डेंगीपछि कपाल झर्ने समस्या : ‘टेलोजेन एफ्लुभियम’ के हो? - स्वास्थ्य - कान्तिपुर समाचार

डेंगीपछि कपाल झर्ने समस्या : ‘टेलोजेन एफ्लुभियम’ के हो? 

संक्रमण निकाे भएपछि कपाल झर्ने रोगलाई ‘टेलोजेन एफ्लुभियम’ भनिन्छ। यसरी झरेका कपालहरु संक्रमण निको भएपश्चात स्वत: ३ देखि ६ महिनामा पलाउँदै जान्छन् र सामान्य अवस्थामा फर्किन्छन् ।त्यसैले यसमा आत्तिहाल्नुपर्ने अवस्था छैन ।
डा. प्रज्वल पुडासैनी

काठमाडौँ — इलामकी ५२ वर्षीया महिला निजामति कर्मचारी अस्पतालमा कपाल झर्ने समस्या लिएर आइन् । दुई महिना अघि डेंगी संक्रमण भएको उनलाई कपाल झर्न थालेको २ हप्ता भएको रहेछ । त्यसबाहेक उनलाई तौल कम हुने र थकाइ लाग्ने समस्या पनि देखिएको थियो । उनी कपाल झरेर तालुपना होला भनेर चिन्ताले निद्रा नलाग्ने समस्याबाटसमेत पीडित थिइन् ।उनी अहिले चिकित्सकीय परामर्शपछि औषधि सेवन गरिरहेकी छिन् र उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।

लामखुट्टेको टोकाइबाट हुने डेंगी भाइरसको संक्रमणबाट नेपालमा ५० हजार भन्दा बढी प्रभावित बनिसकेका छन् । डेंगीका केसहरु कम हुँदै देखिएपनि डेंगी निको भएपछि पनि विभिन्न समस्याहरु लिएर बिरामी अस्पताल आइरहेका छन् । धेरैजसो डेंगीका बिरामी कुनै लक्षणबिना अथवा ज्वरो मात्र आई ठिक भएर जान्छन् भने कतिपयमा डेंगी भाइरसको संक्रमण भएको ३–१४ दिनमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, जोर्नी दुख्ने, ढाड दुख्ने आदि हुन्छन् । यी लक्षणहरु करिब ७ दिन भित्र कम हँुदै जान्छन्।

डेंगी रोग मुलत: तीव्र गतिमा संक्रमण हुने र ठिक हुने रोग भएतापनि कतिपयमा भने डेंगी ठिक भैसकेपछि पनि तौल घट्ने, थकान महसुस हुने, कपाल झर्ने र डिप्रेसन हुने समस्या देखिन थालेका छन्। यस्ता लक्षणहरु विशेषत: महिला र ज्येष्ठ नागरिकहरुलाई बढी देखिने गर्दछ।

साधारणतया शरीरमा हुने विभिन्न प्रकारका भाइरल संक्रमण, तनाब, औषधि सेवन, पोषक तत्त्वको कमी, गर्भावस्थाआदि कारणले कपाल झर्ने समस्या निम्त्याउँछ। कपाल हाम्रो अनुहार, व्यक्तित्व र आवरणका लागि महत्वपूर्ण भएकाले कपाल झरेमा मानिसको स्वरुप परिवर्तन भइ मानसिक तनाब उत्पन्न हुनसक्छ र तनाव लिनाले पुनश्च: फेरी कपाल झर्न सक्छ।

डेंगीपछि कपाल झर्ने समस्या धेरै मानिसमा संक्रमण भएको २ देखि ३ महिना पछि देखिन थाल्छ। सामान्यतया हरेक दिन करिब १०० वटा कपाल झर्नु सामान्य मानिन्छ । तर संक्रमणले कारण झर्दछ भने ३०० वटा भन्दा बढी रौँ झर्न सक्छन्। यस्ता समस्या विशेषगरी महिलामा नै बढी देखिन्छ। यस्ता केशहरु दैनिक ४ देखि ५ जना लिएर आइराखेका छन् र दशैँ यता यस्ता बिरामीहरु १०० जना जति पुगिसकेका छन्।

कपालका रौँहरु ३ चरण बाट बन्छन् ।‘एनाजेन’ भन्नाले रौं बढ्ने चरण, ‘टेलोजेन’ अर्थात् आराम वा स्थिर रहने चरण र ‘क्याटअजेन’ अर्थात् रौँ घट्ने चरण गरी ३ चरण हुन्छन् ।संक्रमण भएपछि एनाजेन चरणका रौं टेलोजेन चरणमा प्रवेश गर्छन् जसमा रौं आराम र स्थिर हुन्छन् । यसरी स्थिर रहेका रौंको मात्रा बढ्नाले रौंहरु एनाजेन अर्थात् बढ्ने चरणमा प्रवेश गर्न कम हुन्छ र कपाल पातलो देखिन्छ। यसरी कपाल झर्ने रोगलाई ‘टेलोजेन एफ्लुभियम’ भनिन्छ। यसरी झरेका कपालहरु संक्रमण निको भएपश्चात स्वत: ३ देखि ६ महिनामा पलाउँदै जान्छन् र सामान्य अवस्थामा फर्किन्छन् ।त्यसैले यसमा आत्तिहाल्नुपर्ने अवस्था छैन ।

संक्रमण निको भइसकेपछि पनि देखिने लक्षणहरुले मानिसको कार्यकुशलता, क्षमता, दैनिकी र जीवनस्तरमा असर पार्न सक्छ जसले सामाजिक र आर्थिक भार निमत्याउन सक्छन्। तसर्थ डेंगीको प्रकोप फैलिएका ठाउँमा डेंगीका दिर्घ लक्षणकाबारे जनचेतना फैलाउन सकेमा अनावश्यक चिन्ता, प्रयोगशालाका परीक्षण, खर्च र समयको बचत हुन्छ ।

डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुरस्किन एन्ड कस्मेटिक सेन्टर (बीएससीसी)मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित : मंसिर १३, २०७९ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्

तिहारमा तातो तेल वा आगोबाट दुर्घटना भए यसरी गरौं प्राथमिक उपचार

डा. प्रज्वल पुडासैनी

काठमाडौँ — नेपालमा तिहार निकै हर्षोल्लासका साथ मनाइने चाडहरूमध्येमा पर्छ । तिहार भनेको फूल, दियो बत्ती, देउसी-भैलो र सेल रोटीको पर्व पनि हो । तिहारमा आगो बाल्ने, पटका पट्काउने, झिलिमिली बत्ती बाल्ने र सेल रोटी पकाउने क्रममा आगोले वा तातो तेलले पोलेर धेरै दुर्घटनाहरू पनि हुने गरेका छन् । यसैले पनि चाड मनाउँदा हामी निकै सजग हुनु आवश्यक छ ।

तिहारमा धेरै जना सेल रोटी पकाउँदा वा पटका पट्काउँदा तथा आगोले पोलेर अस्पतालको आकस्मिक कक्षमा आउने गर्छन् । जस्तोसुकै पोलाइमा पनि प्राथमिक उपचारको निकै ठूलो महत्त्व हुन्छ। प्राथमिक उपचारपछि यदी १० प्रतिशतभन्दा बढी शरीर जलेको वा पोलेको छ भने त्यस्ता बिरामीलाई बर्न सेन्टरमा नै उपचार गर्नु उचित हुन्छ ।

आगो वा तेलले पोलेमा कसरी प्राथमिक उपचार गर्ने?

सबैभन्दा पहिला त जो व्यक्ति दुर्घटनामा परेको छ उसलाई आगो वा तातो तेलबाट टाढा हटाउने । अरुलाई जोगाउने प्रयास गर्दा आफू पो दुर्घटनामा परिन्छ कि ? त्यो याद गर्ने । आगो लागेको अवस्थामा प्रसस्त पानी हालेर वा ब्ल्यांकेटले छोपेर आगो निभाउने । शरीरमा आगो लागेको सल्केको भए भुइँमा ढल्ने र लडिबुडी गर्ने । जलेको लुगालाई शरीरको सम्पर्कबाट हटाउने । हटाउन अप्ठेरो भए काटिदिने । शरीरमा भएको कसिलो लुगा, पेटी, औंठी, सिक्री तथा बच्चाको डाइपर खोलिदिने ।

जलेको घाउ छिट्टै सुनिन्छ त्यसैले लुगा तथा गहनाहरू छिठोभन्दा छिठो खोल्नु उचित हुन्छ । जसले रक्तसंचारमा बाधा ल्याइ थप जटिलता सिर्जना गर्न सक्छन् । जलेको वा पोलेको घाउलाई चिसो पानिले सफा गरिसकेपछि- सफा प्लास्टिक झोला अथवा र्‍यापिङ पेपरले छोप्ने । यसो गरेमा पोलेको घाउलाई हावाको सम्पर्कबाट बचाउन सकिन्छ । यसले गर्दा दुखाइका साथै किटाणुको संक्रमण पनि कम हुन्छ ।

छालाको माथिल्लो भाग मात्र जलेमा (फर्स्ट डिग्री बर्न)

फर्स्ट डिग्री बर्नमा छाला रातो भएर पोलेको महसुस भए पनि फोका वा घाउ भएको हुँदैन ।

  • पोलेको ठाउँमा धाराको चिसो पानीले १५ देखि २० मिनेट पखाल्ने वा चिसो पानीमा जलेको शरिर को अंग डुबाउने । तर, आइस नलगाउने ।
  • पोलेको छालालाई बचाउन सफा कपडा अथवा नटाँसिने खालको ब्यान्डेज लगाउने ।
  • भ्यास्लिन अथवा कुनै घिउकुमारी (एलोभेरा) भएको मोइस्चेराइजेर दिनमा २ देखि ३ पटकसम्म लगाइराख्ने। यस्ता मोइस्चेराइजेरले छालामा तेलको पत्र बनाई छालामा पानी को मात्रा बनाइराख्न र पोल्न कम गर्न मद्दत गर्छ ।
  • दुखाई कम गर्ने औषधि खाने । पारासिटामोल जस्ता सजिलै पाइने दुखाई कम गर्ने औषधिको सेवन गर्ने ।

छालाको माथिल्लो २ भाग जलेमा (सेकेन्ड डिग्री बर्न)

सेकेन्ड डिग्री बर्न हुँदा छाला दुख्ने, सुन्निने, रातो हुने र पानी फोका आउने हुन्छ ।

  • चिसो पानीमा १० देखि १५ मिनेट जलेको अंग डुबाउने। आइस भने नलगाउने । आइसले शरीरको तापक्रम झन् घटाई दुखाइ र क्षति बढी गर्छ ।
  • जलेर बनेका फोकाहरू नफुटाउने । घिउ, घिउकुमारी जस्ता तत्त्वहरु पोलेका घाउमा सिधै लगाउँदा छालामा संक्रमण फैलिन सक्छ । त्यसैले यस्ता वस्तुहरू पोलेर घाउ भएको ठाउँमा नलगाउने ।
  • पोलेको छालालाई बचाउन सफा कपडा अथवा नटाँसिने खालको भ्यासेलिन ड्रेसिङ र ब्यान्डेज लगाउने ।
  • जलेका बिरामीलाई 'सक' अर्थात् (पोलेर रगत कम भइ शरीरका अंगहरुमा अक्सिजनको मात्रा कम हुने अवस्था)बाट बचाउनुपर्छ। त्यसका लागि तल उल्लेख गरिएका उपायहरु अपनाउनुपर्ने हुन्छ :
    - जलेका मानिसलाई भुइँमा हात खुट्टा फिजाएर समतल रुपमा सुत्न लगाउने ।
    - खुट्टाको भागलाई सरिरबाट १२ इन्च (३० सेन्टइमीटर ) जति माथि उठाउने ।
    - जलेको भागलाई लुगा अथवा ब्ल्यांकेटले छोप्ने ।
    - जलेका बिरामीलाई न्यानो तापक्रम भएको सफा कोठामा राख्ने । त्यसो गर्दा सफा नटाँसिने खालको ब्ल्यांकेट र सफा कपडा प्रयोग गर्न सकिन्छ । तर जलेको घाउमा भने कपडा वा ब्ल्यांकेट आदी टाँसिनु हुँदैन ।

छालाको पूरै भाग जलेमा (थर्ड डिग्री बर्न)

थर्ड डिग्री बर्नमा छाला पूरै कालो अथवा डढेको जस्तो हुन्छ ।

  • अरु कसैसँग सहयोग माग्ने ।
  • जलेको भागलाई बचाउन सफा कपडा अथवा नटाँसिने खालको ब्यान्डेज लगाउने ।
  • औंलाहरु जलेको भए त्यसलाई सफा कपडाले छुट्टाउने र एक आपसमा टाँसिन नदिने ।
  • यस्ता गहिरो खालका पोलेका घाउ पानीमा नडुबाउने ।
  • जलेका बिरामीलाई सकबाट बचाउने ।
  • तुरुन्तै नजिकको अस्पताल लगिहाल्ने ।

कस्तो अवस्थामा तुरुन्त अस्पताल लग्ने ?

यदी जलेको भाग हत्केलाको आकारभन्दा बढी भएमा, 'सक'को लक्षण देखिएमा अस्पताल पुर्‍याइहाल्नु पर्छ । सकका लक्षणमा छाला चिसो हुने, पसिना धेरै बग्ने, स्वासप्रस्वासमा समस्या आउने, कमजोरी हुने हुन्छ । यसका साथै पोलेको घाउ छालाबाट भित्रसम्म फैलिएर मांशपेशी र हड्डीसम्म पुगेमा, छाला डढेर कालो भएमा, अनुहार, घाँटी, कान, यौनी, खुट्टा, जोर्नी जलेमा तुरुन्त अस्पताल लग्नु नै उचित हुन्छ ।

डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुरस्किन एन्ड कस्मेटिक सेन्टर (बीएससीसी)मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित : कार्तिक ६, २०७९ १५:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×