करिब १ करोडको मृत्युको कारण क्यान्सर थियो । अर्थात्, विभिन्न रोगबाट हुने प्रत्येक ६ मृत्युमध्ये १ मृत्यु क्यान्सरले गर्दा हुने गरेको छ । अमेरिकास्थित नेसनल क्यान्सर इन्स्टिच्युट (एनसीआई) का अनुसार विभिन्न रूपमा तमाखुको उपयोग, अस्वस्थकर खानपान, अव्यवस्थित जीवनशैली, असुरक्षित यौन व्यवहार, वातावरणमा भएको क्यान्सर उत्पन्न गर्न सक्ने जोखिमको कारकतत्त्वबाट जोगिए यो रोगबाट केही हदसम्म बच्न सकिन्छ ।

‘सकारात्मक जीवनशैली, स्वस्थकर खानपान, क्यान्सर उत्पन्न गर्ने संक्रमणविरुद्घ खोप, प्रदूषणबाट अलग, नियमित स्वास्थ्य परीक्षणले मुलुकका ५० प्रतिशतभन्दा बढीलाई क्यान्सर रोगबाट बचाउन सकिने अवस्था छ,’ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भने ।

डब्लूएचओका अनुसार क्यान्सरबाट हुने मृत्युमध्ये झन्डै एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक सक्रियताको कमीले गर्दा हुन्छ । ह्युमेन प्यापिलोमा भाइरस (एचपीभी) र हेपाटाइटिस जस्ता क्यान्सर उत्पन्न गर्ने संक्रमण निम्न र मध्यम आय भएका मुलुकमा क्यान्सरको घटनाका लागि करिब ३० प्रतिशत जिम्मेवार छन् ।

बीपी क्यान्सर अस्पतालकी क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख डा.अस्मिता राणाका अनुसार हाल नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ, दोस्रोमा पाठेघरको मुखको क्यान्सर छ । त्यसपछि क्रमशः स्तन क्यान्सर, पेटको क्यान्सर र थाइराइडको क्यान्सरको समस्या छ । पुरुषमा सबैभन्दा बढी फोक्सो, त्यसपछि पेट, ठूलो आन्द्रा, मुख, थाइराइडको क्यान्सर छ भने महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन, फोक्सो, पित्त थैली, अण्डाशयको क्यान्सर देखिएको छ ।

विज्ञहरूका अनुसार पछिल्लो समय नेपालमा युवा वर्गमा क्यान्सर बढी देखिन थालेको छ । डा. गौतम भन्छन्, ‘हाम्रो अस्पतालको एक दशकको तथ्यांक हेर्दा पहिले उपचारका लागि ६०–७० वर्षका बढी आउँथे भने हाल २० देखि ४० वर्षका ‘प्रोडक्टिभ’ उमेर समूहका युवा बढी आउन थालेका छन् ।’

रगत एवं क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झाका अनुसार पश्चिमा मुलुकको दाँजोमा नेपालमा कम उमेरमा क्यान्सर देखिने गरेको छ । ‘३० देखि ५० वर्ष उमेर समूहलाई यहाँ क्यान्सर बढी देखिराखेको छ,’ उनले भने । वयस्कको दाँजोमा बालबालिकामा देखिने क्यान्सरको उपचारले ६० देखि ७० प्रतिशतसम्म सफलता पाउने गरेको उनले बताए । वयस्कमा देखिने क्यान्सर पुनः बल्झिने दर बढी भए पनि बच्चाहरूमा यो दर धेरै कम रहेको डा. झाको दाबी छ ।

उनका अनुसार बच्चाहरूमा सबैभन्दा बढी रगत क्यान्सर देखिन्छ । यसबाहेक मृगौला, हाड तथा मांसपेशी, ब्रेन ट्युमरको समस्या पनि देखिने गरेको छ । विश्वमा बर्सेनि करिब ४ लाख बालबालिकामा क्यान्सर विकास हुने डब्लूएचओको भनाइ छ ।

डब्लूएचओको सुझाव

– धूवाँसहित वा धूवाँरहित सुर्तीको उपयोग नगरौं

– शरीरको स्वस्थ तौल कायम राखौं

– प्रशस्त फलफूल, सागसब्जी, स्वस्थकर आहार लिऔं

– नियमित व्यायाम गरौं

– मदिराको प्रयोग सीमित गरौं

– सुरक्षित यौन अभ्यास गरौं

– हेपाटाइटिस 'बी' र एचपीभीविरुद्घ खोप लिऔं

– परावैजनी किरणको जोखिम कम गरौं

– अनावश्यक आयोनाइजिङ रेडिएसनको सम्पर्कबाट जोगिऔं

– सहरी वायु प्रदूषण र ठोस इन्धनको उत्पन्न धूवाँबाट बचौं

– नियमित चिकित्सा सेवा लिइराखौं

प्रकाशित : माघ २१, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?