डेंगीपछि कपाल झर्ने समस्या : ‘टेलोजेन एफ्लुभियम’ के हो? - स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगीपछि कपाल झर्ने समस्या : ‘टेलोजेन एफ्लुभियम’ के हो? 

संक्रमण निकाे भएपछि कपाल झर्ने रोगलाई ‘टेलोजेन एफ्लुभियम’ भनिन्छ। यसरी झरेका कपालहरु संक्रमण निको भएपश्चात स्वत: ३ देखि ६ महिनामा पलाउँदै जान्छन् र सामान्य अवस्थामा फर्किन्छन् ।त्यसैले यसमा आत्तिहाल्नुपर्ने अवस्था छैन ।
डा. प्रज्वल पुडासैनी

काठमाडौँ — इलामकी ५२ वर्षीया महिला निजामति कर्मचारी अस्पतालमा कपाल झर्ने समस्या लिएर आइन् । दुई महिना अघि डेंगी संक्रमण भएको उनलाई कपाल झर्न थालेको २ हप्ता भएको रहेछ । त्यसबाहेक उनलाई तौल कम हुने र थकाइ लाग्ने समस्या पनि देखिएको थियो । उनी कपाल झरेर तालुपना होला भनेर चिन्ताले निद्रा नलाग्ने समस्याबाटसमेत पीडित थिइन् ।उनी अहिले चिकित्सकीय परामर्शपछि औषधि सेवन गरिरहेकी छिन् र उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।

लामखुट्टेको टोकाइबाट हुने डेंगी भाइरसको संक्रमणबाट नेपालमा ५० हजार भन्दा बढी प्रभावित बनिसकेका छन् । डेंगीका केसहरु कम हुँदै देखिएपनि डेंगी निको भएपछि पनि विभिन्न समस्याहरु लिएर बिरामी अस्पताल आइरहेका छन् । धेरैजसो डेंगीका बिरामी कुनै लक्षणबिना अथवा ज्वरो मात्र आई ठिक भएर जान्छन् भने कतिपयमा डेंगी भाइरसको संक्रमण भएको ३–१४ दिनमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, जोर्नी दुख्ने, ढाड दुख्ने आदि हुन्छन् । यी लक्षणहरु करिब ७ दिन भित्र कम हँुदै जान्छन्।

डेंगी रोग मुलत: तीव्र गतिमा संक्रमण हुने र ठिक हुने रोग भएतापनि कतिपयमा भने डेंगी ठिक भैसकेपछि पनि तौल घट्ने, थकान महसुस हुने, कपाल झर्ने र डिप्रेसन हुने समस्या देखिन थालेका छन्। यस्ता लक्षणहरु विशेषत: महिला र ज्येष्ठ नागरिकहरुलाई बढी देखिने गर्दछ।

साधारणतया शरीरमा हुने विभिन्न प्रकारका भाइरल संक्रमण, तनाब, औषधि सेवन, पोषक तत्त्वको कमी, गर्भावस्थाआदि कारणले कपाल झर्ने समस्या निम्त्याउँछ। कपाल हाम्रो अनुहार, व्यक्तित्व र आवरणका लागि महत्वपूर्ण भएकाले कपाल झरेमा मानिसको स्वरुप परिवर्तन भइ मानसिक तनाब उत्पन्न हुनसक्छ र तनाव लिनाले पुनश्च: फेरी कपाल झर्न सक्छ।

डेंगीपछि कपाल झर्ने समस्या धेरै मानिसमा संक्रमण भएको २ देखि ३ महिना पछि देखिन थाल्छ। सामान्यतया हरेक दिन करिब १०० वटा कपाल झर्नु सामान्य मानिन्छ । तर संक्रमणले कारण झर्दछ भने ३०० वटा भन्दा बढी रौँ झर्न सक्छन्। यस्ता समस्या विशेषगरी महिलामा नै बढी देखिन्छ। यस्ता केशहरु दैनिक ४ देखि ५ जना लिएर आइराखेका छन् र दशैँ यता यस्ता बिरामीहरु १०० जना जति पुगिसकेका छन्।

कपालका रौँहरु ३ चरण बाट बन्छन् ।‘एनाजेन’ भन्नाले रौं बढ्ने चरण, ‘टेलोजेन’ अर्थात् आराम वा स्थिर रहने चरण र ‘क्याटअजेन’ अर्थात् रौँ घट्ने चरण गरी ३ चरण हुन्छन् ।संक्रमण भएपछि एनाजेन चरणका रौं टेलोजेन चरणमा प्रवेश गर्छन् जसमा रौं आराम र स्थिर हुन्छन् । यसरी स्थिर रहेका रौंको मात्रा बढ्नाले रौंहरु एनाजेन अर्थात् बढ्ने चरणमा प्रवेश गर्न कम हुन्छ र कपाल पातलो देखिन्छ। यसरी कपाल झर्ने रोगलाई ‘टेलोजेन एफ्लुभियम’ भनिन्छ। यसरी झरेका कपालहरु संक्रमण निको भएपश्चात स्वत: ३ देखि ६ महिनामा पलाउँदै जान्छन् र सामान्य अवस्थामा फर्किन्छन् ।त्यसैले यसमा आत्तिहाल्नुपर्ने अवस्था छैन ।

संक्रमण निको भइसकेपछि पनि देखिने लक्षणहरुले मानिसको कार्यकुशलता, क्षमता, दैनिकी र जीवनस्तरमा असर पार्न सक्छ जसले सामाजिक र आर्थिक भार निमत्याउन सक्छन्। तसर्थ डेंगीको प्रकोप फैलिएका ठाउँमा डेंगीका दिर्घ लक्षणकाबारे जनचेतना फैलाउन सकेमा अनावश्यक चिन्ता, प्रयोगशालाका परीक्षण, खर्च र समयको बचत हुन्छ ।

डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुरस्किन एन्ड कस्मेटिक सेन्टर (बीएससीसी)मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित : मंसिर १३, २०७९ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्

पिस कोरका सह-निर्देशक बिइल नेपालमा

कान्तिपुर संवाददाता

काठमाडौँ — पिस कोरको विश्वव्यापी कार्य सञ्चालनसम्बन्धी कार्यालयका सह–निर्देशक स्कट बिइल नेपाल आएका छन् । अमेरिकी दूतावासका अनुसार यस क्षेत्रको भ्रमणको सिलसिलामा उनी मंगलबार काठमाडौं आइपुगेका हुन् ।

काठमाडौं बसाइका क्रममा सह–निर्देशक बिइलले सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटी पिस कोरका स्वयंसेवकहरूलाई नेपाल फर्काउने योजनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

‘कोभिड–१९ महामारीका कारण सन् २०२० को मार्च महिनामा स्वयंसेवकहरूको विश्वव्यापी निष्क्रमण भएकोमा उनीहरूलाई सन् २०२३ को सुरुताका फिर्ता ल्याउने पिस कोरको योजना रहेको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पिस कोरले नेपालमा पहिलो पटक सन् १९६२ को सेप्टेम्बर महिनामा आफ्नो कार्यसञ्चालन आरम्भ गरेको थियो । त्यसयता झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा बहुमुखी क्षेत्रमा र देशभरि काम गर्दै सेवा पुर्‍याएको दूतावासको आंकडा छ । विश्वव्यापी निष्क्रमणको समयमा नेपालमा पिस कोरका १२४ जना स्वयंसेवक तथा प्रशिक्षार्थीले कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरिरहेका थिए ।

दूतावासका अनुसार पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो ।

‘विश्वभरका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता निर्धारण गरिएका परियोजनाहरूमा समुदायका सदस्यहरूसाग काम गर्छन्,’ विज्ञप्तिमा भनिएको छ,‘पिस कोर सञ्जालका सदस्यहरूले आफूले गरेको सेवामार्फत स्थानान्तरणीय सिपहरू विकास र अन्तर–सांस्कृतिक क्षमताहरू अभिवृद्धि गर्छन् जसले उनीहरूलाई विश्वका नेतृत्वकर्ताको आगामी पुस्ता बन्ने स्थानमा पुर्‍याउँछ ।’

सन् १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वभर १४२ मुलुकमा सेवा गरिसकेका छन् ।

प्रकाशित : मंसिर १३, २०७९ १७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×