बच्चा र वृद्धवृद्धालाई न्यानो- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बच्चा र वृद्धवृद्धालाई न्यानो

बालबालिकामा रुघाखोकी, भाइरल इन्फेक्सनको सम्भावना बढी रहन्छ भने ज्येष्ठ नागरिकमा दम बढ्ने, जोर्नी दुख्नेलगायतका समस्या देखिन्छन्
बुनु थारु, सीमा तामाङ

काठमाडौँ — मौसमी तापक्रम कम भएसँगै बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा हुन्छन् । रुघाखोकी, इन्फ्लुएन्जा, श्वासप्रश्वासको समस्या धेरैजसो जाडो मौसममा देखिने गर्छ । चिसोबाट सिर्जित समस्या लिएर यतिबेला अस्पताल र स्वास्थ्य संस्था धाउनेहरू पनि बढेका छन् ।

त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बमले केही सातायता श्वासप्रश्वासका बिरामी आउने क्रम बढेको र त्यसमा ज्येष्ठ नागरिक अधिक रहेको बताए । उनका अनुसार घरमै अक्सिजन वा इन्हेलर लिइराखेका, दमखोकीका बिरामी, क्यान्सरको उपचार गराइरहेका, इन्सुलिन तथा औषधि खाइरहेका, रक्तचाप, मिर्गौला वा मुटुको समस्या भएका ज्येष्ठ नागरिकलाई जाडो मौसममा झन् जटिलता देखिन्छ ।

उनी त चिसो मौसममा मार्निङ वाक नजान पनि सल्लाह दिन्छन् । ‘बिहान शीत पर्छ र कुहिरो लागेको हुँदा चिसोले चाँडै समात्न सक्छ,’ उनी सुझाउँछन्, ‘दीर्घरोगीले औषधि नियमित सेवन गर्ने, तातो खानेकुरा खाने, धूमपान तथा मद्यपानबाट टाढा बस्ने, हावा पास हुने ठाउँमा मात्र हिटर ताप्ने, पूजाआजाका नाममा चिसोपानीले ननुहाउने, फलफूल तथा सागपात बढी खाने गर्नुपर्छ ।’

बालबालिका र ज्येष्ठ नागरिक चिसो तापक्रममा अरू उमेर समूहभन्दा सधैं उच्च जोखिममा हुन्छन् । तिनीहरूलाई फ्लु र जाडोसम्बन्धी अन्य समस्याबाट बचाएर सुरक्षित र स्वस्थ राख्नु आवश्यक छ । बालबालिकामा रुघाखोकी, भाइरल इन्फेक्सनको सम्भावना बढी रहन्छ भने ज्येष्ठ नागरिकमा दम बढ्ने, जोर्नी दुख्नेलगायत समस्या देखिने गरेका छन् । बालबालिकामा रुघाखोकी, दमजस्तो घ्यारघ्यार हुने, निमोनिया, झाडापखालालगायतको समस्याले बढी सताउने चिकित्सक बताउँछन् ।

ओम अस्पतालकी बालरोग विशेषज्ञ डा. रीता सिंहले विशेषगरी रुघाखोकी, ज्वरो, भाइरल डायरियाको समस्या लिएर आउनेको संख्या बढी रहेको बताइन् । श्वासप्रश्वासको संक्रमणबाट बच्न मास्क लगाउने, हात सफा राख्ने, बच्चाहरू बिरामी भएमा पर्याप्त आराम गराउनुपर्ने उनको सुझाव छ । ‘अभिभावकले दुई दिनमा ज्वरो निको भयो भन्दैमा स्कुल पठाउनुहुन्छ तर बच्चालाई पूर्ण रूपमा आराम पुगेको हुँदैन । समस्या फेरि बल्झिन सक्छ,’ उनले भनिन्, ‘उनीहरूलाई न्यानो राख्ने, मनतातो पानीले गार्गल गर्न लगाउने, तातोपानी पिलाउने गर्नुपर्छ ।’ उनका अनुसार विशेषगरी स्कुल जाने बालबालिकामा जाडोमा बढी समस्या देखिन्छ । ‘भर्खर स्कुल जान थालेका बच्चाहरू समाजसँग घुलमिल भइसकेका हुँदैनन्, छिटो बिरामी परिरहन्छन् । झाडापखाला भएमा जीवनजल तथा झोलपदार्थ बढी खुवाउनुपर्छ,’ उनले भनिन्, ‘साना नानीहरूलाई पनि दिनभर घाममा राख्न जरुरी छैन । त्यसले तातोको बानी लाग्छ र जाडो सहनै नसक्ने हुन्छन् । ठिक्कको लुगा र न्यानोमा राख्नुपर्छ ।’

बालबालिकालाई बाहिर लग्नै परेमा न्यानो लुगा र मास्क लगाइदिने, झोलिलो तथा मनतातो पानी खुवाउने गर्नुपर्छ । खान नसक्ने भए, श्वास फेर्न गाह्रो भए वा उच्च ज्वरो आए अस्पताल लैजानुपर्छ । रोटाभाइरस खोप र निमोनियाविरुद्धको खोप लगाउन पनि चिकित्सकहरू सुझाउँछन् ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी बालरोग विशेषज्ञ एवं नवजात शिशु विभागीय प्रमुख डा. कल्पना उपाध्याय सुवेदी नवजात शिशुसँगै सुत्केरीलाई घाम लाग्ने न्यानो कोठामा राख्न सल्लाह दिन्छिन् । उनका अनुसार शिशुलाई आमाको नांगो छातीमा टाँसेर राख्दा, स्तनपान गराउँदा चिसोले हतपती समात्दैन । ‘आमाको नांगो छातीमा राख्नाले शीतांग हुनबाट बचाउँछ । स्तनपान गराउँदा आमाको तातोपन बच्चामा जान्छ, जसले गर्दा दूधबाट ग्लुकोज प्राप्त हुनुका साथै बच्चामा ऊर्जा पनि आउँछ,’ उनले भनिन् । समयभन्दा अघि जन्मेको बच्चालाई एक महिनासम्म ननुहाए पनि फरक नपर्ने उनी बताउँछिन् । ‘महिना पुगेर जन्मिएकालाई २४ घण्टा नबित्दासम्म ननुहाए हुन्छ । बच्चा फोहोर नै छ भने मनतातो पानीले पुछिदिए पुग्छ । त्यसरी नुहाइदिँदा पनि बच्चा चिसिने डर भने हुन्छ,’ डा. सुवेदीले भनिन्, ‘टाउको जहिल्यै छोप्ने तथा हातखुट्टामा मोजा र पन्जा लगाइदिने गर्नुपर्छ । यसो हुँदा शीतांग हुनबाट बच्चाहरू जोगिन्छन् ।’ हिटर भने हावा खेल्ने कोठामा मात्र बाल्न उनले सुझाइन् ।

जाडोमा विशेषगरी ६० वर्षमाथिको उमेरसमूह र दीर्घरोगी झनै जोखिममा हुन्छन् । रोग प्रतिरोधी क्षमता कम हुने, शारीरिक तथा मानसिक रूपमा कमजोर हुने भएकाले उनीहरूलाई विशेष हेरचाह गर्नुपर्ने वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. उमेश बोगटीले बताए । ‘दम भएको बिरामीलाई चिसोले झन् सताउँछ । रक्तनलीहरू खुम्चिनाले रक्तचाप अझै बढ्छ, जसले गर्दा मुटुमा समस्या आउन सक्छ,’ उनले भने । उनका अनुसार फ्लु, मांसपेशी तथा जोर्नी दुख्ने ज्येष्ठ नागरिक जाडो महिनामा थला पर्न सक्छन् । यस्तो बेला उनीहरूमा ‘हाइपोथर्मिया’ को समस्या देखिन सक्छ । ‘एकदमै चिसो हुँदा शरीरको तापक्रम घट्छ, त्यसले हाइपोथर्मिया हुन्छ । सुरुवाती चरणमा हातखुट्टा चिसो हुने, मुख सुन्निने, छाला सेतो हुँदै जाने, हल्का काम्ने, बिस्तारै बोल्ने जस्ता लक्षण देखिन सक्छन्,’ डा. बोगटीले भने, ‘जटिल भएमा हातखुट्टा बढी नै काम्ने, नियन्त्रण गर्न नसक्ने, मुटुको चाल कम हुँदै जाने, सास फेर्न गाह्रो हुने समस्या आउँछ ।’ थाइराइड, मधुमेहजस्ता रोग हुने भएकाले वृद्धावृद्धाको शरीरले सहजै तापक्रम सन्तुलन गर्न नसक्ने उनी बताउँछन् ।

ज्येष्ठ नागरिकमा डिमेन्सिया (बिर्सिने समस्या) हुने भएकाले पनि परिवारका सदस्यले विशेष सावधानी अपनाउनुपर्छ । ‘डिमेन्सिया भएको बिरामीलाई त जाडो हो कि गर्मी थाहा नहुन सक्छ । न्यानो लुगा लगाएको पनि थाहा हुँॅदैन, त्यसैले चिसो लाग्न सक्ने सम्भावना धेरै हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा घरका सदस्यले ख्याल गर्नुपर्छ । समय दिनुपर्छ ।’ जाडोमा ज्येष्ठ नागरिकलाई कोठाभित्र तथा सिरकको न्यानोमा मात्र राख्नुको साटो हल्का व्यायाम गराउनु राम्रो हुने चिकित्सक सुझाउँछन् । जसले शरीरमा ऊर्जा आउनुका साथै रक्तसञ्चार चलायमान रहन्छ । ‘चिसो तथा सुक्खा हावाले गर्दा दम बढ्न सक्छ । यस्तोमा मास्क लगाउनु बुद्धिमानी हुन्छ,’ डा. बोगटी भन्छन्, ‘दमका बिरामीले मुखले भन्दा नाकले सास फेर्नु राम्रो ।’

चिसो मौसममा हावा चल्ने र मौसम पनि गुम्म हुने भएकाले ज्येष्ठ नागरिकमा ‘विन्टर डिप्रेसन’ को खतरा देखिने चिकित्सकहरू बताउँछन् । मनोचिकित्सक डा. कपिल उपाध्यायका अनुसार यो समस्याको समाधान भनेकै परिवारले प्रशस्त समय दिने र कुरा गरिराख्नु हो । गर्मीभन्दा जाडो महिनामा निराश हुने तथा डिप्रेसनका लक्षण अलि बढी देखिने गरेको उनको भनाइ छ । ‘घामको कमीले पनि मान्छेलाई निराश बनाउन सक्छ । घाम एक किसिमको डाक्टर नै हो,’ उनले भने, ‘चाहिने मात्रामा घाम, पोषण, निद्रा पुगेन र मान्छेमा तनाव भयो भने ऊ स्वस्थ हुँदैन । जाडोमा चिसो हुने, घाम पनि धेरै ताप्न नपाइने हुनाले पनि ज्येष्ठ नागरिकमा डिप्रेसन हुन सक्छ ।’

उपकरणमा सावधानी

जाडो मौसम या चिसो बढेका बेला शरीरलाई न्यानो बनाउन हिटर, कोइलालगायत विभिन्न उपकरण प्रयोग गरिन्छ । यसका अलावा पानी तताउन इलेक्ट्रिक जग, इलेक्ट्रिक रड र हिटिङ

ट्याप पनि छन् । नुहाउनका लागि गिजर पानी प्रयोग गरिन्छ भने हिजोआज धारामै तातोपानी आउने बनाउन ‘हिटिङ ट्याप’ जडान गरिन्छ । बजारमा विद्युतीयसँगै ग्यास हिटर, गिजर, एअर कुलर, फ्यान हिटरलगायत विभिन्न उपकरण पाइन्छन् । स्वास्थ्यका हिसाबले विद्युतीय हिटर र गिजरको तुलनामा ग्यासबाट चल्ने यस्ता सामग्रीको जोखिम बढी हुने विशेषज्ञहरूको भनाइ छ ।

जाडो महिनामा प्रयोग गरिने यी उपकरण सावधानीपूर्वक प्रयोग गर्न नसकेमा ज्यानसमेत जाने गरेको छ । चिसो छल्न राति ग्यास तथा विद्युतीय हिटर, गोबरका गुइँठा, कोइला र दाउरा बालेर निदाउँदा अक्सिजन अभावले अधिकांशको मृत्यु हुने गरेको छ । बन्द कोठामा हिटर तथा आगो बाल्दा बाहिर हावा पास नहुने तथा अक्सिजनको कमीका कारण मानिसहरू सुतेकै अवस्थामा बेहोस हुने विशेषज्ञहरूको भनाइ छ ।

कोइला, दाउरा तथा ग्यास उपयोग गर्दा निस्कने कार्बन मोनोअक्साइड ग्यास सुँघ्न र महसुस गर्न सकिँदैन, जुन निकै हानिकारक हुन्छ । बिनाकुनै संकेत र लक्षण कसैको ज्यान लिन सक्ने अवस्था वा कारकका रूपमा यसलाई लिइने छाती रोग विशेषज्ञ विदेश विष्ट बताउँछन् । ग्यास बाहिर जान नपाएपछि कहिलेकाहीेँ निसासिएर अचानक मृत्युसमेत हुने गर्छ । यद्यपि बजारमा जाडो मौसम सुरु हुनुभन्दा एक महिना पहिलेदेखि नै यस्ता उपकरणको माग बढ्छ । बजारमा माग बढेसँगै यसको आयात पनि बढेको भन्सार विभागको तथ्यांक छ ।

मुलुकमा सबैभन्दा बढी विद्युत्बाट चल्ने इलेक्ट्रिक वाटर हिटर आयात हुन्छ । चालु आर्थिक वर्षको पाँच महिनामा २९ करोड ५९ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६४ हजार ३९५ वटा आयात भएको छ । यस्तै, १० करोड ८४ लाख रुपैयाँ बराबरका ३० हजार २६७ वटा ग्यास वाटर हिटर भित्रिएका छन् । विद्युतीय हिटर १६ करोड ८७ लाख ८५ हजार रुपैयाँ बराबरको १ लाख १७ हजार ९९५ वटा आयात भएको विभागको तथ्यांक छ । एअर हिटर (नन इलेक्ट्रिक) १७ लाख ३४ हजार रुपैयाँ बराबरको २ हजार २४३ वटा आयात भएको छ ।

हरेक सामग्रीको फाइदासँगै बेफाइदा पनि हुने भएकाले प्रयोग गर्दा ध्यान दिनुपर्ने अर्का छाती रोग विशेषज्ञ राजु पंगेनी बताउँछन् । राति हिटर बालेर सुत्दा कोठामा कार्बन मोनोअक्साइडको मात्रा सुरक्षित स्तरभन्दा माथि बढ्छ । यसले हृदय रोग भएका, धूमपान गर्ने, ससाना केटाकेटी र वृद्धवृद्धा उच्च जोखिममा पर्छन् ।

ग्यास हिटर प्रयोग गर्दा जाडो मौसममा चिसोसँगै सुक्खा हुने भएकाले खकार सुक्ने, श्वासप्रश्वासमा समस्या आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने डा. पंगेनीले बताए । ‘दमका बिरामीमा खकार राम्रोसँग आउँदैन, भित्र खकार जमिरह्यो भने इन्फेक्सन हुने र निमोनियाको जोखिमसमेत बढाउँछ,’ उनले भने, ‘प्रत्यक्ष रूपमा सुक्खा हावाले छाला र आँखामा पनि असर पुर्‍याउँछ ।’ ग्यास बाल्दा निस्कने धूवाँले दम, आस्थ्मा र एलर्जीका बिरामीलाई कहिलेकाहीेँ गाह्रो हुने उनले बताए । ‘बन्द कोठामा ग्यास हिटर बाल्दा अक्सिजनको मात्रामा कमी हुने, कहिलेकाहीँ आगलागीसमेत हुन सक्ने सम्भावना हुन्छ,’ उनले भने ।

भेन्टिलेसन नभएको ठाउँमा ग्यास गिजरको प्रयोग गर्दा कार्बन मोनोअक्साइड ग्यास निस्कने र त्यसले कोठाभित्रको अक्सिजन सोस्ने विशेषज्ञ बताउँछन् । त्यसकारण नुहाउँदा नुहाउँदै अक्सिजन कम हुँदा निद्रा लाग्ने, श्वास फेर्न गाह्रो हुने र सिकिस्त अवस्थामा पुगेपछि पूर्ण रूपमा बेहोस र बान्तासमेत हुन्छ । जाडो मौसममा सकेसम्म ओइल हिटर, एअर कन्डिसन सिस्टम प्रयोग गर्न उनले सुझाए । यद्यपि यी खर्चिला हुन्छन् ।

छाला रोग विशेषज्ञ धर्मेन्द्र कर्ण जाडो मौसम यत्तिकै पनि सुक्खा हुने भएकाले आगो बाल्दा वा हिटर ताप्दा छाला थप सुक्खा हुने बताउँछन् । ‘छाला चिरा पर्छ, कत्लाहरू निस्कन्छन् र कपालमा चाया पर्छ भने त्यो छाला सुक्खा भएको भनेर बुझ्नुपर्छ,’ उनले भने, ‘सुक्खा छालामा कपडा खोल्दा चिलाउने हुन्छ । यसरी असर देखिनासाथ ध्यान दिएनौं भने थप सर्ने र नसर्ने रोग लाग्न सक्छ । सुक्खा छाला छाला रोगको घर हो ।’

जाडो महिनामा घाममा बस्न रुचाउने हुँदा अनुहारमा कालो पोतो आउने र डन्डीफोरसमेत निस्कने डा. कर्ण बताउँछन् । सुक्खा छालाबाट बच्न शरीरमा विशेषगरी कुइनो र घुँडाभन्दा तल तेल र मोइस्चराइजर लगाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : पुस २७, २०७९ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्

छालाको स्याहार

डा. प्रज्वल पुडासैनी

काठमाडौँ — चिसो हावामा आर्द्रता र ओस अर्थात् ‘मोइस्चर’ कम हुन्छ । लामो समय हिटर वा आगोछेउ बस्दा छालाका कोषिकामा पानीको मात्रा कम भई विभिन्न समस्या देखिने गर्छन् ।

जाडोमा लगाइने ऊनीका लुगा र अत्यधिक प्रयोग गरिने तातोपानीले पनि छालालाई असर गर्छ । धेरै तातोपानीले छालामा भएका प्राकृतिक तेललाई नष्ट गर्छ र छाला थप सुक्खा बनाउँछ । प्राकृतिक तेल बनाउने ग्रन्थीहरू कम हुनाले हातको छाला फुट्ने समस्या बढी हुन्छ । जाडोमा छाला सुक्खा हुने, ओठ फुट्ने, छाला निस्किने र घाउ हुने सम्भावना बढी देखिन्छन् ।

एक्जेमा : एक्जेमा संसारका धेरै मानिसमा देखिने छालाको ‘इन्फ्लामेटोरी’ रोग हो । चिसो मौसममा छालामा पानीको मात्रा कम हुन्छ । यसले आफ्नो संरचना कायम राख्‍न नसक्ने र बाहिरी वातावरणका कारण कीटाणुले छालामा संक्रमण गर्ने हुँदा मुख्यत: सुक्खा छालामा यो रोग देखिन्छ ।

चिसोबाट बच्न हिटर वा आगो नजिक बसिरहने बानीले छालामा थप सुक्खापन निम्त्याउँछ । यसरी सुक्खा भएको छालामा ‘जेरोटिक एक्जेमा’ देखिन्छ । छाला चिलाउने, पोल्ने, बिझ्ने र फुस्रो भई छालाका पत्र निस्किने र घाउ हुने हुन्छ ।

सुक्खा हावा र ऊनीका लुगाले बालबालिका र वयस्कमा ‘एटोपिक एक्जेमा’ देखिन्छ । करिब ८० प्रतिशत बालबालिका ६ वर्षको उमेर पार गर्नुअघि नै यो रोगबाट पीडित हुने गर्छन् । वंशाणुगत रूपमै एटोपिक रोगको जोखिम भएका व्यक्तिमा रुघाखोकी लागिराख्ने, श्वासप्रश्वासमा समस्या भई दमको लक्षण देखिने र खानपिनको एलर्जी जस्ता समस्या देखिन्छन् ।

एटोपिक एक्जेमाका आउने–जाने लक्षण लामो समय चल्छ । तीव्र रूपमा छाला रातो हुने, पानीफोका आउने, पानी बगिरहने जस्ता लक्षण देखिन्छन् भने समयसँगै छाला बाक्लो र कालो हुने, धर्सा देखिने, कत्ला निस्किने, घाउ हुने र लामो समय रातोपना देखिइरहने हुन्छ । छाला ओसिलो पार्न र बाहिरी कीटाणुलाई छिर्न नदिन भ्यासलिन वा मोइस्चराइजर लगाइराख्नुपर्छ । कीटाणुको संक्रमण रोक्न एन्टिसेप्टिक प्रयोग गर्ने, चिलाउन कम गर्ने (एन्टी हिस्टमिन) औषधि र चिकित्सकको सल्लाहबमोजिम अन्य औषधि सेवन गर्नुपर्छ ।

जाडोयाममा कपालका तेल निकाल्ने ग्रन्थी बढी सक्रिय हुँदा चाया पर्छ । जसका कारण कपाल, आँखीभौँ, कान पछाडिको भाग, छाती, काखी र कास चिलाउने, रातो हुने, मसिना कत्ला निस्किने र फाट्ने हुन्छ । यसलाई ‘सेबोरिक एक्जेमा’ भनिन्छ । यसको समाधानका लागि नुहाउँदा एन्टिफंगल स्याम्पुको प्रयोग गर्नुपर्छ ।

चिलब्लेन्स : हातखुट्टाका औंला रातो हुनु, सुन्निनु, पानीफोका र पिपका फोका आउनु चिलब्लेन्सका लक्षण हुन् । कोभिड संक्रमणमा पनि यस्तै लक्षण देखिन्छन् । युवामा चिलब्लेन्स धेरै देखिन्छ । चुरोट सेवन गर्ने, दुब्लो मानिस, आरोही, चिसोमा काम गरिराख्नुपर्ने किसान, घरायसी काम गरिराख्नुपर्ने महिला, रक्तक्यान्सर र बाथ रोगका बिरामीलाई पनि यो रोग बढी देखिन्छन् ।

चिलब्लेन्स भएका व्यक्ति चिसोसँगको सम्पर्कमा पुग्नासाथ केही घण्टामै हातखुट्टाका औंला र कान चिलाउने, पोल्ने, सुन्निने, छाला रातो/प्याजी रंगको देखिन्छ । यस्तो लक्षण २४ घण्टाभन्दा बढी रहन्छ । संक्रमण गम्भीर हुँदा पानीफोका, पिपका फोका आउने र ती फुटेर घाउ हुने सम्भावना हुन्छ ।

छालालाई चिसो हावा, पानीबाट बचाउनुपर्छ । त्यसका लागि पूरा शरीर ढाक्ने गरी लुगा, पन्जा, मोजा लगाउने र बेलाबेला मोइस्चराइजर लगाइराख्ने गर्नुपर्छ । व्यायामले रक्तसञ्चार गराउँछ र शरीरको तापक्रम सन्तुलनमा राख्छ । नाइट्रोग्लिसरिन, स्टेरोइड मलम लगाउने र संक्रमण अलि जटिल भएमा रक्तनली फैलाउने औषधि चिकित्सकको सल्लाहबमोजिम खाने गर्नुपर्छ ।

सेराइसिस : शरीरमा रातो टाटा आउने र सेतो चाँदी जस्तो कत्ला निस्किने भएमा त्यो सेराइसिस वा कत्ले रोग हुन सक्छ । यो जाडो मौसममा विस्तार हुन्छ । दीर्घ रूपमा यसले छालाका साथै हाडजोर्नी र नङमा असर पुर्‍याउँछ । भ्यासलिन वा कुनै पनि तेल भएको मोइस्चराइजर लगाइराख्नुपर्छ । साथै स्टेरोइड मलम, क्याल्सिपोट्रिओल मलम, प्रकाशका माध्यमबाट गरिने थेरापी (फोटो थेरापी) र चिकित्सकको सल्लाहबमोजिम अन्य औषधि सेवन गर्नुपर्छ ।

जाबे रोग : चिसो हावापानी वा चिसो वातावरणको सम्पर्कले छालामा रातो डाबर आउने, सुन्निने र चिलाउने हुन्छ । यसमा कमिलाले टोकेजस्तो डाबर देखिन्छ । चिसोसँग छालाको सम्पर्क हटाएपछि १ देखि २ घण्टामा यो आफैं हराउँछ ।

विन्टर इच : जाडोमा छाला सुक्खा हुँदा चिलाउने र कन्याउँदा घाउ हुने हुन्छ । जाडो मौसममा लगाइने उलनको कपडा तथा आगो/हिटरका कारण पनि छाला सुक्खा भई चिलाउने समस्या बढी देखिन्छ ।

डन्डीफोर : छाला सुक्खा भएपछि छालामा तेलको पत्र बनाइराख्ने ग्रन्थी बढी सक्रिय हुन्छन् । तिनै ग्रन्थी बन्द हुँदा डन्डीफोर देखिन्छ । साथै, चिसो हावाले कपालको ओस सोसेर कपाललाई थप सुक्खा बनाउँछ र कपाल टुक्रिने र झर्ने समस्या हुन्छ । यस्तोमा कपालमा नियमित जैतुन/नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

रोकथाम गर्न

  • भ्यासलिन वा कुनै पनि तेल भएको मोइस्चराइजर लगाइराख्ने । यसले छालामा तेलको पत्र बनाई छालामा पानीको मात्रा बनाउन सघाउँछ ।
  • धेरै तातोपानीले छालामा भएका प्राकृतिक तेल नष्ट गर्ने भएकाले मनतातो पानीले थोरै समय लगाएर नुहाउने ।
  • सम्भव भएसम्म कोठाको हावा ओसिलो बनाउन ‘रूम ह्युमिडिटिफियर’ प्रयोग गर्ने । हावा ओसिलो भइराखेमा छाला सुक्खा हुन पाउँदैन र छाला फुट्ने सम्भावना कम हुन्छ ।
  • छालालाई सकेसम्म बाहिरी हावा र धूलोबाट बचाउने । प्रशस्त पानी पिउने ।

(छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. पुडासैनी निजामती कर्मचारी अस्पतालमा कार्यरत छन् ।)

प्रकाशित : पुस २७, २०७९ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×