नाक, कान र घाँटीको सुरक्षा


काठमाडौँ — चिसो मौसम नाक, कान, घाँटी (ईएनटी) समस्या हुनेहरूका लागि चुनौतीपूर्ण समय हो । धेरैजसो अवस्थामा पर्याप्त भेन्टिलेसन नभएको ठाउँमा बसोबास गर्नेहरूलाई ईएनटीको समस्याले सताउने गरेको देखिन्छ । किनभने जाडोयाममा चिसोबाट बच्न सबै झ्याल–ढोका र भेन्टिलेसन बन्द गरेर बस्दा परिवारमै भाइरसको संक्रमण फैलिन मद्दत पुग्छ ।

हिटर र ब्लोअरहरूको अत्यधिक प्रयोगले नाक तथा घाँटीका नरम छाला (म्युकोसा) लाई सुक्खा बनाउँछ, जसका कारण श्वासप्रश्वाससम्बन्धी रोगबाट जोगिन कठिन हुन जान्छ ।
के चिसोकै कारण अधिकांश समस्या भएका हुन् त भन्ने पनि प्रश्न उठ्छ । प्रत्यक्ष रूपमा ईएनटी समस्याका लागि चिसो मौसम कारक होइन । तर यसले समस्या निम्त्याउन सहयोग भने गर्न सक्छ ।
तपाईं वर्षभरि नै रोग लगाउन सक्ने कारकको सम्पर्कमा रहनुभएको भए पनि श्वासप्रश्वासको संक्रमणलाई कुनै न कुनै रूपमा चिसो मौसमले फाइदा पुर्याउने देखिन्छ । यहाँ हामी जाडोयाममा हुने मुख्य तीन ईएनटी समस्याबारे कुरा गर्नेछौं, जुन तपाईंले यो चिसो मौसममा सामना गर्न सक्नुहुन्छ ।
सामान्य रुघाखोकी र साइनस संक्रमण
सामान्य रुघाखोकी प्रायः राइनोभाइरस जस्ता केही भाइरसले गर्दा हुन्छ । यी भाइरस सामान्यतः जाडोमा बढी सक्रिय हुन्छन् र चिसोले फैलिन मद्दत गर्छ । यसको सामान्य लक्षणमा नाकबाट पानी बग्नु, टाउको दुख्नु, अनुहार भारी हुनु, नाक बन्द हुनु, ज्वरो आउनु र शरीर दुख्नु हो । यो सामान्यतया ७–१० दिनमा आफैं निको हुन्छ । केही अवस्थामा भने चिकित्सकको सल्लाहमा त्यस्ता लक्षण कम गर्न सामान्य औषधि प्रयोग गर्ने गरिन्छ ।
फ्लु
यो इन्फ्लुएन्जा भाइरसको कारणले हुन्छ । यसले मुख्यतः श्वासप्रश्वास प्रणालीलाई लक्षित गर्छ । यसका लक्षण पनि लगभग सामान्य रुघाखोकीकै जस्ता हुन्छन् । तर, यो सामान्य रुघाखोकीभन्दा अधिक गम्भीर प्रकारको हुन्छ । एक स्वस्थ मानिस ७–१० दिनभित्रै निको हुन्छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिका साथै मधुमेह, मुटु रोग, मिर्गौला वा कलेजाका बिरामी, वृद्ध तथा बालबालिकालाई कहिलेकाहीँ गम्भीर लक्षण देखा पर्न सक्छ । यसले निमोनिया पनि निम्त्याउन सक्छ ।
घाँटी दुखाइ
यो कुनै भाइरस वा ब्याक्टेरियाको कारणले घाँटीमा संक्रमण गराउँदा हुन सक्छ । अधिकांश मानिस घाँटी दुख्ने समस्या देखिएमा घरेलु उपायबाटै निको हुने गर्छन् । तर, केहीलाई भने चिकित्सकको सल्लाहबमोजिम औषधि वा अस्पताल भर्ना गर्नुपर्ने हुन सक्छ ।
यी समस्याबाट जोगिन के गर्ने ?
- चिसो हावाको प्रत्यक्ष सम्पर्कमा नजानुहोस् । आफ्नो कान, नाक र घाँटी न्यानो राख्न मफलर, इयरमफ, मास्क आदि लगाउनुहोस् ।
- मुख र नाक छोपेर मात्रै हाच्छ्युँ गर्नुहोस्, त्यसपछि हात साबुनपानीले धुनुहोस् ।
- भीडभाडबाट टाढा रहने प्रयास गर्नुहोस् ।
- वृद्ध, बालबालिका, गर्भवती तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिले वार्षिक रुपमा फ्लुको भ्याक्सिन लगाउने गर्नुहोस् । यो निकै लाभदायक हुन सक्छ ।
- धूमपान नगर्नुहोस् र धूमपान गर्ने व्यक्तिबाट टाढै रहनुहोस् ।
- निद्रा पुग्ने गरी सुत्नुहोस् । तनाव कम गर्ने उपायमा ध्यान दिनुहोस् । तनावले तपाईंको प्रतिरक्षा प्रणालीलाई सिधा असर पार्न सक्छ ।
- कागती, अमला, अम्बा, पातदार तरकारी भिटामिन सी–युक्त खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्नुका साथै लक्षण पनि कम गर्न मद्दत गर्छन् ।
- नाक, मुख र घाँटीलाई चिसो राख्न पानी र धेरै तरल पदार्थ पिउनुहोन् । किनभने यसले ब्याक्टेरिया वा भाइरसको प्रवेश रोक्न सहयोग गर्छ । नाक, घाँटी सुक्खा हुँदा भाइरस वा ब्याक्टेरियाले आफूलाई वृद्धि गर्ने अवसर प्राप्त गर्छ ।
- कुनै लक्षण क्रमशः बढ्दै गएको छ भने तुरून्तै नजिकको चिकित्सकसँग परामर्श लिनुहोस् । कुनै औषधि प्रयोग गर्नुपूर्व चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।
- (नाक, कान, घाँटीको क्यान्सर रोग विशेषज्ञ डा. दुबे फ्रन्टलाइन
अस्पताल तथा नियो हेल्थ क्लिनिकमा कार्यरत छिन् ।)
प्रकाशित : पुस २७, २०७९ ०८:४५