चितवन मेडिकल कलेजको क्यान्सर उपचार केन्द्र सञ्चालनमा- स्वास्थ्य - कान्तिपुर समाचार

चितवन मेडिकल कलेजको क्यान्सर उपचार केन्द्र सञ्चालनमा

रमेशकुमार पौडेल

चितवन — चितवन मेडिकल कलेज (सीएमसी)को भरतपुरमा  रहेको शिक्षण अस्पतालमा क्यान्सर रोगको पनि उपचार सुरू भएको छ । अस्पताल हाताभित्र अलग्गै भवनमा रहेको 'सीएमसी क्यान्सर इन्स्टिच्युट' बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

१०० शय्याको सो अस्पतालमा क्यान्सर भए नभएको परीक्षणका साथै शल्यक्रिया, रेडियसन थेरापी, केमोथेरापी, ब्याक्रिथेरापी जस्ता उपचार सुविधा रहेको अस्पतालले जनाएको छ । उपचारका लागि तत्काल चिकित्सकको १० जनाको टिम संलग्न रहने छन् ।

अस्पतालमै 'ए' श्रेणीको उच्चस्तरीय प्रयोगशाला रहेको र प्रायजसो नमुना परीक्षण सोही प्रयोगशालामा हुने अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए । क्यान्सर पत्ता लागेको ३/४ दिनमै उपचार सेवा सुरू हुने, शल्यक्रिया र थेरापीका लागि लामो समय पालो कुर्न नपर्ने लम्सालको भनाइ छ ।

चितवन भरतपुरमै ४ सय शय्याको पुरानो सरकारी क्यान्सर अस्पताल पनि छ । तर पालो कुर्नु पर्ने समस्याले देश र चितवनकै धेरै बिरामी भारतको दिल्ली र अन्य देशसमेत जाने गरेका छन् । पालो कुर्न नपर्ने भएपछि धेरै बिरामी भरतपुरमै रोकिने आशा डा.लम्सालको छ ।

डा.सुभास ठाकुरको नेतृत्वको टोली क्यान्सर रोगीको उपचारमा खटिने अस्पतालले जनाएको छ । अस्पतालले बिनाशल्यक्रिया टाउकोभित्रको ट्युमरको उपचार गर्ने, शल्यक्रिया गर्न नमिल्ने अन्तिम अवस्थाको क्यान्सर र हड्डीको क्यान्सरको उपचार प्रभावकारी बनाउन उच्च प्रविधि प्रयोग गरेर रेडियसन थेरापी उपलब्ध गराउने डा.लम्सालले बताए । अस्पतालमा दिनमा सयजनालाई रेडियसन थेरापी दिन सकिने उनको भनाइ छ ।


प्रकाशित : माघ १२, २०७९ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

श्रीपञ्चमीमा अक्षरारम्भ [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी बिहीबार देशभर मनाइँदै छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । यो दिन विद्यारम्भको मुख्य तिथि भएकोले विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

यसैगरी वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको थियो ।

ऋतु विज्ञानअनुसार चैत र वैशाखलाई शुद्ध वसन्त ऋतु मानिएको छ । तर पनि वासन्ती प्रकृतिको पूर्व रङ यसै दिनदेखि रूख तथा बिरुवाहरूमा नयाँनयाँ पालुवाहरू देखिने, मानिसहरूको मानसिक प्रकृति बदलिने, शिशिर ऋतुको भन्दा बेग्लै किसिमको हावा बहने र बाह्य वातावरणले समेत प्रमुदित रूप धारण गर्‍यो कि भन्ने भान पर्ने हुनाले यस दिनलाई वसन्त ऋतुको पहिलो दिन मानी वासन्तोत्सव गर्ने पनि परम्परा छ । यही कारणले गर्दा यस पर्वको अर्को नाम 'वसन्त पञ्चमी' रहेको हो ।


प्रकाशित : माघ १२, २०७९ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×