१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बालबालिकामा हुने निद्राको समस्या र समाधान

काठमाडौँ — बालबालिकाको स्वास्थ्य र विकासको लागि पर्याप्त निद्रा महत्वपूर्ण छ । कम्तीमा ५० प्रतिशत बालबालिकाले आफ्नो बाल्यकालमा कुनै न कुनै समयमा निद्रासम्बन्धी समस्याहरू अनुभव गरेका हुन्छन् ।

बालबालिकामा हुने निद्राको समस्या र समाधान

बालबालिकाहरूमा निद्रासम्बन्धी समस्या किशोरावस्थामा पनि हुन्छन् भन्ने हुँदैन । यद्यपि, त्यस्ता समस्याले बालबालिकाको दैनिक व्यवहार र जीवनको समग्र गुणस्तरमा बाधा पुर्‍याउन सक्छन् नै अभिभावकहरुलाई पनि अप्ठ्यारो बनाइरहेको हुन्छ ।

अनिद्रा (इन्सोमेनिया)

निद्रा नलाग्ने समस्या मध्येको एक इन्सोमेनिया हो । यसले २० देखि ३० प्रतिशत बालबालिकालाई असर गर्छ । यसमा पनि धेरै प्रकार छन् ।

‘बिहेबेरियल इन्सोमेनिया’ : यो ५ वर्ष सम्मका बच्चाहरूमा सबैभन्दा धेरै देखिने हुन्छ । बच्चाहरु लामो समयसम्म ननिदाउने र बारम्बार राति उठ्ने हुन्छन् ।

‘कन्डिसनल इन्सोमेनिया’ : यो समस्या बालबालिका र किशोरकिशोरीहरूमा देखिन सक्छ । जस्तै सुत्ने समय र निद्रासँग सम्बन्धित चिन्ताको भावनाले बच्चाहरु निदाउन वा सुत्न सक्दैनन् ।

‘ट्रान्सियन्ट इन्सोमेनिया’ : बच्चाको सामान्य दिनचर्यामा अस्थायी अवरोधहरू जस्तै यात्रा, बिरामी वा तनावपूर्ण घटनाहरूले पनि निद्रामा समस्या ल्याउँछ ।

अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)

अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए) तब हुन्छ जब घाँटीमा भएका तन्तुहरूले निद्राको समयमा हावा जान रोक्छ । यसले बारम्बार तथा क्षणिक रुपमा श्वासप्रश्वास बन्द गराउन सक्छ जसले रातको निद्रामा उल्लेखनीय रूपमा बाधा पुर्‍याउन सक्छ । लगभग १ देखि ५ प्रतिशत बालबालिकाले यो अनुभव गर्छ्न् । टन्सिल, मोटोपनालगायत दाँतको अवस्थाले यस्तो समस्या गराउन सक्छ । बच्चाहरूमा ओसएको कारण र गम्भीरता अनुसार सिप्याप (कन्टिन्युस पोजिटिभ एयरवे प्रेसर) थेरापी वा रातमा माउथगार्ड लगाउन सकिन्छ ।टन्सिल वा एडेनोइड्सको कारणले हो भने हटाउन शल्यक्रिया गर्न सकिन्छ ।

स्लीप एपनिया भएका अधिकांश बालबालिकाले घुर्ने गर्छन् । ध्यान राख्नुहोस् कि बच्चाहरुमा घुर्ने सधैं ठूलो समस्या संकेत गर्दैन । ३ देखि १२ प्रतिशत बच्चाहरूले स्लीप एपनियाका अन्य लक्षणहरू नदेखाई घुर्छन् । त्यसैले धेरै घुर्ने समस्या भएका बालबालिकाको जाँच गर्नुपर्ने हुन्छ ।

सोम्नाम्बुलिज्म (निद्रामा हिँड्ने)

यसलाई सजिलो तरिकाले भन्नुपर्दा पर्दा निद्रामा हिँड्ने वा सुतिरहेको बेला अन्य जटिल व्यवहारहरूमा संलग्न हुने समस्या हो । निद्रामा हिँड्ने समस्या वयस्कको तुलनामा बालबालिकामा बढी हुने गर्छ । लगभग ५ प्रतिशत बालबालिका यो समस्या हुन्छ । निद्रामा हिँड्ने समस्या समाधान हुन सक्छ तर लक्षणहरू बारम्बार र निरन्तर छन् भने जाँच गर्नुपर्ने हुन्छ ।

सोम्नाबुलिज्मको पनि धेरै प्रकार रहेका छन् । बालबालिकाहरुले नाइट टेरर (रातमा आतंक महसुस गर्ने) समस्या पनि हुन्छ । यो एक प्रकारको प्यारासोम्निया हो जहाँ सुत्ने व्यक्ति अचानक डराएको महसुस गर्छ तर पछि याद हुँदैन । बच्चाहरुमा निद्रासँग सम्बन्धित थुप्रै समस्याहरु देखिन सक्छन् । दिनको समयमा पनि अत्यधिक निद्रा लाग्नु, रातको समयमा दाँत किट्ने लगायतका समस्या पनि देखिन सक्छन् । यस्ता समस्या बारम्बर देखिए विशेषज्ञहरुसँग सल्लाह लिनुपर्छ ।

समाधानका उपायहरु

बाल्यकालको अनिद्रा सम्पूर्ण परिवारको लागि चुनौतीपूर्ण हुन सक्छ । यद्यपि, प्रभावकारी उपचारहरू उपलब्ध छन् । सुत्ने समयको नियमित दिनचर्या स्थापना गर्ने जस्ता व्यवहार परिवर्तनहरू सामान्यतया उपचारको पहिलो उपाय हुन् र यसले बच्चा र उनीहरूका आमाबाबु दुवैको जीवनमा सुधार ल्याउन सक्छ ।

यदि बच्चाहरुमा निद्रासँग सम्बन्धित यस प्रकारका समस्या तथा गडबडीहरु छन् भने बालरोग विशेषज्ञहरुसँग सम्पर्क गर्नुस् । चिकित्सकहरुले बच्चाको ‘ओभरनाइट पोलिसोम्नोग्राफी’ साथै होम स्लीप टेस्टिङ) गराउँछन् । यदि बच्चाले सुत्ने समय र निद्रासँग सम्बन्धित बारम्बार समस्याहरू अनुभव गरिरहेको छ भने आत्तिनु पर्दैन । अभिभावकहरुले यस्ता उपायहरु अपनाउन सक्छन् ।

- अभिभावकहरुले स्लिप हाइजिनमा सुधार गराउन सक्छन् । जस्तो कि बच्चाको बानी र दिनचर्यामा ध्यान दिने । एउटै सुत्ने समय बनाउने प्रयास गर्ने, दैनिक व्यायाम, धेरै मोबाइल तथा ग्याजेट्सहरुमा नभुलाउने ।

- मानसिक स्वास्थ्य समस्याहरूको सामना गरिरहेका बालबालिका र किशोरकिशोरीहरूलाई पनि निद्राको समस्या हुने सम्भावना बढी हुन्छ।यसमा पनि अभिभावकहरुले ध्यान दिनुपर्छ ।

- बच्चाको सुत्ने ठाउँले पनि उसको निद्रामा प्रभाव परिरहेको हुन्छ ।सुतेको ठाउँमा आवाज कम गर्नु, सुत्ने समय अघि बत्तीहरू मधुरो राख्नु, तापक्रम नियन्त्रण गर्नु ताकि राम्रो निद्रा परोस् ।

प्रकाशित : माघ १४, २०७९ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?