बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ९० पुग्यो

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा सोमबारसम्म ९० जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार उपमहानगरका वडाहरुबाट नै ९० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो ।

बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ९० पुग्यो

स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई तीन दिनदेखि दादुराको खोप लगाउन थालेका छन् ।

सोमबारसम्म २१ सय १९ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालयले १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा एक सातायता दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप प्रदान गर्न सुरु गरिएको हो । उपमहानगरको १, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा दादुरा देखिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–५ मा दादुराले सिकिस्त भएका ३१ महिने बालकको पुस १३ मा मृत्यु भएको थियो  ।

नेपालगन्ज उपमहानगरपालिकाभित्र महामारीको रुपमा फैलिएको दादुरा नियन्त्रण र व्यवस्थापनका लागि कार्ययोजनासहित प्रभावकारी ढंगले अगाडि बढ्न सरोकारवाला निकायहरुबीच छलफल भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा २३ वटै वडाका स्वास्थ्य चौकी इन्चार्जहरुलाई अभिमुखीकरणसमेत गरिएको छ । दादुरा प्रभावित वडाहरुमा खोपको प्रभावकारी सञ्चालन, नियन्त्रण र व्यवस्थापनसँगै प्रकोपलाई जटिल अवस्थामा पुग्न नदिन सजगता अपनाउने विषयमा गहन छलफल भएको छ ।

त्यस क्रममा भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. राजन पाण्डे र कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. रोमा बोराले दादुरा–रुबेला विरुद्धको खोप लगाउने तरिका, भिटामिन 'ए' खुवाउने तरिका, दादुराका बेला देखिने जटिलता समाधानार्थ खुवाउनुपर्ने लक्षण अनुसारका औषधि लगायत विषयमा उपस्थित स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरेका थिए ।

दादुरा प्रभावित अधिकांशले खोप नै नलगाएको अवस्था देखिएकाले खोप अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनुको विकल्प नरहेको सरोकारवालाको बुझाइ छ । खजुरामा पनि थप दुई केस भेटिएका छन् एउटा टोल तथा बस्तीमा ५ जनासम्म दादुराका बिरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ ।उपमहानगरका वडा नम्बर ५, ७, ८, १०, १५ र २२ का बालबालिकामा दादुरा धेरै देखिएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।

प्रकाशित : पुस २५, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?