नाक, कान र घाँटीको सुरक्षा- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाक, कान र घाँटीको सुरक्षा

हिटर र ब्लोअरहरूको अत्यधिक प्रयोगले नाक तथा घाँटीका म्युको सालाई सुक्खा बनाउँछ
डा. तुलीका दुबे

काठमाडौँ — चिसो मौसम नाक, कान, घाँटी (ईएनटी) समस्या हुनेहरूका लागि चुनौतीपूर्ण समय हो । धेरैजसो अवस्थामा पर्याप्त भेन्टिलेसन नभएको ठाउँमा बसोबास गर्नेहरूलाई ईएनटीको समस्याले सताउने गरेको देखिन्छ । किनभने जाडोयाममा चिसोबाट बच्न सबै झ्याल–ढोका र भेन्टिलेसन बन्द गरेर बस्दा परिवारमै भाइरसको संक्रमण फैलिन मद्दत पुग्छ ।

हिटर र ब्लोअरहरूको अत्यधिक प्रयोगले नाक तथा घाँटीका नरम छाला (म्युकोसा) लाई सुक्खा बनाउँछ, जसका कारण श्वासप्रश्वाससम्बन्धी रोगबाट जोगिन कठिन हुन जान्छ ।

के चिसोकै कारण अधिकांश समस्या भएका हुन् त भन्ने पनि प्रश्न उठ्छ । प्रत्यक्ष रूपमा ईएनटी समस्याका लागि चिसो मौसम कारक होइन । तर यसले समस्या निम्त्याउन सहयोग भने गर्न सक्छ ।

तपाईं वर्षभरि नै रोग लगाउन सक्ने कारकको सम्पर्कमा रहनुभएको भए पनि श्वासप्रश्वासको संक्रमणलाई कुनै न कुनै रूपमा चिसो मौसमले फाइदा पु‍र्‍याउने देखिन्छ । यहाँ हामी जाडोयाममा हुने मुख्य तीन ईएनटी समस्याबारे कुरा गर्नेछौं, जुन तपाईंले यो चिसो मौसममा सामना गर्न सक्नुहुन्छ ।

सामान्य रुघाखोकी र साइनस संक्रमण

सामान्य रुघाखोकी प्रायः राइनोभाइरस जस्ता केही भाइरसले गर्दा हुन्छ । यी भाइरस सामान्यतः जाडोमा बढी सक्रिय हुन्छन् र चिसोले फैलिन मद्दत गर्छ । यसको सामान्य लक्षणमा नाकबाट पानी बग्नु, टाउको दुख्नु, अनुहार भारी हुनु, नाक बन्द हुनु, ज्वरो आउनु र शरीर दुख्नु हो । यो सामान्यतया ७–१० दिनमा आफैं निको हुन्छ । केही अवस्थामा भने चिकित्सकको सल्लाहमा त्यस्ता लक्षण कम गर्न सामान्य औषधि प्रयोग गर्ने गरिन्छ ।

फ्लु

यो इन्फ्लुएन्जा भाइरसको कारणले हुन्छ । यसले मुख्यतः श्वासप्रश्वास प्रणालीलाई लक्षित गर्छ । यसका लक्षण पनि लगभग सामान्य रुघाखोकीकै जस्ता हुन्छन् । तर, यो सामान्य रुघाखोकीभन्दा अधिक गम्भीर प्रकारको हुन्छ । एक स्वस्थ मानिस ७–१० दिनभित्रै निको हुन्छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिका साथै मधुमेह, मुटु रोग, मिर्गौला वा कलेजाका बिरामी, वृद्ध तथा बालबालिकालाई कहिलेकाहीँ गम्भीर लक्षण देखा पर्न सक्छ । यसले निमोनिया पनि निम्त्याउन सक्छ ।

घाँटी दुखाइ

यो कुनै भाइरस वा ब्याक्टेरियाको कारणले घाँटीमा संक्रमण गराउँदा हुन सक्छ । अधिकांश मानिस घाँटी दुख्ने समस्या देखिएमा घरेलु उपायबाटै निको हुने गर्छन् । तर, केहीलाई भने चिकित्सकको सल्लाहबमोजिम औषधि वा अस्पताल भर्ना गर्नुपर्ने हुन सक्छ ।

यी समस्याबाट जोगिन के गर्ने ?

  • चिसो हावाको प्रत्यक्ष सम्पर्कमा नजानुहोस् । आफ्नो कान, नाक र घाँटी न्यानो राख्न मफलर, इयरमफ, मास्क आदि लगाउनुहोस् ।
  • मुख र नाक छोपेर मात्रै हाच्छ्युँ गर्नुहोस्, त्यसपछि हात साबुनपानीले धुनुहोस् ।
  • भीडभाडबाट टाढा रहने प्रयास गर्नुहोस् ।
  • वृद्ध, बालबालिका, गर्भवती तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिले वार्षिक रुपमा फ्लुको भ्याक्सिन लगाउने गर्नुहोस् । यो निकै लाभदायक हुन सक्छ ।
  • धूमपान नगर्नुहोस् र धूमपान गर्ने व्यक्तिबाट टाढै रहनुहोस् ।
  • निद्रा पुग्ने गरी सुत्नुहोस् । तनाव कम गर्ने उपायमा ध्यान दिनुहोस् । तनावले तपाईंको प्रतिरक्षा प्रणालीलाई सिधा असर पार्न सक्छ ।
  • कागती, अमला, अम्बा, पातदार तरकारी भिटामिन सी–युक्त खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्नुका साथै लक्षण पनि कम गर्न मद्दत गर्छन् ।
  • नाक, मुख र घाँटीलाई चिसो राख्न पानी र धेरै तरल पदार्थ पिउनुहोन् । किनभने यसले ब्याक्टेरिया वा भाइरसको प्रवेश रोक्न सहयोग गर्छ । नाक, घाँटी सुक्खा हुँदा भाइरस वा ब्याक्टेरियाले आफूलाई वृद्धि गर्ने अवसर प्राप्त गर्छ ।
  • कुनै लक्षण क्रमशः बढ्दै गएको छ भने तुरून्तै नजिकको चिकित्सकसँग परामर्श लिनुहोस् । कुनै औषधि प्रयोग गर्नुपूर्व चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।
  • (नाक, कान, घाँटीको क्यान्सर रोग विशेषज्ञ डा. दुबे फ्रन्टलाइन

अस्पताल तथा नियो हेल्थ क्लिनिकमा कार्यरत छिन् ।)

प्रकाशित : पुस २७, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ को सभामुखमा माओवादीको एकल उम्मेदवारी

प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएकाले बाबुराम गौतमको एकल उम्मेदवारी परेको हो ।
देवनाराण साह

मोरङ — प्रदेश सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतमको एकल उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभामुखको निर्वाचन बिहीबार ११ बजे बस्ने प्रदेशसभा बैठकमा हुनेछ । लिखु गाउँपालिका–८ घर भई ओखलढुंगा १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ४९ वर्षीय गौतम प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण छन् ।

माओवादी द्वन्द्व सुरु हुनुभन्दा अघिदेखि राजनीतिमा सक्रिय भई केन्द्रीय सदस्य रहेका उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएर पहिलो पटक आएका हुन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएकाले उनको एकल उम्मेदवारी परेको हो ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कांग्रेसले उपसभामुखमा दाबी गर्ने भएकाले सभामुखमा उम्मेदवारी नदिएको बताए । ९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ दल एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० प्रदेश सांसद छन् । कांग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी) का ४ प्रदेश सांसद छन् ।

दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को सभामुख माओवादी केन्द्रको भागमा परेकाले गौतमले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारूढ दलका केन्द्रीय शीर्ष नेताहरूले गरेको निर्णयलाई चुनौती दिँदै प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुनुपर्ने अडानमा रहेको माओवादी केन्द्रको संसदीय दलले केन्द्रकै निर्णयअनुसार सभामुखमा प्रदेश सांसद गौतमलाई उम्मेदवार बनाएको हो । उक्त अडानका कारण माओवादी केन्द्रले एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागी जनाएको छैन । जसले कार्कीले सोमबार राप्रपा र जनता समाजवादी पार्टीलाई मिलाएर चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

माओवादीका प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले मुख्यमन्त्रीमा आलोपालो र सरकारमा कुन हैसियतमा सहभागी हुने टुंगो नलागेकाले तत्काल सरकारमा सहभागी नभएको प्रस्टीकरण दिए । उनले केन्द्रीय सत्तारूढ दलका नेताले गरेको भागबन्डामा यस प्रदेशको सभामुख माओवादी केन्द्रलाई परेकाले प्रदेश सांसद गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए । उनले अब केन्द्रका शीर्ष नेताहरूलाई प्रदेश सरकारको नेतृत्वमा आलोपालोका लागि ध्यानाकर्षण गराउने र कुन–कुन मन्त्रालय लिने विषय टुंगो लगाएर चाँडै सरकारमा जाने सुनाए ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले माओवादी केन्द्रसँग छलफल भइरहेकाले चाँडै सरकारमा सहभागी हुने भएकाले केन्द्रको निर्णयअनुसार सभामुखमा माओवादी केन्द्रका उम्मेदवारलाई स्विकारेर अघि बढेको बताए ।

संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक महिला हुने गरी गर्नुपर्नेछ र प्रदेश सभामुख वा प्रदेश उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ । तर प्रदेशसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा नपर्ने व्यवस्था छ ।

प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ । प्रदेशसभा नियमावलीको नियम ७ को उपनियम (१) मा सभामुखको निर्वाचन संविधानको धारा १८२ को परिधिभित्र रहने गरी तोकिएको दिनमा हुनेछ र त्यसको सूचना सचिवले प्रकाशन गर्ने व्यवस्था छ ।

प्रदेशसभा नियमावलीबमोजिम प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा एक जना सदस्यको समर्थनसहित सोको सूचना सचिवलाई दिनुपर्ने व्यवस्था छ ।

उक्त नियमावलीको नियम ७ को उपनियम (३) मा उपनियम (२) बमोजिमको प्रस्तावको सूचना प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछ । त्यस्तो प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्नेले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ ।

प्रकाशित : पुस २७, २०७९ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×