फ्लुको उपचार
काठमाडौँ — चिसो मौसम सुरु हुनासाथ ‘फ्लु’ अर्थात् ‘इन्फ्लुएन्जा’ले नसताउने विरलै होलान् । बोलीचालीको भाषामा ‘मौसमी रुघाखोकी’ भनिने इन्फ्लुएन्जामा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाकबाट पानी बग्ने/बन्द हुने, थकाइ, जीउ दुख्नेलगायत विभिन्न लक्षण देखिन्छन् ।
केही व्यक्तिमा वाकवाकी, बान्ता, पखाला, घाँटीमा खसखस लाग्ने पनि हुन्छ । अधिकांशमा ‘फ्लु’ को लक्षण एकदेखि दुई साता रहन्छ तर घरमा बसेर सामान्य स्वास्थ्य स्याहार गरे स्वस्थ हुन समय लाग्दैन ।
‘इन्फ्लुएन्जा’ ले गर्दा श्वासप्रश्वास प्रणालीमा संक्रमण हुने भएकाले पीडितलाई भाइरल वा ब्याक्टेरियल निमोनिया (फोक्सोको संक्रमण) सँगै अन्य संक्रमणको खतरासमेत हुन्छ । फ्लुबाट कुल संक्रमितको ०.१ प्रतिशतको मात्र मृत्यु हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गत इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा.अभियान गौतम बताउँछन् । ‘०.१ प्रतिशत एकदम न्यून लागे पनि वास्तवमा फ्लुको संक्रमण परालको आगोझैं अत्यधिक मात्रा र संख्यामा फैलिन्छ,’ उनले भने, ‘हजार जनामा संक्रमण भयो भने एक जनाको मृत्यु हुन सक्ने सम्भावना हुन्छ । एक लाख जना संक्रमित भए सय जनाको ज्यान गुम्ने खतरा हुन्छ ।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभरमा यो महामारीबाट ३० देखि ५० लाख गम्भीर बिरामी हुन्छन् भने २ लाख ९० हजारदेखि ६ लाख ५० हजारको श्वासप्रश्वाससम्बन्धी कारणले मृत्यु हुने गरेको छ । नेपालमा बर्सेनि फ्लुले प्रभावित र मृत्यु हुनेहरूको आधिकारिक तथ्यांक उपलब्ध छैन ।
मौसमी इन्फ्लुएन्जा तीव्र श्वासप्रश्वाससम्बन्धी संक्रमण हो । अन्य भाइरल संक्रमणको दाँजोमा फ्लु संक्रमण भएकाहरू बढी गम्भीर रूपले बिरामी हुन्छन् । श्वासप्रश्वास र मुख, नाक आदिबाट निस्किने भाइरस एकबाट अर्को व्यक्तिमा सर्ने भएकाले यसको विस्तारको गति धेरै तीव्र हुन्छ । अझ शरीरमा संक्रमणको कुनै लक्षण नदेखिने समयदेखि नै संक्रमितले अर्को स्वस्थ व्यक्तिलाई फ्लु सार्न सक्छ ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्र्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार धेरैजसो व्यक्तिले फ्लुको लक्षण देखिनुभन्दा एक दिनअघिदेखि लक्षण देखिएको ५–७ दिनसम्म अर्को व्यक्तिमा संक्रमण सार्न सक्छन् । बालबालिका वा गम्भीर बिरामीले भने फ्लु लामो समयसम्म अर्को व्यक्तिलाई सार्न सक्छन् । ‘यसैले फ्लु संक्रमितहरू स्वस्थ नभइन्जेलसम्म उनीहरूको निकट सम्पर्कबाट जोगिनु नै बुद्घिमानी हुन्छ,’ स्वास्थ्य मन्त्रालय, राष्ट्र्रिय क्षयरोग नियन्त्रण केन्द्रका प्रमुख छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाह भन्छन्, ‘जाडो सुरु हुनासाथ देखिन थालेको मौसमी फ्लु अझै पुस–माघसम्म उत्कर्षमा पुग्छ, अहिले फ्लुका बिरामी धेरै बढेका छन् ।’
डब्लूएचओका अनुसार इन्फ्लुएन्जा भाइरस शरीरमा प्रवेश गरेको सामान्यतः दुई दिनमा लक्षण प्रकट हुन्छ । मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारी भने इन्फ्लुएन्जा ‘ए’ र ‘बी’ भाइरसको कारणले फैलिने गर्छ ।
डा. गौतमका अनुसार पछिल्लो समय मुलुकमा मौसमी रुघाखोकीको इन्फ्लुएन्जा ‘ए (एच१एन१) पीडीएम ०९’, अर्थात् पहिले बोलीचालीको भाषामा भनिने स्वाइन फ्लु र इन्फ्लुएन्जा ‘ए (एच३एन२)’ अर्थात् हङकङ फ्लु देखिएको छ ।
इन्फ्लुएन्जाले मृत्युसम्म गराउने जोखिम रहन्छ । डब्लूएचओका अनुसार जटिल नभएको सामान्य मौसमी इन्फ्लुएन्जाका बिरामीको उपचारअन्तर्गत जो रोगी उच्च जोखिम समूहका छैनन्, उनीहरूलाई लाक्षणिक उपचार गर्नुपर्छ । यस्ता व्यक्तिलाई अन्य व्यक्तिमा संक्रमण सार्न नदिन घरमै आराम गर्दै बस्ने सल्लाहसमेत दिने गरिन्छ ।
सामान्य इन्फ्लुएन्जाको उपचार प्रक्रियाअन्तर्गत ज्वरोलगायतका लक्षणबाट राहत दिने उपायहरू गरिन्छन् । उच्च जोखिम समूहका र जटिलता विकसित गर्न सक्ने बिरामीलाई लाक्षणिक उपचारसँगै एन्टिभाइरल उपचारसमेत आवश्यक हुन सक्छ ।
इन्फ्लुएन्जाबाट जोगिन वा राहत पाउन खानपानको धेरै महत्त्व छ । स्वस्थ र उचित खानपानले तपाईंलाई छिट्टै निको हुन सघाउँछ भने यसले रोग प्रतिरोधक क्षमतासमेत बलियो बनाउँछ । विज्ञहरूका अनुसार इन्फ्लुएन्जामा सबैभन्दा आवश्यक शरीरमा पानीको कमी नहुनु हो । पर्याप्त पानी सेवन गरे शरीरबाट हानिकारक तत्त्व बाहिर निस्किन्छ । पानीबाहेक हर्बल चिया, नरिवल पानी आदि स्वस्थकर पेयसमेत खान सकिन्छ ।
यस्तै, फ्लुसँग जुध्न मौसमअनुसारका फलफूल, सागसब्जी, होलग्रेन (अनाज), ताजा जडीबुटी आदि सेवन गर्नुपर्छ ।
खोपको प्रभावकारिता
इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. गौतमका अनुसार नेपालमा इन्फ्लुएन्जाविरुद्घको खोपबारे आम व्यक्तिमा जागरुकताको निकै कमी छ, जुन एउटा सार्वजनिक स्वास्थ्य चुनौती हो । इन्फ्लुएन्जाको खोप संक्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी विकल्प हो । यो खोपले स्वस्थ वयस्कमा ७० देखि ९० प्रतिशतसम्म इन्फ्लुएन्जाको रोगलाई रोक्न सक्छ । इन्फ्लुएन्जासँगै बूढापाका र दीर्घरोगीलाई निमोनियाको खोप (पीसीभी) समेत दिनु फाइदाजनक हुने उनी बताउँछन् ।
सीडीसीका अनुसार फ्लुको खोप शतप्रतिशत प्रभावकारी हुँदैन । यसले फ्लुले हुने खतरालाई ५० देखि ६० प्रतिशतसम्म मात्र कम गर्छ । नेसनल फाउन्डेसन फर इन्फेक्सस डिजिजको तथ्यांकअनुसार अमेरिकाजस्तो मुलुकमा समेत सन् २०२१–०२२ मा फ्लुको खोपले करिब ९० लाख बिरामी, १ लाख अस्पताल भर्ना र ५ हजारको मृत्युलाई रोकेको थियो ।
इन्फ्लुएन्जाको मौसम सुरु हुनुभन्दा कम्तीमा तीन साताअघि यो खोप लगाउनुपर्छ । खोपले शरीरमा काम सुरु गर्न कम्तीमा १४ देखि २१ दिनसम्म लाग्न सक्ने डा. गौतमले बताए । विशेषज्ञहरू सबै उमेर समूहलाई इन्फ्लुएन्जाको वार्षिक खोप लगाउन सल्लाह दिन्छन् । तर मुख्य रूपमा गम्भीर रोगले जुधिरहेका बिरामीका लागि यो धेरै फाइदाजनक छ । खोपले मधुमेहका रोगीलाई इन्फ्लुएन्जा वा निमोनियासँग सम्बन्धित समस्यामा अस्पताल भर्ना हुनमा ८० प्रतिशतसम्म कमी ल्याउन सक्छ ।
संक्रमणको मौसम सुरु हुनुभन्दा अगाडि नै इन्फ्लुएन्जाको खोप लगाउनु महत्त्वपूर्ण हुन्छ । हरेक वर्ष इन्फ्लुएन्जाको स्ट्र्रेन परिवर्तित हुने गरेको छ । खोपले गर्ने प्रतिरक्षा समयसँगै कम हुँदै जाने भएकाले बर्सेनि लिनुपर्ने विशेषज्ञको भनाइ छ । डब्लूएचओका अनुसार इन्फ्लुएन्जाविरुद्घ ६ दशकभन्दा बढी समयदेखि उपयोग हुँदै आएको सुरक्षित र प्रभावकारी खोप उपलब्ध छ । इन्फ्लुएन्जाको जटिलता उच्च भएका व्यक्तिमा खोप लगाउनु जरुरी हुन्छ । उच्च जोखिम भएकाको सम्पर्कमा रहने र हेरचाह गर्नेहरूमा पनि खोप आवश्यक छ ।
प्रकाशित : पुस २७, २०७९ ०९:२४