चिकित्सक भन्छन्–‘जथाभावी हातखुट्टा मर्काउँदा आजीवन प्यारालाइसिस हुनसक्छ’- स्वास्थ्य - कान्तिपुर समाचार

चिकित्सक भन्छन्–‘जथाभावी हातखुट्टा मर्काउँदा आजीवन प्यारालाइसिस हुनसक्छ’

बुनु थारु

काठमाडौँ — कैलालीका ६३ वर्षीय देवानन्द बजगाईँलाई केही समयदेखि कम्मर दुख्ने समस्या थियो ।बूढो शरीर, कहिले दुख्ने कहिले आफैं दुखाइ कम हुने गर्थ्यो । गत शुक्रबार दुखाइका कारण घरमा एक्लै आराम गरिरहेका बेला छिमेकी भाइले ढाड मर्काएर दुखाइ ठीक पारिदिने बताए।

ती त्यक्तिले जोशीलाई घोप्टो पारेर ढाडमा घुँडाले टेकेर हातखुट्टा मर्काए । दुखाइ कम हुनुको सट्टा उनको घाँटीनिर असह्य पीडा भयो । उनको त्यस्तो अवस्था देखेपछि ती व्यक्ति भागे । तर दिउँसो घरका सदस्यले अस्पताल लगे । जाँचपड्ताल गर्दा उनको घाँटीको हड्डी फ्याक्चर भइसकेको रहेछ ।

अन्तत: नेपालगञ्जमा उपचार नहुने भएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टर रेफर गरियो । जोशीका दाइ पदमराज बजगाईँ घटनाको बेलीविस्तार लगाउँदै भन्छन्–‘खोइ भाइले त्यो मान्छेमा कसरी भर पर्‍यो यस्तो अवस्था आइलाग्यो ।भलै हिँड्न नसकोस् तर आफ्नै हातले खान सकोस् भन्ने आश गरेको छु।’

मंगलबार ट्रमा सेन्टर ल्याइएका देवानन्दको बुधबार बिहान शल्यक्रिया गरिएको छ । हाल उनी आईसीयूमा उपचाररत छन् । होस खुले पनि हातखुट्टा चलाउन तथा आफैं दिसापिसाब गर्न सक्ने अवस्थामा छैनन् ।

घोप्टो पारेर खुट्टा तथा ढाड मर्काउने अभ्यासले आजीवन प्यारालाइसिस नै हुनसक्ने जोखिम रहेको बताउँछन् ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट तथा अर्थोपेडिक एन्ड स्पाइन सर्जन डा. रुद्र मरासिनी । बिरामीको शल्यक्रिया गरेका उनी भन्छन्–‘त्यसरी घाँटी र खुट्टा बटार्दा घाँटीको हड्डी भाँचिएर मेरुदण्डको नसा च्यापियो। उनको गर्दनको हड्डी भाँचिएको र मेरुदण्डको मुख्य नशा च्यापिएकाले शल्यक्रिया गरिएको छ तर हात खुट्टामा कत्तिको तागत आउँछ यत्तिकै भन्न सकिँदैन ।’

बिरामी होसमा आए पनि पहिलेको जस्तो सामान्य अवस्थामा आउन सक्ने छैनन् र आजीवन प्यारालाइसिस समेत हुन सक्ने डा. मरासिनीको भनाइ छ ।

डा. मरासिनीले कपाल काट्ने नाईको उदाहरण दिँदै भन्छन्–‘केही समयअघि करिब ४५ वर्षीय पुरुष नाईले कपाल काटिसकेपछि टाउको तथा गर्दन मर्काउँदा हड्डी भाँचिएको केश आएको थियो र शल्यक्रिया गर्नुपऱ्यो ।यस्तो केशहरु कुनै सामान्य तर कुनै एकदम गम्भीर हुनसक्छन्। सानो लापार्बाहीले पनि भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।त्यसैले यस्तो लापारबाही नगर्नुहोला।’

चिकित्सकहरुका अनुसार धेरैजसो ढाड तथा कम्मरको दुखाइ ‘बडी पोस्चर’ ले हुन्छ । सिधा नबस्ने, झुकेर बस्ने,कम्प्युटरमा धेरै काम गर्ने व्यक्ति, शारीरिक व्यायाम कम भएकालगायत धेरै कोठामा बसिराख्नेलाई भिटामिन डीको कमीले पनि ढाडको दुखाइ हुन सक्छ ।

डा. मरासिनीले ढाड तथा कम्मर दुखाइका केही समस्या भए जाँचपड्ताल गरेर विशेषज्ञ तथा दक्ष फिजियोथेरापिस्टबाट मात्र मसाज वा मालिस गराउनुपर्ने सुझाव दिन्छन्। भन्छन्–‘ एकपटक ढाडमा समस्या आएपछि त्यो निको हुन समय लाग्छ । ढाड मर्काएर निको पार्ने अभ्यास गलत हो । मेरुदण्डको हड्डी भाँचिएर मान्छे प्यारालाइसिससम्म हुनसक्छ । मानिसको जीवनसँग खेलवाड गर्नु हुँदैन ।कम्मरको नसा च्यापिने समस्या अलि गम्भीर हो । यसको दुखाइ हात तथा खुट्टामा पनि सर्छ । चिकित्सकको परामर्श लिइहाल्नुपर्छ । अन्य अवस्थामा भने आफ्नो बसाइमा सुधार गर्ने, फिजियो थेरापी गर्ने र व्यायाम गर्नाले दुखाइ कम हुन्छ ।’

प्रकाशित : मंसिर २, २०७९ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्

एमालेका सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

प्यूठानमा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापालाई यसअघि पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।
कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले प्यूठान जिल्लाबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई स्पष्टीकरण सोधेको छ । थापालाई आयोगले स्पष्टीकरण सोधेको यो दोस्रोपटक हो ।

मीनबहादुर बुढा (भेलुबाजे) लाई रु दुई हजार रुपैयाँ दिएर आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने बेहोराको समाचार प्रकाशन भएपछि आयोगले थापालाई स्पष्टीकरण सोधेको जनाएको छ । केही दिनअघि मात्रै युट्युब लगायत सामाजिक सञ्जालमा मीनबहादुर बुढा (भेलुबाजे) ले थापाले पैसा दिएर प्रचार गर्न लगाएको प्रतिक्रिया दिएको भिडियो सार्वजनिक भएको थियो ।

उक्त घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (झ) मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत 'विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने' व्यवस्था छ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, 'निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होईन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ ।'

थापाले चुनावी प्रचारको क्रममा बालबालिकाको प्रयोग गरेको भन्दै यसअघि पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित : मंसिर २, २०७९ २०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×